दुःख गर्ने, सुखको सपना देख्ने
आम दर्शकबीच अविरल बग्दछ इन्द्रावती टेलिश्रृंखलामा गम्भीरे माझीको चरित्रमा चर्चित लोकप्रिय रंगकर्मी तथा अभिनेता विष्णुभक्त फुँयाल, पछिल्लो समयमा ‘यु आर माई लभ !’ पात्रको रूपमा युवापंक्तिमा प्रख्यात थिए ।
तर, हामी नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) वालाहरू भने उनलाई वरिष्ठ ट्रेड युनियनकर्मीको रूपमा संझन्छौं । २०३५/३६ को मजदूर आन्दोलनबाट स्थापित नेपाल स्वतन्त्र मजदूर युनियनको स्थानीय इकाई हुँदै २०५० को दशकबाट नेपाल स्वतन्त्र कार्पेट मजदूर युनियनको केन्द्रीय नेता र २०५४ को स्थानीय निर्वाचनबाट काठमाडौं महानगरपालिका–६ का वडा सदस्यमा निर्वाचित फुँयाल हाल जिफन्टको वरिष्ठ युनियनकर्मी सञ्जालको सदस्य थिए ।
कन्फ्युसियस भन्छन्– जिन्दगी वास्तवमै सरल छ, तर हामी यसलाई जबर्जस्ती जटिल बनाउँछौं । फुँयाल, हाम्रा यस्ता अग्रज युनियनकर्मी हुन्, जो जिन्दगीका घुमाउरो कुइनेटाहरूलाई सीधारेखामा अर्थ्याउँछन् ।
हामीले जिफन्टको नियमित ट्रेड युनियन स्कूलमा एकदिन उनलाई बोलायौं । क्यामेरा ‘अन’ गर्यौं र दिल फुकाएर आफ्ना कुरा भन्न आग्रह गर्यौं ।
‘क्यामेरा, लाइट, एक्सन’ को झन्झटिलो दिनचर्याको सामना गर्दै आएका उनले प्रश्न गरे– यो सब केका लागि कमरेडहरू ?
हामीले भन्यौं– यी सब हाम्रा लागि ! भावी पुस्ताको जानकारीका लागि । किनकि तपाईंको जीवन, “जीवन–सङ्घर्ष–युनियनकर्म” को रंगमञ्च होस् र तपाईं स्वयंचाहिं जीवन्त प्रेक्षालय हो ।
शायद उनले रमाइलो माने । “मेरो जीवन विछट्टै रमाइलो जीवन”– आप्mनै शैलीमा उनले आफ्ना कुरा शुरु गरे– “दुःख नभएका को छन् र, मैले जीवनमा दुःख पाएँ भनौं ! कष्ट, जीवनमा आउँछ, जान्छ । यो त अनुभूति न हो, जस्तो मान्यो– त्यस्तै !”
उनले हामीलाई, रामेश दाइले गाउने गरेको एउटा गीत– ‘सङ्कट पर्छ मान्छेलाई ढुङ्गालाई के पर्छ...” स्मरण गराए ।
“मैले तपाईंहरूलाई आप्mनो परिवारको बारेमा बताइनँ क्यारे । मेरी श्रीमती अलि अघि, २०४५ सालमै बितिन्, तीन छोराहरू छन् । म भन्दा अब्बल ! पढे लेखेका । दुई जना यहीं छन्, कान्छो अमेरिकामा । गर्ने काम तीनै जनाको उस्तै उस्तै । खुशी लाग्छ– म पढ्न नपाएको मानिसका नाति/नातिना पनि विदेशमा पढ्छन् ।”
उनी भन्दै गए, हामी सुन्दै गयौं । जीवनका लागि उनले गरेका संघर्षका प्रत्येक पल सुन्दै जाँदा एउटा कोटेसन याद आयो– “समटाइम्स योर जोए इज द सोर्स अफ योर स्माइल, बट समटाइम्स योर स्माइल क्यान बी द सोर्स अफ योर जोए” ! अर्थात् कहिले तपाईंको खुशी हाँसोको स्रोत हुन्छ, तर कहिले त्यही हाँसो तपाईंको खुशीको स्रोत बन्न सक्छ !
