नेपाल साहित्य महोत्सवः विचारको चौतारी
राजनीतिक तथा सामाजिक मुद्दाहरूले ल्याएको विभाजनले आमवृत्त खुम्चिंदै गएको बेला नेपाल साहित्य महोत्सव विचार संकथनको चौतारी बन्न पुगेको छ ।
दशवर्षे सशस्त्र द्वन्द्वको अन्त्य भएर शान्ति प्रक्रिया, संविधान निर्माण तथा आर्थिक समृद्धिका कुरा आइरहेका बेला २०६७ मा शुरु भएको नेपाल साहित्य महोत्सवमा साहित्य, समाज, राजनीतिसँगै भारत र चीनबाट नेपालले लिनसक्ने आर्र्थिक फाइदा विषयमा बहस चल्यो ।
माओवादी लडाकूको समायोजन, शान्ति प्रक्रियाका विविध विषयले राजनीति अलमलिरहेको बेला २०६८ मा दोस्रो नेपाल साहित्य महोत्सवमा संक्रमण, समृद्धिका आधार, नेपाली समाजको रुपान्तरण, मध्यम वर्गीयको उदयलगायत विषयमा बहस भयो ।
त्यस्तै शहर र समृद्धि, सीमान्त आवाज, राष्ट्रियतालगायत विषयमा तेस्रो र चौथो संस्करणमा चर्चा गरिएको महोत्सव पाँचौं संस्करणमा पुग्दा काठमाडौंबाट बाहिर पोखरा पुग्यो । जहाँ संघीयता, मधेश, बहिष्करण, संविधान र पहिचानसँगै नयाँ शक्ति र नेतृत्वको संकट समेतका विषयमा चर्चा गरियो ।
यस पटक १४–१७ माघ, पोखरामा चल्दै गरेको छैटौं नेपाल साहित्य महोत्सवमा शासनको जवाफदेहिता, पपुलिज्म राजनीति, समृद्धि कति नजीक तथा सामाजिक सञ्जाललगायत विषयले प्रवेश पाएका छन् ।
यसले बहसको दायरा फराकिलो त पारेको छ नै सामाजिक वृत्तलाई पनि फराकिलो पार्ने काम गरेको प्रा. अभि सुवेदी बताउँछन् । यसलाई बहसको चौतारी भन्न मिल्ने बताउँदै सुवेदी भन्छन्, “साहित्य, कला, समाज, राजनीतिलगायत सबै विषय समेटिएका छन् । सबैले बहस गर्न पाएका छन् । खुशीको कुरा हो ।”
फैलिंदो आमवृत्त
छैटौं संस्करणसम्म पुग्दा नेपाल साहित्य महोत्सव सधैं भइराख्ने एउटै प्रकारका साहित्यिक कार्यक्रम भन्दा भिन्न देखिएको छ । साहित्य र कलासँगै समसामयिक सामाजिक विषयमा चल्ने बहसले आमवृत्तलाई फैलिन मद्दत पुर्याएको छ । राजनीतिवृत्तले खुम्च्याउँदै लगेको साहित्य, कलालगायतका आमवृत्तलाई यसले फराकिलो पार्दै लगेको प्रा. सुवेदीको मत छ ।
नयाँ कुराको सृजना, त्यसको प्रचार–प्रसार र पाठक तथा उपभोक्ताले ग्रहण गर्दासम्मका कुरालाई आमवृत्तसँग जोडेर हेर्ने गरिएको छ । साहित्य, कला, राजनीतिमध्ये राजनीतिले आमवृत्तलाई बढी प्रभावित गर्दै आएको छ । यस्तो बेला साहित्य र कला ओझेलमा पर्ने गरेका छन् । “अहिले अलिकति जटिल छ, राजनीतिक वृत्त फराकिलो छ” प्रा. सुवेदी भन्छन्, “अहिले कला कमजोर भएको छ, साहित्यलाई यस्तै महोत्सवहरूले फराकिलो बनाइरहेका छन् ।”
गाउँघरका चौतारीमा हुने छलफल, बहसलाई आमवृत्तकै रुपमा हेरिन्छ । नेपाल साहित्य महोत्सवलाई पनि त्यस्तै बहस गर्ने चौतारीको रुपमा हेर्छन् प्रा. सुवेदी । उनी भन्छन्, “त्यहाँ साहित्य मात्रै छैन । कला, सिनेमा, नाटक, अभिनय, चित्रकलाका कुरा हुन्छन् । राजनीतिक, सामाजिक मुद्दा, आर्थिक समृद्धिका कुरा सबै छन् ।”
