छन्दका दुर्लभ शिक्षक
- कोषराज न्यौपाने
व्यक्ति एक व्यक्तित्व अनेक भएका कदीले नेपाली छन्द कवितामा पनि अतुलनीय योगदान गरेका छन्।
भाषा वाङ्मयका प्रसाधक तिमी उद्यानका पालक
हाम्रा हौ वटवृक्ष शीतल दिने साहित्य उन्नायक
बेला नै नपुगी गयौ अमर भै गाँथेर शब्दाञ्जलि
अर्पन्छु प्रिय हे कदी! हृदयले स्वीकार श्रद्धाञ्जलि।
'जीवनमा सक्रिय मान्छे मृत्युको एकछिन अगाडि मात्र बूढो हुन्छ' भन्ने कहावत अनुसन्धाता एवं साहित्यसाधक कमलमणि दीक्षित (१९८६–२०७३) को जीवनमा ठ्याक्कै मिल्छ। ८७ वर्षे जीवन यात्राको अन्तिम घडीसम्म यिनको आश्चर्यजनक सक्रियता रह्यो।
यिनका पुर्खा शिरोमणि आचार्यले आजभन्दा करीब सवासय वर्षअघि ब्राह्मणले गर्नुपर्ने सोमयाग नामक ठूलो यज्ञ गरेर दीक्षा लिएकाले उनका वंशका सबैले आफ्नो थर आचार्यमा दीक्षित थपेर आचार्य दीक्षित लेख्न थाले। पछि छोटकरीमा दीक्षित मात्र लेख्न थाले।
कमलमणि पनि शुरूमा कमलमणि आचार्य दीक्षित लेख्थे। पछि कमलमणि दीक्षित, कमल दीक्षित र कदी मात्रै लेख्न थाले। मैले पनि यस आलेखमा कदी नै राखें।
२०३० साल असारबाट कदीसित मेरो सम्पर्क शुरू भएको हो। उनीसित मेरा कतिपय कुरा मिल्दैनथे, तर यौटा व्यक्तिसित घनिष्ठ हुन सबै कुरा मिल्नु नपर्ने रहेछ। नेपाली भाषासितको प्रेम र विशेषतः छन्द कवितासितको प्रेमले हामी अढाइ दशक सँगसँगै सक्रिय रह्यौं, साह्रै घनिष्ठ भयौं। उमेरमा पच्चीस वर्ष जेठा कदीसँग मलाई नजिक्याउने चिज छन्द कविता नै हो।
५०/५१ सालतिरको कुरा हो, म विराटनगरमा भएका बेला एक साँझ् रेडियोमा भानुभक्तको रामायणको सानो अंश ज्यादै मीठो स्वरमा बजेको सुनें। भानुजयन्ती (असार २९) मा रेडियोमा बजेको त्यो स्वर रहेछ– दाङका गोविन्द आचार्यको।
स्वर ज्यादै आकर्षक र अलौकिक लाग्यो। पछि साहित्यकार दाहाल यज्ञनिधिमार्फत सम्पर्क गरी आचार्यलाई घरमै बोलाएर मैले भानुभक्तको रामायणका केही श्लोक क्यासेटबद्ध गराएँ। केही समयपछि मैले एउटा जमघटमा यसको चर्चा चलाएँ।
त्यो भानुजयन्तीमा क.दी. भानुजन्मस्थल चुँदीरम्घा गएका रहेछन् र उनले पनि त्यहाँ एकजना अम्बिकाप्रसाद भट्टराईको रामायणवाचनको मिठास लिएछन्। छन्द कविता भनेपछि हुरुक्कै हुने कदी उत्साहले बुरुक्कै उफ्रिहाले।
फर्केर रामायणको एउटा नमूना क्यासेट निकाल्ने चाँजोपाँजो मिलाउन थाले। त्यही क्रममा कदी, म, रमेश खकुरेल र प्रह्लाद पोख्रेलबीचको छलफलबाट एउटा निष्कर्ष निस्क्यो– गोविन्द आचार्य र अम्बिका भट्टराईबाट रामायणको सुन्दरकाण्ड वाचन गराउने।
