उँचाइमा बायोग्याँस प्लान्ट
सगरमाथा आधारशिविर क्षेत्रको मानव मलमूत्रबाट बायोग्याँस प्लान्ट बन्ने भएको छ।
'माइनस' तापक्रममा मानव मलमूत्र नसड्ने भएकाले उच्च हिमाली क्षेत्रमा फोहोर व्यवस्थापन चिन्ताको विषय रहिआएको थियो। सर्वोच्च शिखर सगरमाथाको आधारशिविरमा थुप्रिएको मानव फोहोर पनि व्यवस्थापन हुनसकिरहेको छैन। अब भने नयाँ उपाय निस्किएको छ– बायोग्याँस प्लान्ट।
सगरमाथा आरोहणमा जाने स्वदेशी–विदेशी र पोर्टरहरूको मलमूत्र पाँच हजार ३०० मीटर उँचाइको आधारशिविरबाट पाँच हजार १६४ मीटरमा रहेको गोरकशेपमा ल्याएर गाड्ने गरिएको छ। तर, त्यहाँ पनि फोहोरको मात्रा बढेपछि डम्पिङ साइट लोबुचे छेउमा सारिएको छ।
सगरमाथा प्रदूषण नियन्त्रण समितिको पहलमा नौ वर्षयता मात्र यो काम भइरहेको छ। समितिका अध्यक्ष आङदोर्जी शेर्पा उच्च हिमाली क्षेत्रमा मानव मलमूत्र नसड्ने हुनाले ठूलो समस्या भएको बताउँछन्।
उनका अनुसार, यो समस्या समाधानका लागि समितिले सियाटल विश्वविद्यालय (अमेरिका) र काठमाडौं विश्वविद्यालय (केयू) को सहकार्यमा अनुसन्धान गरेको थियो– सगरमाथा बायोग्याँस परियोजना नामबाट। अध्ययनले सगरमाथा क्षेत्रको मानव मलमूत्रलाई ग्याँसमा परिवर्तन गर्न सकिने देखाएको छ। त्यही परियोजनाको विस्तारित रूप हो, बायोग्याँस प्लान्ट।
सगरमाथा आधारशिविरबाट संकलन गरिएको मानव मलमूत्रको नमूना १० महीनासम्म केयूको वातावरण विज्ञान प्रयोगशालामा राखेर अध्ययन गरिएको थियो।
सन् २०१६ मा सकिएको अध्ययनमा मानव मलमूत्रबाट न्यूनतम २० डिग्री सेल्सियस तापक्रममा बायोग्याँस उत्पादन गर्न सकिने निष्कर्ष निस्किएको हो। प्रयोगशालामा १०, २०, ३० र ३७ डिग्री सेल्सियस तापक्रममा राखेर परीक्षण गरिएको थियो।
न्यूनतम २० डिग्री सेल्सियस तापक्रममा एक मिलिलीटर मानव मलमूत्रबाट एक दिनमा १५ मिलिलीटर ग्याँस निस्कने अध्ययनले देखाएको छ, जसमा मिथेनको मात्रा १० मिलिलीटर छ। अध्ययनमा केयूका एसोसिएट प्रोफेसर वेदमणि दाहालसहित वातावरण विज्ञान विभागका विद्यार्थीहरू मानश्री नेवा, नवीन चौधरी, ऋचा ज्ञवाली र सुमेश श्रेष्ठ संलग्न थिए।
निश्चित तापक्रममा मलमूत्रलाई बायोग्याँस प्लान्टमार्फत सडाउने क्रममा जीवाणुहरूले ग्याँस निकाल्छन्। त्यही ग्याँसलाई ऊर्जाको रूपमा प्रयोग गरिन्छ। केयूमा भएको अनुसन्धान सफल भएपछि गोरकशेप क्षेत्रमा बायोग्याँस प्लान्ट बनाउने तयारी थालिएको छ।
तीन हजार ७९० मीटर उँचाइमा रहेको सोलुखुम्बुकै खुम्जुङमा बायो सेक्टर पार्टनरसिप, नेपाल (बीएसपीएन) ले यसअघि नै बायोग्याँस प्लान्ट बनाएको छ। तापक्रम शून्यभन्दा तल पुग्ने हिमाली क्षेत्रमा बायोग्याँस प्लान्टको डाइजेष्टर तताउन ग्रीनहाउस पनि बनाउनुपर्छ।
फोहोरको मात्रा
सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल आरोहण गर्न आधारशिविर पुग्ने आरोही र उनीहरूका सहयोगीले कम्तीमा आठ किलोग्राम फोहोर फिर्ता ल्याउनुपर्ने नियम छ। उनीहरूले काँच, धातु र प्लाष्टिकजन्य फोहोर फर्काउने गरेका छन्। आधारशिविरको मानव मलमूत्र भने प्रदूषण नियन्त्रण समितिको व्यवस्थापनमा भरियालाई बोकाएर गोरकशेप झार्ने गरिएको छ। गोरकशेपको तापक्रममा पनि मानव मलमूत्र नसड्ने हुँदा प्रदूषण यथावत् रहन्छ।
मलमूत्र पानीका मुहानमा पुगेर इकोलाईलगायतका जीवाणु फैलने खतरा पनि उत्तिकै छ। पर्वतारोहणको तीन महीना (मार्च, अप्रिल र मे) मा दुईदेखि तीन हजार पर्वतारोही तथा भरियाहरू सगरमाथा आधारशिविर आवत–जावत गर्छन्।
उनीहरूले आधारशिविरमा त्यागेको मलमूत्र संकलन गरेर गोरकशेप झार्ने गरिएको छ। ती मलमूत्र गाड्न धेरै खाल्डा बनाइएको र वर्षायाममा तिनमा चौंरीहरू पर्ने गरेको गोरपशेपका मिङ्गमार शेर्पा बताउँछन्।
नुवाकोटको एकहजार ७०० मीटर उँचाइसम्मको गाउँमा गाईबस्तुको गोबरबाट बायोग्याँस प्लान्ट निर्माण गरिसकेको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका इन्जिनियर प्रकाश अर्यालका अनुसार, प्यूठानको स्वर्गद्वारी आश्रममा पनि गोबरबाट बायोग्याँस निकाल्ने तयारी हुँदैछ।
सोलारबाट डाइजेष्टर तताउने बायोग्याँस प्लान्ट बनाउन लागिएको यो पहिलो पटक हो। इन्जिनियर अर्याल २१ सय मीटर उँचाइको स्वर्गद्वारीमा १०० घनमीटरको प्लान्ट राख्न लागिएको बताउँछन्।
उनका अनुसार, हिमाली क्षेत्रमा प्राकृतिक तापक्रमबाट बायोग्याँस प्लान्ट संचालन गर्न सकिने भएकाले डाइजेष्टर तताउन विद्युत्, सोलार वा ग्रीनहाउस चाहिन्छ।
उनी भन्छन्, “सगरमाथालगायतका हिमाली क्षेत्रमा मानव मलमूत्र वा गाईबस्तुको गोबरबाट बायोग्याँस निकाल्न चाहनेलाई वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले सहयोग गर्छ।”