कदी अर्थात् मदन पुरस्कार “अभिलेखालय”
-दीपक अर्याल
पछिल्ला केही वर्षमा अभिलेखालयका रूपमा मदन पुरस्कार पुस्तकालयको विकासक्रम, यो स्थापना हुनुको उद्देश्य, यसको भविष्य तथा समाज, राष्ट्र, 'भाषा' वा अभिलेखालयका हिसाबले यसको महत्व र योगदानका विषयमा समालोचनात्मक दृष्टिकोणले हेर्ने प्रयास गरेका थियौं। यो छलफलका निम्ति कमलमणि दीक्षित भन्दा योग्य र उपयुक्त पात्र को हुन सक्थ्यो? एक त यस संस्थाको कल्पना र स्थापना गरेका हिसाबले, अर्को ६० वर्षदेखि निरन्तर संस्थाको विकास, विस्तार गर्दै 'अभिलेखन' मै आफ्नो जीवन समर्पित गरेकाले।
पछिल्ला समयमा सैद्धान्तिक र व्यावहारिक दुवै खालका प्रश्नहरूमाथि छलफल भए। प्रश्नहरू मूलतः के २०१२ सालमा नेपाली भाषा सामग्रीको सङ्कलन तथा संरक्षणका निम्ति स्थापित यो संस्था अब २०७२ मा आएर पनि उत्तिकै सक्रिय हुन जरूरी छ? वा यो जुन उद्देश्यका निम्ति स्थापित भएको थियो, त्यो हासिल गरिसक्यो? वा अब संस्थाको उद्देश्य वा संस्थाले गर्ने कामको प्रकृतिमा हेरफेर हुन जरूरी छ? र, अब यस्ता कामहरूको जिम्मा केन्द्रीय वा संघीय सरकारले लिनुपर्दैन?” आदि आदि थिए।
माथिका प्रश्नहरूमाथि छलफल गर्ने क्रममा मेरो मनमा अन्य 'भिन्नै प्रश्न' हरू आएका थिए जसका विषयमा भने हाम्रो छलफल हुन सकेन र अन्यत्र पनि त्यति चर्चा भएको छैन। खासगरी मदन पुरस्कार पुस्तकालयको स्थापना नभएको भए हाल संरक्षित, उपलब्ध र प्राप्य नेपाली भाषाका पुस्तक, पत्रपत्रिका तथा पर्चा–पम्प्लेट र कैयौं अडियो–भिडियोको संरक्षण कहाँ र कसरी हुन्थ्यो? वा, यी सामग्रीका सङ्कलन नै नभएको भए नेपाली समाज, राज्य र नेपाली भाषा साहित्यलाई के फरक पर्थ्यो? जस्तो कि, नेपाली भाषा बाहेक अन्य थुप्रै भाषाका सामग्रीको सङ्कलन नहुँदा समाजलाई के फरक परेको छ? यी 'अन्य' प्रश्नको उत्तर खोज्न जरूरी छ वा छैन?
