काठमाडौंको सडकमा 'टुटल' मार्फत मोटरसाइकल यात्रा
राजधानीमा सार्वजनिक सवारीसाधनको यात्रा ‘सकस’ भइरहेका बेला भाडा तिरेर मोटरसाइकलमा यात्रा गर्न पाइने भएको छ । यसका लागि आफ्नो मोबाइलमा ‘टुटल एप’ राख्नुपर्छ ।
कहिलेकाहीँ मोटरसाइकलमा ‘लिफ्ट’ मागेर चढेको धेरैलाई अनुभव होला । तर भाडा तिरेर मोटरसाइकल चढ्नेहरु कमै होलान् ।
राजधानी उपत्यकामा सार्वजनिक यातायात व्यवस्थित हुन नसकिरहेका बेला 'टुटल एप' मार्फत चालकसहितको मोटरसाकइल बोलाउन सकिन्छ ।
इन्टरनेटको सुविधा भएमा मोबाईल ‘एप’ मार्फत राजधानीका यात्रुले मोटरसाइकलवालालाई सम्पर्क गरेर तत्काल यो सुविधा लिन सक्छन् ।
यस्तो सेवा दिन चाहने मोटरसाईकल चालक र सेवा लिन चाहनेले समेत आफ्नो मोबाइलमा ‘टुटल एप’ डाउनलोड गर्नुपर्छ ।
चालक र सेवा लिन चाहने यात्रुले आफ्नो नाम, मोटरसाईकलको विवरण र लाईसेन्स लगायतका आवश्यक विवरण दर्ता गर्नुपर्छ भने सुविधा लिन चाहने यात्रुले पनि एप मार्फत फाराम भर्नुपर्छ ।
एकपटक दर्ता भइसकेपछि उपत्यकाको जुनसुकै ठाउँबाट पनि यात्रुले सेवा लिन र चालकले सेवा दिन सक्छन् । जावलाखेल ललितपुरको टुटल कम्पनीले यो सेवा बिहान ८ देखि साँझ ८ बजेसम्म उपलब्ध गराएको छ ।
एप मार्फत आफू नजिकै रहेको मोटरसाइकल चालकलाई सम्पर्क गरेर बोलाउन सकिन्छ । तर, सेवाग्राहीको प्रस्ताव मोेटरसाइकल चालकले अस्वीकार गरेमा नजिकै रहेका अर्कालाई त्यो रिक्वेष्ट जान्छ । एपमा आफू रहेको ठाउँ र गन्तब्य र सेवा चाहिने समय उल्लेख गरेर बुक गरेपछि पुग्ने स्थानसम्मको दूरी र लाग्ने रकम उल्लेख हुन्छ ।
यो सुविधा लिएबापत यात्रुले कम्तीमा तीन किलोमिटरसम्मको रु. ५० (मुल्य अभिवृद्धि कर सहितको रकम) तिर्नुपर्छ । त्यसपछि थप प्रति किलोमिटरमा रु. १२ का दरले तिर्नुपर्छ ।
‘एप’ सञ्चालन गरेको टुटल टूडे ले यात्रुले तिरेको भाडाको २० प्रतिशत रकम आफूले राखेर, बाँकी मोटरसाइकल चालकलाई दिने व्यवस्था मिलाएको छ । यो सेवा लिन चाहने सेवाग्राहीले भाडा इ–सेवा मार्फत तिर्नुपर्छ ।
मोटरसाइकल चालक आफू ओहोर–दोहोर गर्ने सडकमा पायक गर्ने गरी यात्रुलाई गन्तव्यमा पुर्याउन सक्छन् । सेवा दिएवापत चालकले आम्दानी र यात्रुले सहयोग पाउने भएकाले पनि यो सेवा लोकप्रिय बन्दै गएको छ ।
एक महिना अघिदेखि परीक्षण सेवा शुरु गरेको कम्पनीको टुटल एपमा अहिलेसम्म पाँच सय भन्दा बढी मोटरसाइकल दर्ता भइसकेका छन् । पछिल्लो तथ्याङ्क अनुसार यो सेवा लिनेहरु दैनिक ४० देखि ५० जना छन् ।
सडकमा खाली सिट ओहोर–दोहोर गर्ने बाईकको सदुपयोग गरेर यात्रुलाई गन्तव्यमा पुर्याउने काम सामाजिक उत्तरदायित्व हुने ठानेर यस्तो प्रविधिको विकास गरेको डोटीको सिलगढीका शिक्षित भट्ट बताउँछन् ।
भट्टको अवधारणालाई उनका अन्य १० जना सहयोगीले साथ दिएपछि बनेको हो– ‘टुटल एप’ । विदेशमा चलन चल्तीमा रहेको यस्तो अभ्यास नेपालका लागि भने नयाँ हो ।
सानैदेखि पाईलट बन्ने चाहना भए पनि भट्टले इलेक्ट्रोनिक एण्ड टेलिकम इन्जिनियरिङमा स्नातक गरे । केही वर्ष निजी टेलिकम कम्पनीमा काम गरेका उनी पोखरा विश्वविद्यालयबाट सन् २००९ ब्याचका एमबीए गोल्डमेडलिष्ट समेत हुन् ।
नेपाल इन्भेस्टमेन्ट ब्यांकमा डेपुटी म्यानेजरको जागिर छोडेर नयाँ काम गर्ने सोच बनाएका भट्टले साथीहरुसँग मिलेर नयाँ एप निर्माणमा काम गरिरहेका छन् ।
एक वर्ष अघि उनले आफ्ना १० जना साथीहरुसँग मिलेर सडकमा गुडिरहेको साझा बसलाई ‘ट्रयाक’ गर्ने ‘हाम्रो साझा’ ‘एप’ बनाए । त्यो एप धेरै नचलेपछि उनले त्यसैलाई परिमार्जन गरेर साथीहरुको सहयोगमा ‘टुटल एप’ बनाएका हुन् ।
टेलीकम र ब्यांकमा काम गरेको आफ्नो अनुभवलाई मिलाएर यातायातसँग सम्बन्धी नयाँ प्रविधिको विकास गरेको उनी बताउँछन् ।
सवारी चालक र यात्रुको जस्तो व्यवसायको व्यवहार नभई आवश्यकताका बेला एकअर्का लाई सहयोग पु¥याउने उद्देश्यले यो ‘एप’ बनाएको उनको भनाई छ । उनी भन्छन, “यसबाट मनग्य पैसा कमाउँला भन्ने सोच छैन ।”
‘टुटल एप’ अहिलेसम्म तीन हजार पटक डाउन लोड भइसकेको छ ।