मध्यसत्तरी पार गरेका उनका अनुहारका चाउरीलाई, पीडाका धर्सा नमान्ने हो भने विष्णुभक्त फुँयाल सधैं आप्mनै दुनियाँमा मस्त !
उनी कलाकार थिए, त्यसैले अभिव्यक्तिमा कलाकारिता पोखिन्थ्यो । आज के बोल्ने होला भन्नेमा म हिजो राति एकछिन अलमलिएँ– म त कलाकार हैन ? ! कलाकारलाई दिने श्रद्धाञ्जलि सभामा ट्रेड युनियनकर्मीको टर्रो शब्द के छर्नु ?
मैले समाचार पढें, उनका बारेमा सामाजिक सञ्जालहरूमा पोखिएका भावना गमें । मैले अधिकांश अनलाइनहरूको अर्काइभ हेरें । भारतका विभिन्न कलाकारको जन्मोत्सवदेखि निधनसम्मका समाचार अभिलेखमा भेटिए । केही नेपाली सेलिब्रेटीका ‘गसिप’ फेला परे ।
२०७२ सालको राष्ट्रिय प्रतिभा पुरस्कार विजेता यी अग्ला कलाकारका बारेमा नेपाली आमसञ्चारले जीवित रहुञ्जेल स्थान दिन सकेन सकेन; तर गत साता उनीहरू आफैंले लेखेको फुँयालको ‘ओविच्युरी’ समेत गायव थियो । मनमा आयो यस्तो किन ?
त्यसपछि मेरो मनमा अर्को प्रश्न उठ्यो– हुनेखाने र हुँदाखाने बीच खाडल भए झैं, हाम्रो सञ्चारमाध्यम कलाकार–कलाकार बीच पनि यत्ति साह्रो किन विभेदकारी ?
‘आफूले सकेको गर्ने हो– किन कसैप्रति गुनासो गर्ने’ भन्ने विष्णुभक्तकै भनाइ संझिएँ र घत परेको एकजना भारतीय कवि हेमन्त चौहानको यी पङ्क्ति संझिएँ–
आफ्नै आँटमा उभिएर म,
आफ्नो प्रतिभा देखाउँछु !
कोही मञ्च दिऊन् या नदिऊन्,
म आफैं रंगमञ्च बनाउँछु !
जो आफूलाई ‘स्टार’ ठान्छन्,
तिनकै सामु म चम्कन्छु !
तिनका चमकलाई फिका पार्ने,
सूर्य आफैंलाई बनाउँछु !!
मलाई लाग्छ विष्णुभक्त यस्तै ‘सेल्फमेड आर्टिस्ट’ थिए । वास्ता नगर्नेले पनि चासो नराखी सुखै नपाउने ।
उनी शुरू भए ८–९ वर्षको उमेरबाट । अनि अड्डिए– बाइरोडको बाटोमा !
“अरूको जस्तै मेरो जीवन पनि बाइरोडको बाटो जस्तो धेरै घुम्तीमा लतारिएको जीवन हो ।” उनले भने– “त्यति खेर ४/५ कक्षा पढेको भए, खरिदार/सुब्बा हुन्थें । मलाई पनि रहर त थियो नि पढ्ने, के गर्ने ? एक दिन पढ्न गएको – घर फर्किएपछि मार गाली खाइयो ।
“धनीको छोरोको सिको गर्दै तैंले पनि पढ्ने ?”