यी 'अन्य' प्रश्नको उत्तर खोज्ने क्रममा राजा महेन्द्र जोडिएको एउटा प्रसंग यहाँ जोड्छु। मदन पुरस्कार स्थापना भएपछि राजा महेन्द्रले तत्कालीन बडागुरुज्यू भोगेन्द्रराज पाण्डेलाई भनेका थिए रे, “रानी जगदम्बाले मलाई उछिनिन्।” अर्थात् राजाले वा राज्यले गर्न चाहेको एउटा काम व्यक्तिगत तवरबाट शुरू भएछ। हामीले माने पनि नमाने पनि र आलोचना वा प्रशंसा गरे पनि 'राजा र राज्य' ले गर्न चाहेको काम निजीस्तरको संस्थाले गरिदियो र त्यसको एकल नेतृत्व कमल दीक्षितले गरिरहे। अब त्यो सम्पत्ति राष्ट्रको भएको छ। कला, साहित्य, संस्कृति, राजनीति, शिक्षा, स्वास्थ्य, कानून, इतिहास, कृषि वा अन्य विविध क्षेत्रमा रुचि राख्ने र अध्येताहरूको भएको छ।
कमल दीक्षितले त्यो समयमा आँटेको 'भाषाको सामग्री सङ्कलन र संरक्षण' को कामको लागि सबैभन्दा सामर्थ्यवान संस्था भने सरकार नै थियो, तर किन गरेन वा गर्न चाहेन? वा फरक–फरक सरकारी संयन्त्र (अभिलेखालय, राष्ट्रिय तथा केन्द्रीय पुस्तकालय) आदिबाट भइरहेको थियो? सरकारी तथा निजीस्तरबाट उत्पादित सामग्रीहरूको सङ्कलन र संरक्षण कति भए वा भएनन्? त्यो सुरक्षित रहन जरूरी थियो वा थिएन? वा यस्ता सामग्रीको महत्व किन र कति छ? भन्ने विषयमा आवश्यक छलफल र बहस राम्रोसँग भएको छैन। अन्य सरकारी निकायले विशेषतः सरकारी तथा विविधतायुक्त सामग्रीहरूको सङ्कलन गर्ने भएकाले पनि 'नेपाली भाषा' का सामग्री सङ्कलन र संरक्षण गर्ने कार्यले मदन पुरस्कार पुस्तकालयलाई अरूभन्दा पृथक बनायो।
यस अर्थमा नेपाली भाषाको विकास, विस्तार र प्रयोगमा सरकारले खेलेको भूमिका, सरकारी नीति तथा गतिविधि बाहेक अन्य सरकारी तथा गैरसरकारी क्षेत्रबाट के–के काम भए? ती अन्य क्षेत्रमध्ये मदन पुरस्कार, यहाँ सङ्कलित सामग्री तथा स्वयं कमल दीक्षितको भूमिका कस्तो रह्यो भन्ने कुराको राम्रो अध्ययन–विश्लेषण भएको छैन। दीक्षितको प्रयासबाट भएका धेरै काममध्ये पुस्तकालयमा नेपाली भाषाका यथासम्भव सबै सामग्रीको सङ्कलन गर्ने र संरक्षण गर्ने कामले नेपाली समाजलाई कुन क्षेत्रमा, कसरी योगदान पु¥यायो भन्ने विषयमा पनि राम्रोसँग विश्लेषण भएको देखिंदैन। बरू अति प्रशंसा वा अति निन्दा गर्ने नेपाली समाजको अभ्यासको शिकार मदन पुरस्कार पुस्तकालय र स्वयं दीक्षित पनि बनिरहे।
भाषा, पुस्तकालय र दीक्षित
