बेहाल जनकपुर, बेलगाम स्वास्थ्य संस्था
जनकपुरको स्वास्थ्य सेवामा बेलगाम भएर मौलाएको बेथितिले सर्वसाधारण बिरामीको जीवनलाई मूल्यहीन बनाएको छ।
-ईश्वरचन्द्र झा
प्रसूति व्यथा लागेपछि गत ३० असोजमा जनकपुर अञ्चल अस्पताल अगाडिको 'आर्य केयर एण्ड क्योर'मा भर्ना भएकी धनुषा, बिक्रमपुरकी २२ वर्षीया किरण यादव घर फर्कंन सकिनन्। परिवारजनले रगतको व्यवस्था गर्न नसक्दा भर्ना भएकै दिन उनको मृत्यु भएको उपचारमा संलग्न डा. विजयकुमार सिंह बताउँछन्।
प्रसूति व्यथा लागेपछि गत १४ भदौमा जनकपुर अञ्चल अस्पतालको प्रसूति गृहमा भर्ना भएकी भरतपुर, महोत्तरीकी सूर्यकला पासवान (२२) को शल्यक्रिया गरेर मृत बच्चा झिकियो। रक्तस्राव नरोकिएपछि त्यही रात अञ्चल अस्पतालबाट जानकी मेडिकल कलेजको सिटी हस्पिटलमा सारिएकी उनी बिहान तीन बजे बितिन्।
त्यसअघि वैशाख ८ गते जनकपुरको जानकी हेल्थ केयर एण्ड रिसर्च सेन्टरमा भर्ना गरिएका सरस्वती महराको दुई दिनको छोरालाई ६५ वर्षकी अर्की बिरामी इन्द्रदेवी यादवको लागि लेखिएको औषधि चलाइयो। दुई डोजमा अवस्था गम्भीर भएपछि शिशुलाई काठमाडौंको कान्ति बाल अस्पतालमा लैजान भनियो।
जनकपुरका सरकारी अस्पताल र निजी क्लिनिकहरूको सेवाको गुणस्तर देखाउन यी उदाहरण काफी छन् र यस्ता घटना दैनिक भइरहेका हुन्छन्। बिरामीको ज्यानै गएपछि बोल्न सक्ने आफन्तले प्रहरीमा पुर्याएका घटना रकम ले देनमा मिलाइन्छ।
१८ माघ २०७२ मा आफैं हिंडेर हातखुट्टा दुख्ने समस्या देखाउन विद्यापति चोकस्थित अनुराग पोलिक्लिनिकमा पुगेकी जनकपुर– २५ की लक्ष्मिनियाँ देवी (६५)को चिकित्सकले एक घण्टाभित्र 'ट्राइकोर्ट ४०' सूइको पाँच भाइल दिंदा घण्टा नबित्दै मृत्यु भयो। घटनापछि जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका पोलिक्लिनिक सञ्चालक अमरेन्द्रकुमार झाले रु.२ लाख क्षतिपूर्ति तिरेर 'केस ढिसमिस' पारे।
सबका सब बदमास
धनुषामा चारसय निजी क्लिनिक, पोलिक्लिनिक, अस्पताललगायतका स्वास्थ्य संस्थाहरू सञ्चालनमा रहेको आन्तरिक राजश्व कार्यालय जनकपुरको तथ्यांकले देखाउँछ।
तथ्यांकअनुसार तिनले तिर्ने राजश्व पनि बढ्दै गएको छ (हे. टेबुल)। जिल्ला जनस्वास्थ्य कार्यालय, धनुषामा भने १० अस्पताल, १० पोलिक्लिनिक, १० क्लिनिक र पाँचवटा डेन्टल क्लिनिक दर्ता छन्।
बिनादर्ता निर्वाध चलिरहेका स्वास्थ्य संस्था पनि उत्तिकै छन्। डा. किरण यादवको समर हस्पिटल, डा. प्रिया रञ्जनको आर्या केयर एण्ड कियोर, डा. निलम चौधरीको आस्था, डा. महेश महासेठको नवजीवन, डा. नागेन्द्रप्रसाद यादवको आराध्य हस्पिटललगायतका दर्जनौं अस्पताल दर्ताका हिसाबले अवैध छन्। संजीवनी सेफ मदरहुड, नवजीवन हस्पिटललगायतले पोलिक्लिनिकको रूपमा दर्ता भएर अस्पतालको 'व्यापार' गरिरहेका छन्।
स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका– २०७० अनुसार, पोलिक्लिनिकले बिरामी भर्ना गर्न पाउँदैन्। तर, नियम–कानून उल्लंघनमा अगाडि जनकपुरमा पोलिक्लिनिकले बिरामी भर्नादेखि शल्यक्रियासम्म गर्नु सामान्य बनेको देखिन्छ।
