‘झलक दिखला जा–९’ को उपाधि तेरियालाई
रुपन्देहीकी तेरिया मगरले भारतीय डान्स रियालिटी शो ‘झलक दिखला जा–९’ को उपाधि जितेकी छन् ।
कलर्स टेलिभिजनबाट प्रसारण भइरहेको नृत्य प्रतिस्पर्धामा भारतीय ‘डान्सर’ हरुलाई पछि पार्दै पहिलो भएकी उनले रुपन्देहीको सालझण्डीमा रहेका आफ्ना हजुरबुवा कृष्ण फौजामगरलाई जानकारी दिई खुशी साटेकी छन् ।
तेरिया विजेता भएको श्रृंखला कलर्स टेलिभिजनबाट भोलि ८ माघमा मात्रै प्रसारण हुनेछ ।
रुपन्देहीमा छँदा तेरियाका नृत्य प्रशिक्षक बुटवलस्थित बागेश्वरी संगीत विद्यालयका सञ्चालक सुरेश सेन्चुरीले तेरियाको जीतबाट आफू खुशी भएको र उनको जीतलाई उत्सवका रुपमा मनाइने बताए ।
‘झलक दिखला जा’ को फाइनलमा तेरियाले भारतीय डान्सर सलमान युसुफ खान र शान्तनु माहेश्वरीलाई पछि पार्दै उपाधि जित्न सफल भएकी हुन् ।
शान्तानु भारतमा ख्याती कमाइसकेका हिपहप डान्सर हुन् भने सलमान बलिउडका कोरियोग्राफर हुन् ।
तेरियाले दुई वर्षअघि 'जी टिभी' बाट प्रसारण भएको रियालिटी शो ‘डान्स इन्डिया डान्स लिटिल मास्टर्स’ को उपाधि पनि जितेकी थिइन् ।
‘झलक दिखला जा’ को विजेतालाई ३० लाख भारु र रेनाल्ड डष्टर ब्राण्डको कार उपहार दिइने कलर्सले पहिले नै घोषणा गरिसकेको छ ।