त्यस दिन भात खान पनि पाइएन, अनि त्यसपछि पढ्न पनि गइनँ ।
“अनि सानैदेखि मजदूरीमा जोडिएँ । मेरो बेल्चा/सावेलसँगको सम्बन्ध १५ वर्षको उमेरमा भयो । कान्ति राजपथ, जसलाई हामी बाइरोड भन्छौं, त्यही बन्दै थियो । म मकवानपुरको चुने बगर भन्ने ठाउँमा सावेल/बेल्चा चलाउन पुगें । एक हप्ता काम गरेपछि मेरो आँट मर्यो ।”
उनी सम्झिन्छन्– “त्यतिखेर धेरै मानिस रोजगारीको लागि कलकत्ता जान्थे । चिसापानी गढीमा प्रवेशाज्ञा जस्तो लिनुपर्थ्यो । मसँग त्यस्तो कागज केही थिएन । चलाखी गरें, डोको बोकी गएको थिएँ । कता ? भन्नेलाई– म त मजदूरी गर्न चुने बगर हिंडेको भनिदिएँ । छूट पाइयो, विना स्वीकृति कलकत्ता लागें ।
जिफन्टको नियमित ट्रेड युनियन स्कूलका सहभागीलाई यी भेट्रान युनियनकर्मी ‘के हो र के होइन मजदूरी भन्ने’ संझाउँदै थिए । “म अचेल सानो/ठूलो पर्दामा देखिने कलाकारिता र रंगमञ्चको काम पनि त मजदूरी न हो, तपाईं/हामीले गर्ने अन्य मजदूरी जस्तै ! ज्याला लियो, लगाएको काम गर्यो !!”
उनले भने– कलकत्तामा मैले के गरें नसोध्नुस्, मैले के मात्रै गरिनँ ? चार वर्षपछि म फर्किएँ । राम्रो कुरा, मैले कुकको काम जानें । दुनियाँको भिन्न पाटो देखें ।
विष्णुभक्त संझिन्छन्– त्यतिखेर काठमाडौंमा एउटा ठूलै होटल थियो, रोयल होटल, त्यसका जनरल मेनेजर बोरिस भन्ने अङ्ग्रेजी बोल्ने विदेशी थिए ।
होटलको अप्रत्यक्ष मालिक राजा महेन्द्रका भाइ बसुन्धरा थिए । त्यहाँ ‘कुक’ खाली छ भन्ने थाहा लाग्यो । त्यहीं पुगें, तर मेनेजरले कुक/सुक हैन वेटरको काम गर्छस् भनेर सोध्यो ।
नहुनु भन्दा केही हुनु राम्रो ठानेर मैले हुन्छ भनें । हुन्छ भनेपछि त्यसले अत्तो थाप्दै हपार्यो– यस्तो झ्यासे भएर, दाह्रीसाह्री नकाटी आउने हो त ? जा सफा भएर आइज ।
म दाह्री काट्न हिंडेको मानिस, रञ्जना हलको छेउमा पुगें । राम्रो फिल्म चलेको रहेछ, सुट्ट हलभित्र छिरें । हेर्नुस्, जसको जेमा ध्याउन्न हुन्छ, क्रमैसँग त्यतै तानिने स्थिति हुँदोरहेछ । मलाई कलाकार बन्नुरहेछ– फिल्म र नाटक भनेपछि हुरुक्कै ! उनले काम र कलालाई यसरी जोडे ।
म होटल पुग्दा थाहा पाएँ मेरो विषयलाई लिएर त्यहाँ त हडतालै भएछ । नयाँ केटोलाई सीधै वेटर कहाँ हुन्छ भन्ने कुरो उठेछ । मसाल्चीमा काम गर भनियो ।
पहिले त गर्दिनँ भनेर हिंडें तर त्यहीं काम गर्ने एउटा लैनचौरको मान्छेले भन्यो– हेर भाइ, दुई/चार महीना मसाल्ची बन, पछि प्रमोसन भइहाल्छ नि । मैले पनि त त्यसै गरी काम थालेको हो ।