अञ्चल अस्पतालमा आएका बिरामीलाई अस्पतालकै वरिष्ट चिकित्सकहरूले आ–आफ्नो वैध–अवैध क्लिनिकमा पठाउने गरेका छन्। जनकपुरमा १२ हप्ताभन्दा माथिको भ्रूण पहिचान गरेर छोरी भए गर्भ तुहाउनेदेखि समान्य बिरामीलाई अनावश्यक परीक्षण गराएर हजारौं रकम असुल्ने काम सामान्यजस्तै बनेको अस्पतालकै कर्मचारीहरू बताउँछन्।
जनकपुर अञ्चल अस्पताल विकास समितिका पूर्व अध्यक्ष कामेश्वर झा बिरामीलाई आफ्नो क्लिनिकमा लैजानेदेखि पैसाका लागि अनावश्यक तथा अवैध उपचार गर्ने धन्दामा वरिष्ठ डाक्टरहरू नै लागेको बताउँछन्।
“यो जनकपुरको 'ओपन सेक्रेट' हो कि अञ्चल अस्पतालका वरिष्ठ चिकित्सकदेखि कनिष्ठ कर्मचारीसम्म यस्तो धन्दामा छन्”, झा भन्छन्, “सबका सब बदमास भइसके।”
अञ्चल अस्पताल वरिपरि दुई सयभन्दा बढी निजी अस्पताल, क्लिनिक र स्वास्थ्य परीक्षण गर्ने अनेक किसिमका संस्थाहरू छन्। अञ्चल अस्पतालका बलराम मिश्र, जयकुमार मण्डल, कुलदीप पण्डित, सूर्यनारायण यादव, रामनरेश पण्डित, विजयकुमार सिंह, विन्द्रकुमार पाण्डेलगायतका वरिष्ठ चिकित्सक तिनै क्लिनिकहरूमा 'काम' गर्छन्।
अरु त अरु अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट गौरांग मिश्रले समेत बिनादर्ताको क्लिनिक सञ्चालन गरेका छन्। अञ्चल अस्पतालका प्रशासकीय अधिकृत राजकिशोर राउत भन्छन्, “डाक्साबहरू मात्र होइन, स्टाफ नर्सहरूसमेत एउटै समयमा अस्पताल बाहिर काम गर्छन्।”
जनकपुरमा अवैध डेन्टल क्लिनिकको संख्या नै दुई दर्जनभन्दा बढी छ। तीमध्ये पर्छन्, अनिता रायको जानकी डेन्टल, डा. कपिलदेव यादवको जनकपुर डेन्टल, डा. राजीव शर्माको राजदेवी डेन्टल, डा. मुकेश पाण्डेको पोलियन डेन्टल, डा. ऋषिकेशप्रताप साहको नर्सिङ डेन्टल केयर, डा. अजय गुप्ताको संजीवनी डेन्टल अस्पताल पनि।
छैन कानून कार्यान्वयन
गत ४ भदौमा धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी राजेश गिरी, जनस्वास्थ्य अधिकृत मुन्द्रिका ठाकुर, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख अर्जुनकुमार मण्डलसहितको जिल्ला अनुगमन समितिले जनकपुरको नवजीवन अस्पताललाई सात दिनभित्र दर्ता भएर कानूनी दायरामा आउन निर्देशन दियो।
त्यसपछिको चार महीनामा नवजीवन अस्पतालको साटो पोलिक्लिनिकको रूपमा दर्ता भएर कारोबार गरिरहेको छ। जनकपुरको सार्वजनिक स्वास्थ्यमा बेथिति कति बलियो र कानून कार्यान्वयन कति फितलो छ भनेर देखाउन यो दृष्टान्त काफी छ।
धनुषामा स्वास्थ्य क्षेत्रको अनुगमन गर्ने जिम्मेवारी पाएका जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत मुन्द्रिका ठाकुर जनकपुरमा दुई सय क्लिनिक, एक सयभन्दा बढी औषधि पसल, दुई दर्जन अस्पताल अवैध रहेको स्वीकार्छन्।
तर, तिनलाई व्यवस्थित बनाउन न जिल्ला प्रशासन सक्षम भएको छ न त जनस्वास्थ्य कार्यालय। कानून कार्यान्वयन गर्ने निकायले चाहे यस्तो बेथिति सजिलै हटाउन सकिने अप्पन डेण्टल चेम्बरका सञ्चालक डा. अजय साह बताउँछन्।
पैसामुखी चिकित्सकहरूका कारण 'रेफेरल सेन्टर' बन्न पुगेको अञ्चल अस्पतालमा १६४ जना डाक्टरको दरबन्दी रहेकोमा ६४ जना कार्यरत छन्। एघारौं तहका १० डाक्टरको दरबन्दीमा दुई जना छन्।