पछि थाहा भो– गोविन्द त लोकगायक पनि रहेछन्। रेडियो नेपालमा उनको सम्पर्क मात्र होइन पहुँच पनि रहेछ। तनहुँबाट अम्बिका भट्टराईलाई झिकाइयो र आचार्यकै व्यवस्थापनमा रेडियो नेपालबाट काम सम्पन्न गर्ने, लागेको खर्च कदीले बेहोर्ने तय भयो।
नभन्दै, केही दिनमै भानुभक्तको रामायणका सुन्दरकाण्डका तीसवटा क्यासेट तयार भए, कदीको तीस हजार रुपैयाँ खर्च भयो। हामीले छानिएका केही साहित्यकार डाकेर त्यो क्यासेट विमोचन र निःशुल्क वितरण गर्यौं। त्यो कामको लागि हामीले स्याबासी पनि पायौं।
हामीमा काम गर्ने जोस–जाँगर बढ्यो। कवि प्रह्लाद पोख्रेल सरकारी कामको बोझका कारण बाहिरी सहयोगी बने। कदी, रमेशजी र म बसेर सिङ्गो रामायणलाई क्यासेटबद्ध गर्ने सपना बुन्न थाल्यौं। तर यो काम सुन्दरकाण्ड निकालेजति पैसा, जनशक्ति र श्रमले पुग्दैनथ्यो। त्यसका लागि म्यूजिक नेपालमा कदीको पहुँचले काम गर्यो।
कदीको तारतम्यमा म्यूजिक नेपालका प्रबन्ध निर्देशक सन्तोष शर्मा समेत डटेपछि हामीलाई चाहियो रामायण वाचन गर्ने उत्कृष्ट स्वर। त्यसका लागि सहयोग गर्यो कान्तिपुर पब्लिकेसनले– कान्तिपुर दैनिकमा निःशुल्क विज्ञापन छापेर। तत्कालीन कान्तिपुर पब्लिकेसनका अध्यक्ष हेमराज ज्ञवाली यसका लागि धन्यवादका पात्र छन्। त्यसमा पनि कदीकै पहुँच र बोलीले काम गरेको थियो।
त्यसको ६ महीनामा हामी १३२ जनाका स्वरमा आठवटा छन्दमा रचित भानुभक्तीय रामायणका १,३१९ वटा श्लोक क्यासेटबद्ध गर्न सफल भयौं। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबाट राष्ट्रिय नाचघरको हलमा भव्य समारोहका बीच क्यासेट विमोचन भयो।
प्रधानमन्त्रीबाट यो काम सम्पन्न हुनमा कदीका अतिरिक्त प्रा. कृष्ण खनाल र नेता नरहरि आचार्यको पनि गुन मिसिएको छ। त्यसको केही महीनापछि कदीकै नेतृत्वमा साहित्यकार, गायक–गायिका र फोटोपत्रकार गरी ११ जनाको टोली दार्जीलिङ पुगेर पनि क्यासेट सार्वजनिकीकरण गरियो।
दार्जीलिङका इन्द्रबहादुर राई, लक्खीदेवी सुन्दास, रामलाल अधिकारी, मणिकमल छेत्री आदिको उपस्थितिले कार्यक्रमलाई स्मरणीय बनायो। त्यहाँ भानुभक्त नयाँ अवतारमा मुस्कुराए। कदीको छन्दप्रेमले त्यो सम्भव भएको थियो।
अनेक व्यक्तित्व भएका कदीको कामगराइमा उनको उमेर कहिल्यै बाधक भएन। बिहान चारबजेदेखि शुरू हुने उनको दैनिकी राति नौ–दश बजेसम्म चल्थ्यो, बहुआयामिक काममा। जीवनको उत्तरार्द्धमा खुलेको रातो बङ्गला स्कूलमा उनले करीब २० वर्ष पढाए। त्यो अवधिमा उनले हजारौं छात्रछात्रालाई छन्द कविता वाचनमा पारङ्गत बनाए। पाटनढोकाको रातो बङ्गला परिसरमा उनी सबैका सम्मानित 'दादाजी' थिए।