चित्त बुझ्यो, त्यसै गरी काम थालें । बेलायती महारानी एलिजावेथको भ्रमण मलाई फलिफाप भयो । बेंकेट पार्टीमा वेटर पुगेन, त्यसपछि मलाई वेटरको काम गराइयो । भ्रमण सकिएपछि अलिअलि कचपच उठे पनि म वेटर भएँ ।
हामी विश्वका मजदूर एक हौं भन्छौं नि, यो पनि रामकृष्ण ढकालले गाएको गीत– ‘यो त भन्ने कुरा न हो’ जस्तै रहेछ । कार्यथलोमा देखिने वरिष्ठ/कनिष्ठका झमेला उनले यसरी बताए ।
उनले २०१६ सालमै होटल मजदूरहरूले शुरु गरेको ‘सेवा शुल्कको आन्दोलन’ संझिए । “कलकत्ताको हडताल पो हडताल, यहाँ त केको हडताल” उनले संघर्षका पाटा कोट्याए । आन्दोलनमा त्यहाँ हुने श्रमिक बीचको एकता, र संझिए आन्दोलन अघि बढ्दै जाँदा लुगलुग खुट्टा कमाउने आफ्नै साथीहरू ।
उनले युनियनसँगको आफ्नो संस्थागत साइनो २०१६ सालमा बनेको ‘होटल पारिश्रमिक संघ’ सँग जोडे, जुन एक वर्ष नबित्दै २०१७ सालको फौजी काण्डपछि प्रतिबन्धित भयो ।
२०२० सालमा शंकर होटलमा किचनमा काम गर्न थालेको घटना उनी गर्वका साथ बताउँछन् । फेरि सर्विस चार्ज, फेरि हडताल, अनि जागीरमाथिको झुण्डिने तरबार ... यस्तै श्रृङ्खला उनले सुनाए ।
“बंगाली सेफ थियो । किचन बन्द नभई आन्दोलन नहुने । उसलाई आन्दोलनमा जोड्नै पर्थ्यो । आन्दोलन गर्ने कि नगर्ने भन्दा उसले भन्यो, मैले विश्वासघात गरे सात बाउको छोरा । कुरा पत्याइयो । तर हडताल शुरु भएपछि त्यो बिक्यो, फेरि एक्लै ।”
नेपाली र प्रवासी मजदूरबीचको निष्ठामा आउने खाडल उनले यसरी अर्थ्याए ।
उनी ‘भ्वय् फ्वगिं (भोज मागेर खाने मान्छे)’ जस्ता उपमा दिएर हेपेको पनि संझिन्छन् । उनले आफ्नो स्वभाव बताए– “नराम्रा शब्दले जसले हेप्छ, त्यसलाई घोक्र्याउन पनि म पछि परिनँ ।”
शंकरमा लफडा परेपछि काम थालेको एकै वर्षमा काम छोडिदिएँ । शंकरमा भन्दा कम तलब पाउने इन्दिरा रेस्टुराँमा काम थालें ।
“७५ रुपैयाँको नोकरी छोडेर ५८ रुपैयाँ पाउने त्यो ठाउँमा काम गर्न जाँदा पनि चैन भने भएन । त्यहाँ एउटा लोकल दादा काम गर्दो रहेछ, त्यसैसँग फेरि लफडा पर्यो । त्यसले मलाई ‘माकः ख्वाः (बाँदर मुखे)’ भन्यो, मैले त्यसलाई ठटाइदिएँ । त्यसपछि कामबाट फेरि निकालिएँ ।
पहिलो चोटि करार र नियमित कामदारको भेद आरएनएसीमा कुक भएपछि थाहा पाएको उनी सम्झन्छन् । विष्णुभक्त संझदै थिए– काम गरेको २२ दिनपछि एकजना हाकिमले भने, ‘इण्डियनले जस्तो किन करारमा काम गरेको ?”
