गोरखापत्रका पुरेत: कमलमणि दीक्षित
- श्रीरामसिंह बस्नेत
कमल दीक्षित (कदी) को जन्म हुँदा गोरखापत्र (गोप) को उमेर २८ वर्ष भइसकेको थियो, तर कालान्तरमा कदी नै गोपका 'पुरेत' कहलिए।
गोपको पहिलो अंक कुन दिन प्रकाशित भयो भन्ने जानकारी २०१३ सालसम्म कसैलाई थिएन। संयोगवश २०१३ पुसमा गोपको पहिलो अंक कदीको हातमा परेपछि त्यसमा उल्लिखित तिथिका आधारमा त्यसको पहिलो अंक १९५८ वैशाख २४ गते तदनुसार १९०१ मे ६ तारिखमा प्रकाशित भएको सप्रमाण निर्क्योल भयो। त्यसरी जन्ममिति पत्ता लगाएकाले तत्कालीन सम्पादक प्रेमराज पौड्यालले कदीलाई गोपका 'पुरेत' भनेका थिए।
कुशल पुरेतलाई आफ्नो यजमानसँग सम्बन्धित तिथि–मिति, ग्रह–दशा, शुभ–अशुभ, साइत–कुसाइत, जन्मतिथि, श्राद्ध तिथि सबैको हेक्का रहन्छ, त्यसैगरी कदीलाई गोपबारे हेक्का थियो। त्यो हेक्का, जानकारी वा ज्ञान जे भनौं, उनले असीम श्रद्धा राखी गोपबारे गरेको गहन अध्ययन–अनुसन्धानको परिणाम थियो। आफूले गरेको अध्ययनलाई आफूमा मात्र सीमित नराखी जगलाई नै बाँडेर कदीले ठूलो गुन लगाए। गोरखापत्रबारे उनले लेखेका तीन पुस्तक– 'कागतीको सिरप', 'चार कन्था' र 'शाखासन्तान' विशेष पठनीय र सङ्ग्रहणीय छन्।
'कागतीको सिरप' २०२६ सालमा प्रकाशित पुस्तक हो। यसमा कदीले विशेषगरी गोपको वार्षिकोत्सवहरूका अवसरमा लेखेका एक दर्जन निबन्ध–प्रबन्ध समेटिएका छन्। त्यसमा उल्लिखित वाक्यांश '...गोरखापत्र खोजको विषय हो। यसका प्रत्येक अंकमा शोधकार्य हुन सक्दछ। यसका सानातिना महत्वहीन जस्ता कुरामा पनि गहिरो तथ्य लुकेका हुन सक्दछन्' ले धेरै ठूलो अर्थ राख्दछ। पुस्तकमा उनले 'गोपका पुराना अंकहरूमा गहिरिएर खोज्ने हो भने रत्न भेटिन्छ' भनेका छन्। वास्तवमा गोप २०औं शताब्दीको नेपालको एक्लो साक्षी हो। २१औं शताब्दी लाग्ने बेलासम्म नेपाली जनमानसका हातमा अन्य अखबार आइसकेका थिए, आइरहेका छन्।
अनौठो लाग्ने पुस्तकको शीर्षक 'कागतीको सिरप' १९९३ सालमा गोपमा प्रकाशित एउटा रोचक सामग्रीमा आधारित छ। त्यसमा गोपका पत्रकारहरूले नेपालकै कुनै एक उद्योगले उत्पादन गरेको कागतीको सिरप (लेमन जुस) लाई डेढ वर्षसम्म आफैंले परीक्षण गरी यो सेवन गर्नु लाभदायक छ भन्ने निष्कर्षमा पुगेर त्यो उत्पादनको समर्थनमा सम्पादकले लेखेका थिए। त्यही दृष्टान्त दिएर कदीले लेखे– 'त्यो पनि वेला थियो। गोरखापत्रका संपादक एउटा सोप फ्याक्टरीको कागतीको शरबतको गुण अवगुण जाँच्न डेढ वर्षको कठिन परिश्रम र धैर्य गर्थे। सत्ययुगको कुरा भने पनि हुन्छ।'