रातो बङ्गला स्कूललाई छन्दशास्त्रको केन्द्र नै बनाएका दादाजीले छन्दका परिभाषा र प्रकारसहित २०५२ सालमा प्रकाशित गरेको पुस्तकको अनेकौं संस्करण निस्केका छन्। क्यासेटबाट समेत नेपाली छन्द कवितामा उनले पुर्याएको योगदान इतिहासको कुनै कालखण्डले पनि भुल्न मिल्दैन।
कदीको कार्यतालिकालाई उमेरले कहिल्यै र कत्ति पनि हस्तक्षेप गरेन। रातो बङ्गला स्कूलमा कुनै विद्यार्थी त्यस्तो छैन जसले आकर्षक लयमा कविता वाचन गर्न नजानेको होस्। यो सबै कदीको कुशल प्राज्ञिक नेतृत्वको करामत हो। यो स्कूल अहिले जुन उँचाइमा छ, त्यसका लागि स्कूलका डाइरेक्टर, प्रिन्सिपल र तमाम स्टाफहरूको दक्षताको कत्ति पनि अवमूल्यन नगरीकन के किटान गर्न सकिन्छ भने कदीको कुशल निर्देशन नपाएको भए यत्तिको दामी र नामी हुने थिएन।
कवि रमेश खकुरेलको अध्यक्षतामा २०५३ मा नेपाली छन्द कविताको उन्नयनार्थ कोकगोष्ठी नामक संस्था खुल्यो। छन्दमा नवीनता, आधुनिकता र समसामयिक जीवन्तता भर्ने उद्देश्य अनुरूप संस्थाले ख्यातिप्राप्त कविहरूका घरघरमा छन्द कविता गोष्ठी गरेर नेपाली वाङ्मयको श्रीवृद्धिमा योगदान गरेको छ, धेरै कवि पनि जन्माएको छ। कोकगोष्ठीरूपी यो छाताको पनि मूलडण्डी त कदी नै हुन्।
कदी नेपाली वाङ्मयका त्यस्ता वरदपुत्र हुन् जसले वाङ्मयका हरेक शाखालाई मलजल र परिपोषण गर्न सिङ्गो जीवन खर्चेका छन्। नेपाली साहित्यमा बुइँगलको सम्पादनसँगै उनले प्राप्त गरेको साहित्यिक उँचाइ वाङ्मयको विस्तारमा एक वटवृक्ष सावित भएको छ। मैले यहाँ छन्दलाई मात्र सम्बन्धित गरेर उनको चर्चा गरेको हुँ।
उनी त नेपाली साहित्यमा धेरै थोक हुन्– लेखक, पाठक, अनुसन्धाता, साहित्यिक पत्रकार, संरक्षक, दाता, शैक्षिक उन्नायक, उद्योगपति आदि। कदीलाई लिएर हरेक विषयमा भिन्नाभिन्नै ग्रन्थ तयार गर्न सकिन्छ। यी सबै कुरा हेर्दा एउटा व्यक्तिले यत्रा काम गर्न सक्छ? प्रश्न उब्जन्छ। सक्छ, उत्तर यही हो।
नेपाली वाङ्मयको इतिहासमा राम्ररी झाङ्गिएका वटवृक्ष हुन्, कदी। मान्छे जिउँदो हुँदा र सामुन्ने हुँदा उसको त्यति महत्व हुँदैन। उसले गरेका कामको मूल्याङ्कन विस्तारै हुँदै जान्छ र अभाव पनि खट्किंदै जान्छ। भविष्यमा कदीबारे हामीले धेरै काम गर्नुपर्ने हुन सक्छ। अहिले उनी दिवङ्गत भएको आलो क्षणमा भने यति शब्दाञ्जलि गुम्फनका साथ निधनकै दिन लेखेको कवितांश अर्पण गर्दछु :
कमलमणि उज्याला फूर्तिला दिव्य तारा
मन मुटु सब साँची काव्य भर्ने सितारा
जति जन रिस गर्थे स्वार्थमा ठेस लाग्दा
म त अति प्रिय मान्थें राष्ट्रभाषा पुकार्दा।