“त्यसपछि नियमित श्रमिकको रूपमा नयाँ कुक त भइयो । तर मैले २२ दिनको ज्याला माया मार्नु पर्यो ।”
एकपछि अर्को ठाउँमा भौंतारिनु उनको दिनचर्या जस्तै हुन पुग्यो । उनी बूढानीलकण्ठ स्कूलको एकजना टिचरकोमा दुई वर्ष कुक बने । त्यसपछि लोत्से होटलतिर हानिए र त्यसैको हेडकुक हुनपुगे ।
मालिक थिए डाक्टर, म थिएँ बिरामी । उनी उपचार गर्ने, म उनको होटलको कुक बन्ने । यहाँ तलब सुविधाभन्दा मानवीय सम्बन्धको सौदाबाजी थियो । तर अचानक ‘तारागाउँ’ को विज्ञापनले लोत्सेको काम पनि डगमगायो ।
“त्यसो त ती ‘डाक्टर मालिक’ ले यसरी छोडेर नि जाने हो भन्दै नहप्काएका हैनन् । मैले तलब बढी पाएँ के गरौं त ? भनें ।”
तारागाउँको हेडकुक पाँच सालसम्म चल्यो । त्यसपछि पढाइ र तहको लफडा आयो । विष्णुभक्त भन्छन्– ‘पाँच वर्ष काम गरेपछि एसएलसी पास नभएको भनी चौथो तहमा झारियो । हडताल त त्यहाँ गर्नुपर्थ्यो , के गर्ने तागत पुगेन ! तर मैले निहुँ भने खोजें– पाँचौं तहको मानिस पाँच वर्ष काम गरेपछि छैटौं तहमा उकलन्छ कि चौथो तहमा ओर्लन्छ ?’
धनसा महारानी, ऐश्वर्यकी दिदी; उनी आइन् र संझाउन थालिन् । अङ्गुर बाबा जोशीले थपथाप गरिन् ।
“तिमीसँग सर्टिफिकेट छैन नि त !”
मैले उल्टै प्रश्न गरें– ‘सर्टिफिकेटले काम गरेको छ कि मैले ? एस/नो/भेरी गुड मैले भन्नु पर्ने ? प्रमोशन अरूलाई ?’
मैले हल्ला चलाएँ– तल पनि झर्दिन, कोही आए ठटाएर खेद्छु । धम्कीले काम गर्यो । केही दिन यत्तिकै बित्यो ।
उनी संझिन्छन्– ‘याक एण्ड यतीमा एउटा साथी भेट्न गएको थिएँ । उनले सोधे– दाइ, तारागाउँमा हेड कुकमा अप्लाई गरेको छु । कस्तो छ त्यहाँ ?’
“म त खङ्ग्रङ्गै भएँ । के भन्नु, त्यहाँ आउनेलाई मैले ठटाउने भनेको छु भन्नु ? मैले राम्रो छ, गए हुन्छ भनें र आफू चाहिं लागें होटल अन्नपूर्णमा ।”
अन्नपूर्ण होटलमा सहदेव शमसेर राणाको बिगबिगी थियो । कोही संगठनमा लागेको भए निकाल्छु भन्दै हरेक हप्ता थर्काउँथे । यत्तिकैमा २०३५/३६ सालको राजनीतिक माहोल शुरु भयो ।
“म पनि त्यतै लागें । यसपछि म संगठनमा आबद्ध हुनुपर्छ भन्नेमा पुगें । २०४० मा अहिलेका सांसद विनोद श्रेष्ठमार्फत नेस्वमयूको सांस्कृतिक परिवारमा जोडिएँ । २०४२ पछि नाटक लेख्ने, नाटक खेल्ने गर्न थालें । सँगसँगै युनियनमा साथीहरू संगठित गर्ने जिम्मा पनि पाएँ ।”
‘नढाँटी भनौं ?’ उनले भने– “म संगठकको रूपमा चाहिं गतिलो रहेनछु । पेप्सीमा १५ दिन धाउँदा पनि युनियन बनाउन सकिनँ । एकजना पाले बाहेक कोहीसँग संगत नै बढेन । त्यो बेलासम्म जिफन्ट बनिसकेको थिएन । हामी सबै नेस्वमयूमै थियौं ।