'नेपाली भाषा र पुस्तकालय' विषयमा दीक्षितको प्रतिक्रिया के थियो भन्ने कुरा महत्वपूर्ण छ। उनले नेपाली भाषाको 'सेवा' गर्न पाएर आफ्नो 'जीवन सार्थक' भएको अनुभूति गर्थे र भन्थे, “नेपाली भाषाको सामग्री सङ्कलन संरक्षण गर्नुपर्छ भनेर लाग्दा अलि–अलि लहड थियो, पछि 'सेवा' हो भन्ने लाग्यो तर अब भने 'पेशा' बने जस्तो छ। मलाई नेपाली भाषाका मात्र होइन सबै भाषा, संस्कृतिका सबै सामग्री सङ्कलित र संरक्षित हुनुपर्छ भन्ने लाग्छ। तर, मैले केही गर्न सक्दिनँ। सबै कुरामा मेरो सामर्थ्य पनि छैन। म त नेपाली भाषाको मान्छे, मलाई यहीं बोल्न–लेख्न आउँथ्यो त्यसैले मैले यो काम र यो भाषा समातें। केही हदसम्म पुर्खाको परम्परा पनि जोडिएको होला तर, अब भने यो मेरो मात्र भाषा होइन। कमाउने र काम–दाम दिलाउने भाषा बनेकाले यसबाट कमाएर खानेहरूको 'भाषा' बनिसक्यो। यस्तो हुनुमा मदन पुरस्कारको पनि योगदान छ। त्यसमा मलाई विशेष खुशी लाग्छ। व्यक्तिगत रूपमा, म त मदन पुरस्कारको 'उत्पादक' मात्र हुँ। मदन पुरस्कार नभएको भए कमल दीक्षित हुने नै थिएन। मैले मेरो बुताले जति गर्न सक्थें त्यो गरें, अरू सबैले पनि आ–आफ्नो ठाउँबाट योगदान दिए। मैले मात्र गरेको त होइन। मेरो संस्थाले नेपाली भाषाका सामग्रीहरूको सङ्कलन र संरक्षण गरेर राखेको छ, उपयोग कम गरेको छ। अब प्रविधिका हिसाबले यसको संरक्षण, पहुँच र उपयोग अरूले गर्ने कुरा हो। समाज, राष्ट्र वा व्यक्तिले त्यसको आवश्यकता देखे त्यसको उपयोग गर्ला, होइन भने नगर्ला।”
यस भनाइलाई आधार मान्दा उनैले सङ्कलन गरेका सामग्रीबाट उनले उत्पादन गरेका पुस्तक तथा लेखहरू (ज्ञान) लाई पनि ध्यान दिनुपर्छ। उनले मदन पुरस्कारमै भएका पुस्तक तथा पत्रपत्रिकाबाट ज्ञान उत्पादन गरे। भाषाका हिसाबले उनलाई जुन भाषा आउँथ्यो स्वाभाविक रूपमै उक्त भाषाका सामग्रीहरू सङ्कलनमा रहे। नेपाली बाहेक अन्य भाषाको प्रयोग गर्नु परेको भए उनले अंग्रेजी, बंगाली वा गुजराती भाषाको प्रयोग गर्थे र सोही भाषाको सामग्री रहन्थ्यो। नेपालका सन्दर्भमा उनले अंग्रेजी भाषाको सामग्री राख्न उचित ठानेनन्। अन्य दुई भाषाका सामग्री अप्राप्य थिए। यसरी हेर्ने हो भने कमल दीक्षितले सङ्कलित सामग्रीबाट समाजलाई दुईवटा महत्वपूर्ण कुरा दिए– उनी स्वयंले यी सामग्रीहरूको अध्ययनबाट 'ज्ञान' उत्पादन गरेर समाजलाई दिए अनि अर्को भावी पुस्तालाई यसै सामग्रीका आधारमा थप 'ज्ञान' को उत्पादन गर्न तथा उनले वा अन्यले उत्पादन गरेका 'ज्ञान' माथि प्रश्न उठाउने सामग्री दिएर गए।
भाषाका हिसाबले नेपाली भाषाकै सामग्री सङ्कलन भए पनि उनले त्यो भाषा–सामग्री र त्यसका आधारमा उत्पादित ज्ञानमाथि प्रश्न गर्न वा हिजोका भाषिक, सांस्कृतिक, राजनीतिक वा सामाजिक परिवेशको विवेचना गर्नका लागि आवश्यक धरोहर छाडेर गए। भोलिका दिनमा नेपालको विगत र वर्तमान माथिको बहसको सबैभन्दा ठूलो आधार यिनै सामग्री हुन्। यी सामग्रीहरूको अस्तित्वले नै भोलिका दिनमा कुनै पनि विषयको पक्ष वा विपक्षमा बहस र विवाद गर्न सक्छौं।
पुस्तकालय कसरी?
