शिशिर योगीको डुंगा
बाल्यकालमा चलाएको डुंगा ३० वर्षपछि राप्ती किनारमा देख्दा ‘नोस्टाल्जिक’ बनेका गायक योगी डुंगाकै गीतको खोजीमा छन् ।
चाहुंगा मैं तुझे साँझ सवेरे
फिर भी कभी अब नाम को तेरे
आवाज मैं न दुंगा
१४ वर्षे ठिटोले डुंगा खियाउँदै मोहम्मद रफीको झल्को दिने गरी यो गीत गाउँदा यात्रुहरु ‘स्याबास्’ त भन्थे नै कहिलेकाहीं पैसा पनि दिन्थे । विद्यालय नगई राप्ती नदीमा गीत गाउँदै डुंगा खियाउँदा पाइने ‘स्याबासी’ र ‘पच्चीस/पचास रुपैयाँ’ ले उनी फुरुंग हुन्थे ।
३० वर्षपछि गत वैशाख २०७२ मा उनै माझी राप्ती नदीमाथिको पुलमा गीत सुसेल्दै जाँदै थिए । नदी किनारमा उही डुंगा पल्टिएको अवस्थामा देखियो । “म त खंग्र्रङ्गै भएँ”, तिनै माझी अर्थात् गायक शिशिर योगी भन्छन्, “पल्टिएको डुंगा होइन, म नै हुँ कि जस्तो लाग्यो ।”
दाङको चैलाही गाविसका योगी स्कूल पढ्दाताका राप्तीमा पुल थिएन । डुंगामै ओहोरदोहोर गर्थे । कोइलाबास नाका भएर भारत जान पनि डुंगाकै भर पर्नुपथ्र्यो । पाँच कक्षामा पढ्दैदेखि डुंगा चलाउन थालेका उनी सम्झन्छन्, “घरमा पैसा हुँदैनथ्यो, नून–तेलको खर्च जोहो गर्न पनि डुंगा चलाउनै पर्थ्यो ।”
गाउँमा डुंगा भने एउटै थियो, सबैको साझा । सातामा एक दिन डुंगा चलाउने पालो आउँथ्यो । एक जना अगाडि दिशा दिने र पछाडि पानी काट्ने दुई जना गरी तीन जनाले दिनभरि यात्रु तारेपछि साँझसम्म रु.१५० जति भागमा पर्थ्यो ।
एकजना यात्रुको ५० पैसा लिएर डुंगा तार्न शुरु गरेका उनले एसएलसी उत्तीर्ण गरेर गाउँ छाड्दा भने रु.२ पुगेको थियो । “आमाबुबा बृद्ध थिए, दाइ भारतमा हुनुहुन्थ्यो, स्कूल छाडेर डुंगा चलाउन जान्थें”, योगी सम्झिन्छन्, “हिउँदमा त ठीकै हो, वर्षात्मा भने पानी बढेर ज्यानै जाने डर हुन्थ्यो । डुंगालाई सही दिशा दिन अगाडि नै बसेर गीत सुसेल्थें ।”
एक खेपमा बढीमा १५ यात्रु बोक्ने डुंगा पनि थोत्रो थियो । दुवै छेउमा फल्याकको टालो हाले पनि भित्रसम्मै पानी आइहाल्थ्यो । “पल्टियो भने यात्रुलाई केही होला कि भन्ने डर हुन्थ्यो”, योगी भन्छन् । त्यही डरबीच सानो रेडियो पनि उनको काँधमै हुन्थ्यो । त्यसले प्रायः नेपाली र हिन्दी गीत गाउँथ्यो । गीतसँगै उनी राप्तीको लयसँगै डुंगाको अघिल्लतिर बसेर बाँसुरी पनि बजाउँथे । “अहिले त्यो दृश्य सुन्दर क्यानभास जस्तै लाग्छ”, योगी भन्छन् ।
दाइ कोमानन्द (मामाका छोरा)ले ल्याइदिएको गितार सधैं उनको साथमै हुन्थ्यो । अर्को चिज पनि थियो, हार्मोनियम । तुलसीपुरका साथीका बुबा (गोविन्द श्रेष्ठ) लाई चिठ्ठामा परेको । ‘घरमा कसैलाई बजाउन आउँदैन, तैं लैजा भन्नुभयो, लिएर आएँ”, उनी भन्छन् । त्यही हार्मोनियम बोकेर उनी २०४८ सालमा चारभञ्ज्याङ (काठमाडौं) भित्रिएका थिए ।
काठमाडौं टेकेको दोस्रो वर्ष २०४९ सालमा रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण गरेपछि योगीको पहिलो गीत रेकर्ड भयो, लोकराज गिरीको रचनामा ‘दिलको प्यास म कहाँ गई मेटाउँ’ । अम्बर गुरुङको सानिध्यमा संगीत सिकेका योगीले अहिलेसम्म २८० गीतमा स्वर दिइसकेका छन् ।
सारंगी त रेटे पनि, दिन बित्यो बाटो हेर्दै, फुकेर अर्काको दियो, यो देशमा म एउटा मानिस खोजिरहेछु, माया गर्नुको अर्थ, आउँछु भनि निष्ठुरीले सहितका चर्चित गीतका गायक उनी अहिले ‘आमा’ अल्बममा काम गरिरहेका छन् । साथै, साहित्यकार कमलमणि दीक्षित लिखित छन्द कविता पुतली, रत्नशमशेर थापाको शब्द र अम्बर गुरुङको संगीतमा रहेको जति चोट दुखे उति हाँसी उठे लगायतका गीतमा रियाज गरिरहेका छन् ।
अहिलेसम्म सयौं गीतमध्ये आमा बोलको गीतले उनलाई रुवाउँछ । “भक्कानिन्छु, थाम्नै सक्दिनँ”, गायक योगी भन्छन् । आमा शब्दले घर सम्झाउने र घरले आफ्ना बाल्यकालतर्फ डोेर्याउने उनी बताउँछन् ।
काठमाडौंमा सुरक्षित राख्ने ठाउँ नभएकाले डुंगालाई राप्ती किनारमै छाडिआएका योगीले डुंगाको तस्वीरलाई भने घरको भित्तामा सजाएका छन् । “केही कवि, गीतकारलाई त्यो पुरानो डुंगाबारे गीत लेखिदिन आग्रह गरेको छु । गाएपछि मन बुझ्छ कि !”, उनी भन्छन् ।