बजारकै हिस्सा भए पनि यस्ता महोत्सवले सामूहिकता निर्माणमा सघाउ पु¥याउने मानवशास्त्री सुरेश ढकाल बताउँछन् । उनी भन्छन्, “छलफल, बहसले विचारको आदानप्रदान हुन्छ । सामूहिकता निर्माणमा सघाउँछ ।”
विषयमा विविधता
साहित्यलाई केन्द्रमा राखे पनि नेपाल साहित्य महोत्सव छैटौं संस्करणमा आइपुग्दा विषयमा पनि विविधता देखिएको छ । ललितपुरको झम्सिखेलस्थित एक हलमा शुरु भएको पहिलो संस्करणमा थोरै विषय थिए । करीब दुई दर्जन सेसनमा चलेको पहिलो चारदिने महोत्सवमा पठन, रिपोर्टिङ, उपन्यासमा बनेका फिल्म, समाज र आख्यान, मोफसलको लेखन र प्रकाशनलगायत विषयमा बहस भएको थियो ।
दोस्रो संस्करणमा तीन दर्जन सेसन चले भने नयाँ विषयहरूले प्रवेश पाए । केही पुरानासँगै नाटक, निबन्ध, साहित्यिक म्यागजिन, शिक्षा प्रणाली, मातृभाषा, लेखनमा आञ्चलिकतालगायत विषयमा चर्चा गरियो । तेस्रो र चौथो संस्करण अझ परिमार्जित बन्यो । राष्ट्रियता, सीमान्तकृतका सवाल, अपराध लेखन, भाषा, ध्वनि, पत्रकारितासँगै शहर, समृद्धिका विषयले प्राथमिकता पाएका थिए ।
पाँचौं संस्करण त विषय मात्र होइन, भूगोलका दृष्टिले पनि फराकिलो बन्यो, महोत्सव पोखरा पुग्नु यसैको उदाहरण थियो । “देश संघीयतामा गइरहेका बेला यस्ता कार्यक्रम पनि काठमाडौं बाहिर हुनुपर्छ भनेर पोखरा लग्यौं” महोत्सवका कार्यकारी निर्देशक निरज भारी भन्छन् । करीब तीन दर्जन सेसनमा चलेको पाँचौं संस्करणमा बहिष्करण, मधेशका सवाल, संविधान र पहिचानदेखि नेपालको समृद्धि, राष्ट्रवाद र नेतृत्व संकटलगायत विषयमा बहस गरिएको थियो । “हामीले गरेका बहसले राज्यको नीतिनिर्माणमा सहयोग पुगोस्, सामाजिक मुद्दाहरूमा विचार निर्माण गर्न सहयोग पुगोस् भन्ने उद्देश्य हो”, भारी भन्छन् ।
यो अवधिमा देश–विदेशका दर्जनौं लेखक, साहित्यकार, कलाकार, व्यवसायी सहभागी भएका छन् । मार्क टली, विनोद मेहता, शशि थरुर, प्रज्वल पराजुली, शोभा डे, अमिश त्रिपाठी, रवीन्द्र सिंह, बर्खा दत्त, तिशानी दोसी, कार्लो पिजाटो, इरा त्रिवेदीलगायतका विदेशी लेखक, पत्रकारले बहस गरेका थिए । इन्द्रबहादुर राई, जगदीश घिमिरे, सनत रेग्मी, सरुभक्त, अभि सुवेदी, पीताम्बर शर्मा, सीके लाल, सुरेशराज शर्मा, माधव पोखरेललगायतका लेखक, विचारक, विश्लेषकहरू सहभागी थिए ।
यस पटकको छैटौं संस्करणमा पनि देश–विदेशका दर्जनौं लेखक, पत्रकार, विचारक, विश्लेषकहरूको सहभागिता छ । यो पटकको महोत्सवमा साहित्य, कलासँगै समृद्धि, राजनीति, इतिहासलगायत विषयले प्रवेश पाएका छन् । ती विषयमा भारतीय लेखक उदय प्रकाश, रामचन्द्र गुह, दुर्जय दत्तले बहस गर्नेछन् ।
त्यस्तै ध्रुवचन्द्र गौतम, वैरागी काइँला, केदारभक्त माथेमा, चैतन्य मिश्र, हरि शर्मा, घनश्याम भुषाल, विश्व पौडेल, गगन थापा, रवीन्द्र अधिकारी, कुलमान घिसिङलगायत लेखक, विचारक, विश्लेषक, राजनीतिज्ञ, प्रशासक बहसमा सहभागी छन् ।