गर्भपूर्वको परामर्श
गर्भ रहनु अघि दम्पतीले विस्तृत स्वास्थ्य परीक्षण गर्नुका साथै सल्लाह/परामर्श लिन आवश्यक हुन्छ।
मंसीरमा निकै जोडी विवाह बन्धनमा बाँधिए भने माघ लागेसँगै विवाहको सिजन फेरि शुरू भएको छ। यस्तैमा कोही दम्पती केही समयको अन्तरालमा बच्चा पाउन चाहन्छन् भने कोहीले छिट्टै बच्चा पाउने इच्छा गरेका हुन्छन्।
कतिपय विकसित देशमा गर्भावस्थामा मात्रै होइन, किशोरावस्थादेखि नै नियमित स्वास्थ्य जाँचको प्रबन्ध गरिएको हुन्छ। जसले कतिपय स्वास्थ्य समस्याको निदान पहिले नै भएको हुन्छ। समयमै स्वास्थ्य समस्याको नियन्त्रण तथा उपचार नगर्दा गर्भावस्थामा नकारात्मक असर पर्न सक्छ।
अहिले विशेषतः शहरी क्षेत्रमा शिक्षित दम्पतीहरू आफ्नो इच्छा मुताबिक गर्भ रहनुअगावै सल्लाह/परामर्शको लागि आउने गरेका छन्। यो संख्या बढ्दो छ। विकसित मुलुकहरूमा मात्र गर्भवती हुनुपूर्व सल्लाह/परामर्श लिने चलन रहेकोमा नेपाली दम्पतीहरूबीच पनि यो प्रचलन शुरू हुनु सकारात्मक पक्ष हो।
शहरी क्षेत्रका शिक्षित दम्पतीबीच भए पनि विवाहको केही समयपछि मात्र बच्चा पाउने, जन्मान्तर राख्ने र कम बच्चा जन्माउने जस्ता कुरा राम्रो पक्ष मान्नुपर्दछ।
तर उमेर ढल्केपछि मात्र विवाह गर्ने प्रचलन तथा तनावपूर्ण शहरी जीवन, जंकी तथा फास्टफूड सेवन, शारीरिक व्यायामको अभावमा मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्टेरोल, मोटोपना जस्ता समस्या बढ्ता हुने, मद्यपान एवं लागूपदार्थ सेवन गर्ने बानी हुन्छ।
ग्रामीण भेगमा रक्त अल्पता, अनेक खालका संक्रामक रोगको समस्या एवं अत्यधिक धुम्रपान गर्ने चलन व्याप्त छ।
शहरी तथा ग्रामीण क्षेत्रका यी कारणले भविष्यको गर्भलाई प्रतिकूल असर पार्दछ। जसले गर्दा उच्च रक्तचाप, मधुमेह, मुटुको समस्या, मिर्गौलाको खराबी, मूत्रनली संक्रमण, थाइरोइड ग्रन्थीको काममा घटीबढी, छारेरोग, दम, रक्तअल्पता जस्ता नसर्ने रोग तथा हेपाटाइटिस, यौन रोग, एचआईभी एड्स, संक्रामक तथा परजीवीजन्य रोग, औलो, रुघाखोकी, निमोनिया, क्षयरोगलगायतका श्वास–प्रश्वासका समस्याहरू गर्भावस्थामा पनि हुनसक्छन्।
यी समस्या किशोरी वा युवती छँदै, बिहे गरेलगत्तै स्वास्थ्य जाँचको क्रममा पत्ता लगाउन सकिन्छ। गर्भधारण अगावै स्वास्थ्य जाँच गराएर सम्बन्धित चिकित्सकबाट यथोचित परामर्श तथा खराबी पत्ता लगाउन सके आवश्यक औषधोपचार गर्न सकिन्छ।
कहिलेकाहीं विवाहपश्चात् महीनावारी रोकिएर पहिलोपटक गर्भ जाँच गर्न आउने बेलासम्ममा सल्लाह/सुझाव लिन ढिलो भइसकेको हुन्छ।
