साहित्यिक कुम्भमेला सम्पन्नः अर्को भेट पोखरामै
‘गाउँ गाउँबाट उठ....’ गीतका सर्जक रामेशको जीवनका उतारचढावका विषयमा गफिँदै थिए, हिमाल एसोसिएसनका कार्यकारी अधिकृत वसन्त थापा । पोखरामा नेपाल साहित्य महोत्सबको अन्तिम दिनको उत्साहजनक वार्तालापको अन्त्यमा दर्शक दीर्घाबाट गीत गाउन अनुरोध भयो । रामेशले ‘गाउँ गाउँबाट उठ...’ गाउन थालेपछि पोखराको पार्दीस्थित फेवाताल किनार नै गुञ्जयमान भयो ।
महोत्सबमा अर्काे आकर्षक सत्र चाँदीको घेरा शीर्षकमा थियो, जसमा वक्ता थिए, स्वास्थ्यमन्त्री गगन थापा र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ । कार्यक्रमको मध्यस्थता गरिरहेका पत्रकार अमित ढकालको प्रश्नमा निर्देशक घिसिङले लोडसेडिङ अन्त्यको जस आम नेपालीलाई दिए । घिसिङले डेढ बर्षमा देशैभर लोडसेडिङ हटाउने मात्र बताएनन्, प्राधिकरणलाई नाफामा लैजाने योजना समेत सुनाए । उनले विद्युत चुहावट विरुद्धको अभियानमा साथ दिन समेत आह्वान गरे ।
स्वास्थ्य मन्त्री गगन थापाले आफु आगामी बैशाखसम्मको योजना बनाएर काम गरेको बताए । मन्त्रालयले दुई बर्षदेखि कत्तिपनि औषधी खरिद नगरेको भन्दै यसबारे बुभ्mदा औषधी किन्यो कि अख्तियारमा हाजिर हुनुपर्ने अवस्थाले कर्मचारीतन्त्र डराएको अवस्था पाएको बताए । थापाले स्वास्थ्य सेवामा कतिजना डाक्टर, नर्स कार्यरत छन् भन्ने विवरण समेत नभएको खुलाए । उनले पाँच वर्षमा रु. ६० अर्ब लगानी गरेर देशभरीका सबै तहका स्वास्थ्यचौकीदेखि वीर अस्पतालका पुर्वाधार समेत अत्याधुनिक बनाउन सकिने बताए ।
१४ माघदेखि शुरु साहित्य महोत्सब कला, साहित्यमा सीमित थिएन । राजनीति, विकास, अर्थतन्त्र लगायतका विषयमा बहस भएको थियो । समापन कार्यक्रममा बोल्दै सांसद् रविन्द्र अधिकारीले महोत्सबले विचार र संस्कृतिको विकासमा योगदान दिएको बताए । आयोजकको तर्फबाट समापन मन्तव्य दिँदै महोत्सवका कार्यकारी निर्देशक निरज भारीले अर्को बर्षको साहित्य महोत्सब पनि पोखरामा गरिने घोषणा गरे ।
युवराज श्रेष्ठ, पोखरा