कन्दराको पुनरागमन
लोक–पप गीतमार्फत संगीत कर्ममा सक्रिय कन्दरा ब्यान्ड दशकपछि उही निख्खर नेपाली स्वाद लिएर पुनरागमन गरेको छ।
घुमफिरमा स्याङ्जाको पञ्चासे गाउँ पुगेका गीतकार विनोद गौचनले अर्को बिहान फर्कने बाटोमा रुमाल विच्छ्याएको देखे। अलमलमा परेका उनले सोधपुछ गर्दा थाहा पाए, 'युवतीले मन पराएपछि रुमाल विच्छ्याएर बाटो छेक्दा रहेछन्।'
'युवतीलाई पनि मन पराए, रुमालमा फूल राखी जाने र मन नपरे कुल्ची जानुपर्ने' चलनबारे पनि पत्तो पाए। रुमालमा फूल राखे र गौचन पोखरा फर्किए। अनि लेखे– 'तगारोमा रुमाल राखी बाटो छेक्यौ तिमीले, त्यही रुमालमा पञ्चासेको फूल राखे मैले।'
२०६२ सालमा कन्दरा ब्यान्डको 'वर्षौपछि' अल्बममार्फत यो गीत स्रोतामाझ सुनिएपछि एकाएक 'हीट' बन्यो। यतिबेला गीतकार गौचन त छैनन्, तर उनले लेखेको यो गीत भने नेपालीमाझ गुञ्जिरहन्छ।
'वर्षांपछि' को ठीक दश वर्षपछि उनै गीतकार गौचनको अर्को गीत 'चन्द्रकोटकी नानी' पुनः रेकर्ड गरेर कन्दरा ब्यूँझिाएको छ। 'भेडी गोठैमा' अल्बममार्फत फेरि सांगीतिक कर्ममा जोडिएको कन्दराका मुख्य गायक विवेक श्रेष्ठ भन्छन्, “पहिले जस्तै दर्शक–स्रोताले माया गरिरहेका छन्। खुशी छौं।”
गुमनाम दशक
'वर्षौंपछि' अल्बमले बजार पिटिरहेकै बेला विवेक बेलायत हुइँकिए। बेलायतमै हुर्के, पढेकी पूर्व बेलायती सैनिककी छोरी सिमी पुनसँग प्रेममा परेका उनी विवाहका लागि बेलायत गएका थिए। “विवाह गरेर फर्कौंला भन्ने सोचेको थिएँ तर, बस्नैपर्ने बाध्यता आइलाग्यो”, विवेक भन्छन्।
बेलायत बसेर पनि विवेकले गीत गाउन छाडेनन्। तर, स्वदेशको जस्तो सन्तुष्टि अन्त कहाँ मिल्थ्यो र? विवेक विदेशिएपछि कन्दरा पनि गुमनाम रह्यो। कतिसम्म भने कन्दराले गएका १० वर्षमा एउटै पनि गीत सार्वजनिक गर्न सकेन। सांगीतिक कर्म गरेको पनि सुनिएन। “पुराना त छँदैथिए, नयाँ केही दिन सकेनौं”, विवेक स्वीकार्छन्।
१३ वर्षको बेलायत बसाइ त्यागेर गत १२ वैशाखको भूकम्पपछि विवेक मुलुक फर्किए। केही समय राहत वितरणमा खटिएका उनलाई त्यसपछि बेलायत जाने सुर चढेन। “अब यतै बस्छु, कन्दरासँगै पाखापखेरा घुम्छु”, उनी भन्छन्।
स्वर्णिम यात्रा
आउँदो वर्ष रजत जन्मोत्सव मनाउने तयारी गरिरहेको पोखराको यो लोक–पप ब्याण्डको स्थापना भने बुद्धिराज बज्राचार्य, दीपकराज मुल्मी, आनन्द तझ्या, सुनील भट्टचन र विजय गुरुङले गरेका थिए। तर, जब पहिलो अल्बम निकाल्ने तयारी भयो, विवेक श्रेष्ठ र सुनील थापा थपिए। विवेकको स्वरमा २४ वर्षअघि कन्दराले सार्वजनिक गरेको पहिलो गीत चञ्चले कान्छीको जोवन नै चर्चित बन्यो। पहिलो अल्बम 'चञ्चले कान्छी' ले कन्दरालाई पछाडि हेर्नु नपर्नेगरी ख्याति दिलायो।
त्यसको दुई वर्षपछि अर्को अल्बम आयो, 'डाँडापारि'। त्यस अल्बमको 'लेककी हे माया, तिमी पारि, डाँडापारि, दिन बिते पर्खिएर' गीत युवाले सर्वाधिक गुन्गुनाउनेमा परे। तेस्रो अल्बम 'हङकङ पोखरा'ले झनै उचाइ थप्यो। यो अल्बममा समेटिएको 'हङकङ पोखरा, रातै बिझायो, फूल्चोकीको डाँडैमा, प्रियसीको कल्पनामा' अहिले पनि उत्तिकै रुचाइन्छन्।
चौथो अल्बम 'वर्षौंपछि'का आठ गीत लोक–पप दुनियाँमा कन्दराको सुवास फैलाउन सहयोगी बने। अल्बमका 'तगारोमा रुमाल राखी, ड्रिम गर्ल, एक प्रेम कथा, चमेलीले गाउँ छोडिन' एक भन्दा अर्को हीट बने। सरुभक्त, विनोद गौचन, दीप श्रेष्ठलगायतका स्रष्टासँगको सामिप्यताले कन्दरालाई थप बल दियो। गण्डकी क्षेत्रका लोक भाकामा गीतहरु पस्केको कन्दराले १४ वर्षको अवधिमा देश–विदेशमा दुई सय भन्दा बढी कन्सर्ट गरिसकेको थियो।
पुनरागमन
विवेकको स्वदेश आगमनसँगै 'भेडी गोठैमा' अल्बम सार्वजनिक गरेको कन्दरामा अहिले विवेकका अतिरिक्त सुनील (ड्रम्स/कम्पोजर), बुद्धराज (किबोर्ड)सँगै अशिम श्रेष्ठ (गितार), अमित गुरुङ (गितार), अनिल गुरुङ (बेस गिटार) र अविनाश गायक (परकुसन) छन्।
नयाँ अल्बमले पाइरहेको चर्चाले नयाँ पुस्ताले कन्दराको पुनरागमनलाई स्वागत गरेको ठान्छन् विवेक। दश वर्षमा पुस्तान्तरण भइसके पनि कन्दराका उही शैलीका नयाँ गीतलाई स्रोताले मन पराउनु गर्वको कुरा भएको उनी बताउँछन्।
परिस्कृत प्रविधिसँगै पहिलेजस्तो अल्बमको बजार छैन । त्यसैले कन्दराले पनि नयाँ अल्बम 'भेडी गोठैमा'का गीतहरुलाई पेनड्राइभमा बिक्री गरिरहेको छ। आईट्यूनबाट किन्न सकिने र यूट्यूबमा हेर्ने बनाइएको छ। “अबका गीतमा गाउँघर, पाखापखेराको झल्को दिनेछौं, अर्गानिक स्वाद पस्किन्छौं”, फेरि गुमनाम नहुने अठोटसहित विवेक भन्छन्।