त्यसैले कुनै पनि दम्पतीलाई गर्भ रहनुपूर्व नै गर्भ अवधि, गर्भावस्थामा खराब स्वास्थ्य तथा आचरणका कारण हुने समस्या बारे जानकारी लिनु बुद्धिमानी हुन्छ। किशोरी वा महिलामा कुनै जोखिमपूर्ण समस्या भए त्यसलाई कम गर्न, नियन्त्रणमा राख्न वा हटाउन सकिन्छ।
गर्भावस्थाको तीन महीनाको अन्त्यसम्ममा पाठेघरभित्रको भ्रूणको अङ्गप्रत्यङ्ग बन्ने कार्य पूरा हुन्छ। यस अवधिभित्र नै महिलाको वंशाणुगत तथा अन्य प्रकारका संक्रामक रोगहरूले पाठेघरमा बढ्दै गरेको भ्रूणलाई नराम्रो असर पार्दछ।
नवदम्पतीले व्यक्तिगत, पारिवारिक एवं वंशाणुगत समस्याका विषयमा सल्लाह लिनुपर्छ। मुख्यतया महिलाले रक्तचापको जाँच गराउनु आवश्यक हुन्छ। संक्रामक रोगको रोकथामको लागि रुबेला, हेपाटाइटिसको खोप लगाउनुपर्छ।
गर्भ रहनु एक महीना अघिदेखि फोलिक एसिड थप मात्रामा खानुपर्दछ। त्यस्तै महिलाको तौल निकै कम/बढी, रक्तअल्पता छ/छैन, ख्याल राख्नुपर्छ। केही समस्या भए उपचार गराउनुपर्छ। पाठेघरको मुखबाट श्राव (पानी) झिक्न लगाई खराबी भएमा उपचार गर्नुपर्छ।
यदि गर्भपूर्व नै मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्टेरोल, मोटोपना, छारेरोग, बाथरोग, दम, क्षयरोगजस्ता जीर्ण समस्याहरू भए त्यसले गर्भमा हुने हानि तथा गर्भावस्थाको कारण स्वास्थ्यमा पर्ने थप कठिनाइहरू बारे छलफल गरी आवश्यक व्यवस्थापन गर्नुपर्छ।
गर्भपूर्व नै कतिपय औषधि बन्द गर्नुपर्ने, फेर्नुपर्ने तथा औषधिको मात्रा बढाउनु वा घटाउनुपर्ने हुन सक्छ।
गर्भपूर्व सल्लाह परामर्श लिन आएका किशोरी एवं महिलालाई धुम्रपान, मद्यपान तथा लागूपदार्थको सेवन तत्काल बन्द गराउनुपर्छ। कतिपय वंशाणुगत रोगहरूको विशेष जाँच गरी जोखिम भए गर्भवती नहुन पनि तयार हुनुपर्छ।
यस्तै गम्भीर खालको मिर्गौला एवं मुटुको समस्या, दम तथा श्वास–प्रश्वासको रोग, एड्स लागेको भए गर्भवती नहुनु नै उपयुक्त हुन्छ। पटक–पटक गर्भ तुहिएका, विकलांग बच्चा जन्मिएका तथा बिहे भएको लामो समयसम्म पनि बच्चा पाउन नसकेका दम्पतीले विस्तृत स्वास्थ्य परीक्षण गरी आवश्यक उपचार गर्नुपर्छ।
महिलाको तुलनामा पुरुषमा माथि उल्लिखित स्वास्थ्य समस्या हुँदा गर्भको शिशुलाई प्रत्यक्ष असर नपुगे पनि महिलाको स्वास्थ्यमा पुरुष पार्टनरको निकै भूमिका रहने भएकोले दम्पतीले नै गर्भपूर्व सल्लाह/परामर्श लिनु उचित हुन्छ।
नेपाली परिवेशमा घरायसी वातावरण सहज बनाइराख्न जिम्मेवारी हुने भएकोले पनि महिलासँगै पुरुषले सल्लाह/परामर्श लिन आवश्यक हुन्छ।