यस पुस्तकमा गोपका तालुकवाला (हाकीम) हरू, गोपले नेपाली साहित्यमा पुर्याएको योगदान र बेलाबेलामा फेरिने यसको मास्टहेडको स्वरुपदेखि छाप्ने कागजसम्मको विवेचना पाइन्छ। त्यसअघि २०१७ सालमै प्रकाशित उनको पुस्तक 'कालो अक्षर' मा पनि गोपसँग सम्बन्धित सामग्री पाइन्छ।
गोप प्रकाशित भएको र अनेकौं कहर काट्दै हुर्किएको समय बन्द समाजको युग थियो। र पनि, यसले बेलाबेलामा खुला समाजतर्फ अग्रसर हुने आँट गर्न बाँकी नराखेको देखिन्छ। कदीले १९५८ भदौको गोपमा प्रकाशित यौन शिक्षा सम्बन्धी एउटा सामग्रीको उदाहरण प्रस्तुत गरेका छन्।
गोपमा प्रकाशित '...दस्तुर माफिक बिछौना लाइयाको अत्यन्त गुप्ति ठाउँमा स्त्री संभोग गर्नु जुन्ठाउँमा आफुले मान्ने मानिस नजिक बसेको छन् खुलाछ सरं लाग्ने ठाउँ छ मदन लडाइँ (सम्भोग क्रिया) का बखत् कष्ट भयामा या आनन्द भयामा उठेको शब्द अरुले सुन्ने ठाउँमा कदापि स्त्री संभोग नगर्नू' भन्ने सामग्रीप्रति कदीले 'जन्मँदै तीन पात हुने अखबारको जात' भनेर चित्त बुझाएका छन्।
त्यसो त, गोपका जन्मदाता श्री ३ देवशमशेरले नरदेव पाण्डेलाई दिएको प्रकाशन अख्तियारी सनदमा '...जुवा रंडीवाज बदनियत गरी खर्च गर्नेको पनि छापिदिनू.' भन्ने समेत उल्लेख थियो। यसबाट आजभन्दा ११५ वर्ष अघिको बन्द समाजमा पनि वेश्यावृत्तिको प्रचलन रहेको स्पष्ट हुन्छ। दरबारियादेखि सर्वसाधारणससम्मको सोखसयल र मनोरञ्जनमा यौनको प्रमुख स्थान रहेको र यी सब जनचासोको विषय भएको हुँदा गोपले त्यसरी यौनका कुरा छापेर 'जन्मँदै तीन पात' बन्ने आँट गरेको हुनुपर्छ।
२०५३ सालमा प्रकाशित गोप सम्बन्धी कदीका 'चार कन्था' मा डेढ दर्जन लेख–निबन्ध छन्। 'चार कन्था' लेखमार्फत २०२८ सालमै उनले उठाएको एउटा अत्यन्तै महत्वपूर्ण प्रश्न, जसको सान्दर्भिकता अहिले पनि ज्यूँका त्यूँ छ– '...गोरखापत्रले अब आफ्नो म्युजियम बनाउने वेला त भएन? ... श्री बालकृष्ण सम गो.प.को सम्पादक हुनुहुन्थ्यो। उहाँले यसका लागि लेखेका सम्पादकीयहरूको एउटासम्म पनि गुरुकापी बाँकी छ?
सिद्धिचरण श्रेष्ठ, पुष्करशम्शेर, माधव घिमिरे, धर्मराज थापा, पूर्णप्रसाद ब्राह्मणहरूले लेखेको, प्रुफ पढेको कुनै कागत कतै छ? चक्रपाणिले तलब बुझेको भरपाई, रामराज पौड्यालले सम्वाददाता भै पैसा बुझेको रसिद कहाँ छन्? प्रेमराजले च्वास्स पारेर टिप्पणी गरेका कागज कसैले राखेको होला? हामीले चिनेजानेका, हाम्रै वरिपरि भैरहेका व्यक्ति हुन् यी सब। हामीले ऐले महत्व दिनुपर्ने महत्वपूर्ण देखेका छैनौं होला– तर हाम्रा भविष्यका सन्तानले हाम्रो यो बेवास्तालाई के भन्लान्?'