नेस्वमयूमा पछि पछि अलि ‘ट्रिक–ट्याक्टिस’ हुन थालेको समेत मैले महसूस गरें । त्यस्तै भएपछि म विस्तारै नाटक खेल्ने बहानामा नेस्वमयूबाट अलि पाखा लागें ।
छयालीस सालमा जिफन्ट बन्यो । त्यसको केही वर्षपछि म कार्पेट क्षेत्रमा गएँ । कार्पेटमा चाहिं साथीहरूले धेरै नै मानभाउ दिए, सीधै म केन्द्रको उपाध्यक्ष भएँ ।”
कार्पेट युनियनमा उनी बढी नै रमेको अभिव्यक्ति दिए । “कार्पेटमा चाहिं युनियनको लागि पैसा पनि कमाइयो, खूबै नाटक खेलियो ।”
उनी विगततिर घरी–घरी फर्किंदै आफ्नो कुरा राख्दै थिए– "म अलि उग्रै थिएँ, चित्त नबुझेको मानिसलाई बंगारा/संगारा झारौं पनि भनें । तर आफूले नजानेको कुरामा मैले जे हो त्यही भन्न पनि लाज मानिनँ । २०५४ सालको चुनावमा म कामपा–६ को वडा सदस्य भएँ । घरघरमा भोट माग्न जाँदा भनें– म आफैं केही गर्न सक्दिनँ, तर तपाईंहरूले भनेको चाहिं गर्छु । चित्त बुझे भोट दिनुहोला । जनतालाई चित्त बुझेछ, विपक्षीको भन्दा २४८५ भोटले जितें ।"
के तपाईं परिवर्तनप्रति सन्तुष्ट हुनुहुन्छ ? प्रचार विभागका सदस्य सुनिल न्यौपानेले प्रश्न गरे ।
उनले भने– “किन नहुने ? मजदूर/किसानको पार्टी बनाउने, मजदूरले पनि सरकार चलाउने भन्ने सुनेको थिएँ । म आफैं मजदूर भएकोले यसले मलाई छोयो । परिवर्तन साना साना कुरामा पनि हेरौं न । मलाई होटलमा सेफ नेपाली भए कस्तो हुन्थ्यो भन्ने लाग्थ्यो । अहिले अधिकांश ठूला होटलमा नेपाली नै सेफ छन् । मजदूर युनियनको आफ्नै एउटा घर होस् भन्ने लाग्थ्यो । जिफन्टको विशाल घर बन्यो ।”
उनको मनमोहन मजदूर भवनको एउटा कोठा नाटक घर होस् भन्ने इच्छा रहेछ । भनिहाले– त्यो घरमा नाटक देखाउने इच्छा थियो, पाएको छैन ।
उनको त्यो इच्छा पूरा गराइदिन नपाएकोमा मलाई अहिले दुःख लागेको छ ।
उनले अगाडि भने– सरकार चलाउने कुरा, म शान्ति जिरेललाई सम्झन्छु । मैले कार्पेटबाट नाटक खेलाउँदा ती मजदूर बहिनी नेपालीसमेत शुद्ध बोल्न सक्नुहुन्नथ्यो । उहाँ नै हामीहरू सबैभन्दा पहिले सभासद् बन्नुभयो । कमरेड मुकुन्द त श्रममन्त्री नै हुनुभयो । अहिले विनोद सांसद हुनुहुन्छ, हेर्दै जाऊँ के के हुनुहुन्छ ! योभन्दा बढी के चाहियो ? मजदूर युनियनका मानिसले देश त हाँकेकै हो नि, हैन ?
सुनिल शायद सन्तुष्ट हुनुभएनछ क्यारे ! प्रश्न गर्नुभयो, ट्रेड युनियनमै पहिले र अहिले के फरक पाउनुभयो त ?
‘धेरै फेरिएको छ ।’ उनले भने– जिफन्ट नभएको भए यहाँसम्म आइपुगिने नै थिएन । पहिला हामी सबै ठूटे ! म नेस्वमयुको जिल्ला उपाध्यक्ष हुँदा अध्यक्ष अर्जुन थापा थिए । उनी पनि केही नजान्ने ठूटै, म त झन ठूटे ! अहिले हेर्नुस् त, हामी कति जान्दछौं ?
