हतारमा विवाह, अहिले पछुतो
२९ मंसीर दिउँसो जोखबहादुर लामिछाने कक्षा १० का विद्यार्थीलाई ‘सानै उमेरमा विवाह गर्दा गर्भवती हुने आमा र बच्चा दुवैलाई अप्ठ्यारो हुन्छ’ भन्दै पढाइरहेका थिए । शिक्षक जति जति यी कुरा दोहो¥याउँथे, पहिल्यै विवाहित १५ जना विद्यार्थीको अनुहार भने उति नै अँध्यारो हुँदै जान्थ्यो ।
“यही भनेर पढाउन थालेको २१ वर्ष भयो, तर बालविवाह रोकिएको छैन”, पोखरा गाविस–१, रुकुमस्थित जनता उच्च माध्यमिक विद्यालयका स्वास्थ्य जनसंख्या तथा वातावरण विषयका शिक्षक लामिछानेको अनुभव छ, “पारिवारिक संरचना र संस्कारगत कुरालाई किताबको ज्ञानले मात्र कम गर्न सकिंदो रहेनछ ।”
पढाइको चिन्ता
जनता उमाविमा कक्षा १० मा पढिरहेकी कमला बिक (१८) ले विवाह गरेको एक वर्ष भयो । विवाहको केही महीनापछि नै कमलाका श्रीमान् कक्षा १० को पढाइ बीचैमा छाडेर कामको खोजीमा भारत पसे । बिहान चार बजे उठेर सरसफाइ, घाँस काट्ने, खाना पकाउने, भाडा माझ्ने काम सकेर १० बजे विद्यालय पुग्ने उनलाई गृहकार्य गर्ने समय समेत हुँदैन । विवाहपछि नियमित विद्यालय जान पनि नपाएकी कमला भन्छिन्, “यस्तो हुन्छ भन्ने थाहा पाएको भए बिहे नै गर्दिनथें ।” सानैमा विवाह गर्दाका जोखिमबारे शिक्षकले पढाउँदा कुनै वास्ता नगर्ने उनको मन अहिले कक्षामा त्यही कुरा सुन्दा अमिलो भएर आउँछ ।
कक्षा १० मै पढिरहेकी करुणा बोहोरा (१८) को अवस्था पनि उस्तै छ । दुई वर्षअघि विवाह गरेकी उनी किशोर किशोरीको कार्यक्रममा जाँदा सानोमा विवाह गर्नुहुन्न भन्ने बुझेको तर ‘लभ’ परेपछि सबै बिर्सिएको बताउँछिन् । विवाहपछि पारिवारिक झन्झट बढ्ने भएकाले आफूभन्दा सानालाई चाँडो विवाह गर्नुहुन्न भन्ने सल्लाह दिंदै आएकी करुणा भन्छिन्, “मैले सरले सिकाएको मानिनँ, सानाहरु मैले भनेको मान्दैनन् ।”
कक्षा ८ मा पढदापढदै विवाह गरेका दलविर खत्री (१९) पनि अहिले पछुतो लागेको बताउँछन् । निमाविसम्म सधैं कक्षामा प्रथम हुने उनी अहिले २५औं स्थानमा छन् । “परिवारले पनि खाने मुख बढे, कमाउनुपर्छ भन्न थालेका छन्”, कक्षा १० पढिरहेका उनी भन्छन् ।
६ महीना अघि मात्र विवाह गरेकी टीका केसी (१७) लाई पनि हरेक कुरामा परिवारको अनुमति लिंदालिंदा हैरान भइसकेको छ । “स्कूल जान पनि सोध्नुपर्छ, साथीसँग कुरा गर्न पनि नपाइने रहेछ”, उनी भन्छिन् । खेतीपातीको काम, चाडपर्व नजिकिंदै गर्दा विद्यालय छुट्टी लिएर काम गर्नुपर्ने बाध्यता छ । धेरै दिन पढाइ छुटेपछि पढाइमा मन नजाने बताउने उनलाई फेल भयो भने परिवारले पढ्न नपठाउने हुन् कि भन्ने ठूलो चिन्ता छ ।
दुई महीनाअघि मात्र विवाह गरेकी नन्दा केसी (१६) लाई पनि नियमित विद्यालय जान नपाएको चिन्ता छ । “घरकाले आज नजा भनेपछि जान्छु भन्न सकिंदो रहेनछ”, कक्षा १० की नन्दालाई फेल हुन्छु कि भन्ने पीर लागिरहन्छ ।
दोषी अभिभावक
जनता उच्च माध्यमिक विद्यालयकका प्रधानाध्यापक कलु खड्का बालविवाह गर्नेलाई रु.२५ सय जरिवाना तिराउने नियम बनाए पनि विवाह नरोकिएको बताउँछन् । “विडम्बना त यस्तोसम्म छ कि हरेक साताको वक्तृत्वकलामा जुन विद्यार्थीले बालविवाह गर्नुहुन्न भन्दै राम्रो मन्तव्य दिन्छ, उनीहरु नै विवाहका लागि तम्सन्छन्”, खड्का भन्छन् । अन्तरजातीय र पारिवारिक स्तर मिलेन भने अभिभावकले बालविवाह भन्दै उजुरी दिने नत्र केही नगर्ने हुँदा विद्यालयले मात्र केही गर्न नसक्ने उनको भनाइ छ ।
विद्यालयमा अध्ययनरत १ कक्षादेखि १२ कक्षासम्मका ८०० विद्यार्थीमध्ये २७ जना विद्यार्थीले बालविवाह गरिसकेका छन् । “धेरैले सानोमै विवाह गर्दा अरुलाई अलि उमेर बढेपछि विवाह नहुने हो कि भन्ने चिन्ता लाग्नेरहेछ”, प्रधानाध्यापक खड्का भन्छन् ।
समाज नसुध्रनुमा ‘हामीले १५ वर्षमै विवाह गरेका हौं त के बिग्रिएको छ त ?’ भन्ने अभिभावकको सोच नै दोषी रहेको शिक्षक जोखबहादुर लामिछानेको निष्कर्ष छ । बालविवाह गरिहाले पनि पढ्न चाहिं छाड्नुहुँदैन भनी सम्झाउन जाँदा पनि उल्टै अपमानित हुनुपरेको पीडा उनीसँग छ । “तपाईं नौ कक्षामा पढ्दा विवाह गरेर पनि हेडसर हुनुभयो मेरो छोराले किन नगर्ने ? भनेर परिवारका व्यक्तिले थर्काउँछन्”, उनी भन्छन् ।
तकसेरास्थित महेन्द्र उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक भइसकेका लामिछानेले नौ कक्षामा पढ्दै गर्दा विवाह गरेको साँचो हो । “तर, अब जमाना फेरियो, मेरो परिवारले जे गल्ती ग¥यो त्यो दोहो¥याउनुहुन्न भन्दा पनि धर पाइनँ”, उनको भोगाइ छ ।
‘बालविवाह गर्नुहुन्न’ भनेर विद्यालयबाहिर पनि बुझाउँदै हिंडेका शिक्षक महेन्द्र केसी संस्कार परिवर्तन गर्न निकै कठिन भइरहेको बताउँछन् । पढे–लेखेका र केही बुझेका व्यक्ति गाउँ नफर्कने र भएकाले सानैमा विवाह गरेकाले नयाँ पुस्ताले पनि त्यसैको सिको गरेको उनको बुझाइ छ ।