यो प्रश्न गोरखापत्र संस्थान र त्यसको तालुकवाला सूचना तथा सञ्चार मन्त्रालयतर्फ तेर्सिएको धेरै भयो, तर उत्तर आउने कुनै संकेत अहिलेसम्म देखिएको छैन। कदीले यसै पुस्तकमा आफू कसरी गोपको 'पुरेत' कहलिन पुगें भन्ने पनि उल्लेख गरेका छन्।
२०६१ सालको 'शाखासन्तान' कदीद्वारा लिखित गोपको अर्को महत्वपूर्ण नालीबेली हो। एक दर्जन सामग्रीको यो बिटोमा गोपमा प्रकाशित ऐतिहासिक महत्वका सामग्रीदेखि भाषागत कमी–कमजोरीसम्मका कुरा छन्। गोरखापत्र संस्थानका तत्कालीन अध्यक्ष तथा महाप्रबन्धक भारतदत्त कोइरालाले लेखेको भूमिका पनि मननीय छ।
आफैं सुपरिचित पत्रकार रहेका कोइरालाले कदीको 'शाखासन्तान' को भूमिकामा लेखेका छन्– 'विशेष गरी कमल दीक्षितजीको मुद्रण प्रविधिसम्बन्धी अनुभव र व्यावहारिक ज्ञानले गोरखापत्रलाई मुद्रण प्रविधिमा ठूलो फड्को मार्न सघाएको थियो। नेपालको लागि उपयुक्त मुद्रण प्रविधि पत्ता लगाउन उहाँ भारत जानुभयो। उहाँकै सल्लाह र आँटले गर्दा गोरखापत्र हाते कम्पोजको सट्टा फोटो कम्पोज र लेटर प्रेसको सट्टा वेब अफसेटमा छापिन थालेको थियो। यसरी गोरखापत्रले दुई वर्षभित्र सय वर्षको फड्को मारेको थियो...।'
गोपलाई सरकारी अखबार भनेर नाक खुम्च्याउने विद्वानहरू पनि नेपालमा धेरै छन्। पञ्चायती व्यवस्थाको अन्त्यपछि 'गोपलगायतका सबै सरकारी व्यवस्थापनका आमसञ्चारमाध्यमहरू बन्द गरिनुपर्छ, निजीकरण गरिनुपर्छ, यसरी चलाउनु प्रजातन्त्रको नीति विरुद्ध हो' भन्नेहरू निकै थिए, छन्।
राजनीतिक रङ्गमञ्चमा देखिने दृश्य परिवर्तनसँगै सिंहदरबारभित्र आफू अनुकूलका अनुहारहरू पुगेपछि भने उनीहरू ती सरकारी सञ्चारगृहको हाकीम बन्ने दौडधूपमा लाग्ने गरेका छन्। यति मात्र होइन, गोपमै कलम घोटेर पहिचान बनाएकाहरू प्नि मौसम–बेमौसम गोपकै खिसीटिउरी गर्नुमा आफ्नो बौद्धिकता देख्छन्, 'खोलो तरे पछि लौरो बिर्सने' संस्कार जो हाम्रो छ।
यी सब प्रवृत्ति विपरीत कदीले गोपका पुराना पृष्ठहरू पल्टाउँदै, केलाउँदै आफ्नो रोचक शैलीको लेखनीबाट खुराक पस्किरहे। उनको निधनबाट गोपले आफ्नो एक भरपर्दो अभिभावक गुमाएको छ भने हामी जस्ताले ज्ञानको भण्डार। कदीले सोचे जस्तै र खोजे जस्तै गोरखापत्रको सङ्ग्रहालय बन्न सके उनीप्रति सच्चा श्रद्धाञ्जलि साथै भावी पुस्ताका लागि अमूल्य उपहार हुन जानेछ।