साथीहरूमा अलि सौखिनपन बढेकोमा भने उनी अलि दिक्क थिए । भने– मोबाइलले साथीहरूलाई फटाहा बनायो । घरमै हुन्छ, छेउमै आइपुगें भन्छन् ।
‘कुरा जति गरे पनि सकिन्न । समय धेरै छैन जस्तो लाग्यो ।’ उनले कुराको बिट मार्न खोजे– ‘म मजदूरको सम्पत्ति दुरुपयोग गरेको रुचाउँदिनँ । ख्याल गर्नुहोला ।
‘केही सुझाव छ कि ?’ सोध्ने फेरि पनि सुनिलजी नै हुनुहुन्थ्यो ।
उनले मजदूरको ‘परिभाषा’ दिए– मजदूर भनेको के हो ? मजदूर भनेको दुःख गर्न सक्ने, तर सुखको सपना देख्ने मानिस हो । त्यसैले मेरो चारवटा सामान्य सुझाव छ– मीठो बोल, म अलि टर्रो छु– यस्तो नबोल । अनुशासित होऊ, अराजक नबन । समयको ख्याल गर, लञ्जुफञ्जु नबन । इमानदार बन– आफ्नैलाई घात नगर ।
उनले जोड दिएर भने– “हामी सबै मिलेर नै अघि बढ्नुपर्छ । युनियन बनाउने भनेको भर्याङको खुट्किला थपे जस्तै हो । तल्लो खुट्किलो बलियो भए मात्रै माथि पुगिन्छ । त्यसैले तल हेर–माथि माथि हैन !”
विष्णुभक्तले जे जति त्यस दिन भने– सबैले रमाइलो मानेर सुने । शायदै धेरैले त्यसको गंभीरता महसूस गरे । आज उनलाई श्रद्धाञ्जलि दिंदै गर्दा त्यो हलमा उपस्थित धेरै साथीहरूलाई म यहाँ देखिरहेछु । आग्रह गर्छु– विष्णुभक्त बा’लाई ठीक ढंगले बुझ्नुहोस् ।
अन्त्यमा म आफ्नै फेसबूक स्ट्याटसका पङ्क्ति उल्लेख गर्ने अनुमति चाहन्छु–
“अस्ति (पुस १७ गते) मात्रै त हो, उहाँको मसँग कुराकानी भएको ! भन्दै हुनुहुन्थ्यो– नाटक खेल्दैछु ? मैले सोधें आफ्नै ? उहाँले भन्नुभयो– हैन, सत्यमोहन सरको ‘याज्ञवल्क्य’ ! २२ गतेको जुलूसमा हिंड्नचाहिँ अलि सक्दिनँ कि !
मैले भनें– हिंड्नु पर्दैन, चिन्ता नलिनुस् । त्यस दिन धेरै मानिस आउनेवाला छन् ।
हैन, हैन उपस्थिति जनाउन त आइहाल्छु नि ! हिंड्नचाहिं अलि सक्दिनँ भनेको पो त !
मैले स्वास्थ्यको ख्याल गर्नुहोस् भनें ।
दुःख लागिरहेछ, यदि यी जन–रंगकर्मीसँगको यो नै अन्तिम संवाद हुनेछ भन्ने थाहा भएको भए शायद संवाद लम्ब्याउँथे होला । घतलाग्दा कति विषयमा चर्चा गर्थें होला ?
राष्ट्रिय नाचघरमा नाटकमा अभिनय गर्दागर्दै बेहोस उहाँको आजै (पुस १९ गते) निधन भएको खबरले स्तब्ध भएको छु । श्रमजीवी वर्गका असल साथी, जनकलाकार कमरेड फुँयालप्रति सिङ्गो ट्रेड युनियन परिवारको तर्फबाट भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछु । शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना !
अलविदा कमरेड विष्णुभक्त ! सधैं संझिरहनेछौं !
(२७ पुसमा राजधानीमा आयोजित सम्झना सभामा जिफन्ट अध्यक्ष रिमालको मन्तव्यको सम्पादित अंश)