सिर्जना ब्यूटी विथ पर्पस्
मिस वर्ल्ड प्रतियोगितामा एउटा गज्जबको उपाधि हुने गर्छ, ब्यूटी विथ पर्पस् । विश्वभरिबाट छानिएर आएका सुन्दरीका आवरण होइन, उनीहरूले प्रस्तुत गर्ने सामाजिक परियोजनाका आधारमा यो उपाधि प्रदान गरिन्छ ।
बालाजु, काठमाडौंकी सिर्जना रेग्मी (२३) को मथिङ्गलमा पनि सुदूरपश्चिमको विकासबारे यस्तै एउटा परियोजनाको अवधारणा निर्माण भइरहेको थियो ।
ठीक यहीबेला ‘मिस नेपाल २०१६’ को मिति घोषणा भयो । सन् २०१४ मै मिस ग्रान्ड इन्टरनेशनलमा नेपालकी प्रतिनिधि बनेकी आत्मविश्वासी सिर्जनालाई मिस नेपाल बन्दै मिस वर्ल्डमा पुग्ने र कम्तीमा ब्यूटी विथ पर्पस् उपाधि जित्ने महत्वाकांक्षा पलायो ।
अन्तिम स्पर्धामा उत्कृष्ट चारमध्येमा परेकी उनले मिस ट्यालेन्ट उपाधिमै चित्त बुझाउनु पर्यो ।
धेरैका लागि सपनाको दुर्घटना लक्ष्य परिवर्तनको बिन्दु बन्छ । तर, सिर्जनाका लागि त्यसो भएन ।
“मिस नेपालमा मेरो प्रस्तुति देखेर धेरैले हौसला दिनुभयो, केही दिनपछि म नयाँ सपना देख्न थालें”, उनी सम्झन्छिन् ।
“अनि कहाँ पुग्यो त सुदूरपश्चिम परियोजना ?” सिर्जना यसका लागि आफूलाई तयार पार्दैछिन् । सहयोगी मन खोज्दैछिन् ।
तर, यहीबीचमा उनले नयाँ परियोजना शुरु गरेकी छन्– सिर्जना रेग्मी भिडियो ब्लग । ब्लगको तेस्रो भागको तयारी गरिरहेकी उनी काठमाडौंको फोहोर व्यवस्थापनका दुर्गन्ध केलाउँदैछिन् ।
चौथो भागदेखि समाजका अन्य समस्यामा केन्द्रित हुने उनको भनाइ छ ।
दर्जनौं फेसन शो, विज्ञापन, म्यूजिक भिडियोमा आफूलाई चिनाएकी सिर्जनालाई चलचित्रप्रति भने खासै मोह छैन ।
तर, महिलाप्रधान चरित्र भए आफूले सहज अनुभव गर्ने उनको तर्क छ ।
व्यवस्थापनमा स्नातक सिर्जनालाई ‘रुप होइन मनकी राम्री’ भनेर चिनिदिउन् भन्ने लाग्छ रे ।
“फेसन, मोडलिङ भनेको रुप राम्रो हुँदासम्म मात्रै हो”, सत्यसँग अवगत सिर्जना भन्छिन्, “भविष्यमा यस्तै नयाँ–नयाँ परियोजनामार्फत सामाजिक चेतना फैलाउने काम गरिरहनेछु ।”