गएको ५ मंसीरमा निरीक्षणमा आएका स्वास्थ्य मन्त्री गगन थापाले अञ्चल अस्पताललाई आवश्यक जनशक्ति र उपकरण उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै सेवा प्रवाहमा सुधार नआए चिकित्सक, कर्मचारी सबैलाई कारबाही गर्ने चेतावनी पनि दिए, तर केही सुधार देखिएको छैन।
बेकाम आईसीयू भवन
जनकपुर अञ्चल अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) भवन बनेको ६ वर्षमा पनि उपयोग भएको छैन। आईसीयू सेवा सञ्चालन नहुँदा रु.१ करोड २० लाखका उपकरण त्यसै बिग्रन लागेका छन्।
१२ बेडको आईसीयू सेवा सञ्चालनको लागि २३ जना कर्मचारीको दरबन्दी स्वीकृत भए पनि नियुक्ति हुन सकेको छैन। आईसीयू सेवा चाहिने दैनिक दुई दर्जनभन्दा बढी बिरामीलाई अस्पतालले धरान वा विराटनगर 'रेफर' गर्ने गरेको छ।
दुर्घटनामा अंगभंग वा मस्तिष्कमा गम्भीर चोट लागेका बिरामीलाई पनि रेफर गर्ने अस्पताल हुन पुगेको छ, जनकपुर अञ्चल अस्पताल।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. गौरांग मिश्र दरबन्दीअनुसारको जनशक्ति नभई राम्रो सेवाको अपेक्षा गर्न नमिल्ने बताउँछन्। उनको अधिकांश समय पनि अस्पताल बाहिरै बित्ने गरेको छ भने अस्पताल विकास समितिका अध्यक्ष नागेन्द्र यादवलाई कसैले नटेर्ने कर्मचारीहरू बताउँछन्। मेडिकल सुपरिटेन्डेन्ट रहिसकेका डा. सञ्जय ठाकुरको अनुभवमा जनकपुर अञ्चल अस्पताललाई साँच्चिकै अस्पताल बनाउन यसभित्र आमूल परिवर्तन अत्यावश्यक छ ।
---------------------------------------------------------------------------------------------------
“जनकपुर अस्पताल काइदा–कानूनविपरीत चलेको छ”
डा. सञ्जय ठाकुर
पूर्व मेडिकल सुप्रिटेन्डेन्ट, जनकपुर अञ्चल अस्पताल
मेडिकल सुपरिटेन्डेन्ट भएर जनकपुर अञ्चल अस्पतालमा सुधारका प्रयास गर्दाका दिनहरू तनावपूर्ण रहे। सेवा प्रवाह गर्ने संस्थाको लागि आन्तरिक रूपमा जनशक्ति, पूर्वाधार, अनुदान र बाह्य रूपमा सरकार, राजनीतिक दल, समाजिक अभियन्ता तथा अरु साझेदारको भूमिका महत्वपूर्ण हुन्छ।
हामीलाई चाहिं बढी आन्तरिक समस्या भयो, नकारात्मक सोचको। त्यही बीचमा पनि अस्पतालमा आईसीयू, ल्याव र शल्यक्रियाका उपकरण खरीद गर्यौं। ऋण चुक्ता गर्दै दुई करोड सञ्चित गर्न सक्यौं।
सबभन्दा ठूलो तनाव विज्ञ प्राविधिकको अभाव र राजनीतिक नियुक्तिबाट अस्पतालमा भित्रिएका अदक्ष कामदार समूहले दियो। अस्पताललाई यस क्षेत्रकै स्वास्थ्य विज्ञान अध्ययन केन्द्र बनाउने योजनाका साथ काम गर्ने प्रयास गर्ने क्रममा विशेषज्ञ चिकित्सकहरू भित्र्याउन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानसँग सम्झौता गरें, तर इमान्दार प्रयासलाई गलत आम्दानी बन्द हुने चिन्ताबाट ग्रस्त चिकित्सक तथा कर्मचारीले संगठित रूपमा निस्तेज पारे।
उनीहरूलाई ड्यूटीमा नियमित रहन कडाइ गर्दा राजनीतिक र आपराधिक व्यक्तिहरूबाट धम्की आयो। जनकपुर अञ्चल अस्पतालमा सबैथोक काइदा–कानूनविपरीत चलेको छ। यसलाई साँच्चिकै अस्पताल बनाउन यसभित्र आमूल परिवर्तन अत्यावश्यक भएको छ।