साहित्यकार/अन्वेषक/लाइब्रेरियन कमल दीक्षित अर्थात् उनलाई चिन्नेहरूले बोलाउने ('दादाजी') को आमा दैनिक राममणि आदीको पुस्तकालय सफा गर्थिन्। उक्त कोठामा/पुस्तकालयमा कि राममणि छिर्न पाउँथे कि त सफा गर्ने कमल दीक्षितकी आमा विद्यादेवी। राममणि दीक्षितको सबैभन्दा प्यारो ठाउँमा आमालाई जान दिनु कमलमणिका लागि अचम्मको कुरा थियो। आफ्नी आमासँग उनी पनि पुस्तकालयमा छिर्थे, जुन विशेष अवसर थियो। यसै वेलादेखि पुस्तकालय चिनेका दीक्षितको मनको कुनै कुनामा पुस्तकालयको छाप बस्यो।
त्यो समयमा काठमाडौंका बिभिन्न 'खलक' मा पुस्तक, पुस्तकालय कसको राम्रो, कसको ठूलो वा कसको घरमा भन्ने एक किसिमको प्रतिस्पर्धा चल्थ्यो। आचार्य–दीक्षित परिवार, राणा परिवार, पाण्डे तथा पन्त परिवारको पुस्तक सङ्कलन र निजी पुस्तकालय थिए। धेरै पुस्तक सङ्कलन, संरक्षण गर्दा सामाजिक प्रतिष्ठा बढ्ने सोचाइ वा परम्परा रहेको अनुमान गर्न सकिन्छ। अरूले चाहिं किन गरेनन्? कमलमणिले खाजा खर्चको पैसा सीधै किताब किन्न किन खर्चिए? भनेर प्रश्न पनि गर्न सकिन्छ, तर उत्तर सहज छैन। किताब संकलन गर्न थाल्दा उनको उमेर १० वर्षको मात्र थियो। उनी भन्थे, “अहिले सम्झदा त्यतिवेला मैले किन किताब किन्थें र ती किताब मसँग पुस्तकालय खोल्ने समयसम्म कसरी सुरक्षित रहे वा किन सुरक्षित राखें भन्ने कुराको उत्तर मसँग छैन। पक्का पनि सानो उमेरमा किताब किनेर सङ्कलन वा संरक्षण गर्छु भनेर सोचेको थिइनँ।”
जे होस्, 'कमलको नेपाली संग्रह' भनेर छाप लगाइएका निजी सङ्कलनका पुस्तकहरूमा विभिन्न विद्वान, साहित्यकारहरूको सङ्कलन र संग्रह पनि जोडिंदै गयो। धेरैले आफ्ना व्यक्तिगत सङ्कलनमा रहेका आफ्ना सामग्रीहरू संरक्षणका लागि दिंदै गए र पुस्तकालयको आकार बढ्दै गयो। यसै समयमा दीक्षितले नेपाल, भारत, बर्मा, भूटान मात्र होइन त्योभन्दा पर गएर नेपाली भाषाका सबै खालका सामग्री माग्दै, किन्दै, खोज्दै, उतार गर्दै पुस्तकालयको आकार बढाए। पुस्तकालयमा 'सामग्री' दिएमा सुरक्षित रहन्छ भन्ने भावनाले धेरैले आफ्ना संकलन दिंदै गए र वर्तमान सङ्कलन सम्भव भयो।
नेपाली भाषा–साहित्यको सामग्री सङ्कलन र संरक्षणका हिसाबले कमल दीक्षितको योगदान अतुलनीय रह्यो। पुस्तकालयमा रहेका ३७ हजार किताब, ५६०० पत्रपत्रिका पहिले कापीमा र गत १० वर्षदेखि कम्प्युटरमा दर्ता गरेका दीक्षितले जति धेरै नेपाली भाषाका पुस्तक, पत्रपत्रिका अन्य कोहीले देखेको छैन र पढेको छैन भन्दा फरक पर्दैन। उनले प्रत्येक पुस्तकका लेखक, प्रकाशक, मूल्य, पृष्ठ संख्या मात्र होइन कुन विषयको पुस्तक, पत्रपत्रिका हो भन्ने कुराको विवरण पनि खुलाएर क्याटलग गरेका छन्।
उमेर हुँदा पुस्तकालयमा नयाँ पुस्तक आएपछि ती लेखकलाई धन्यवाद दिएर चिठ्ठी पठाउँथे। पछि त्यो काम इमेल र फोनबाट शुरू हुन थाल्यो। उनले गरेका कैयौं अन्वेषण र लेखन अहिले पनि नेपाली पुस्तक, प्रकाशन तथा मुद्रण संस्कृतिको अध्ययन गर्नेहरूका लागि नयाँ नै लाग्छन् र त्योभन्दा थप अनुसन्धान हुन वा तथ्यहरू थपिन अझै पनि अप्ठेरो परिरहेको छ।
आलोचनाको तारो
पुस्तकालयले सङ्कलन गरेका नेपाली भाषाका सामग्री र त्यसले 'नेपाली भाषा' मा पुर्याएको योगदानका विषयमा भएको आलोचनालाई भने फरक–फरक तरीकाले व्याख्या र पुनर्व्याख्या गर्न सकिन्छ। खासगरी राज्यले नेपाली भाषाको प्रवर्द्धन गरिरहेको आरोप लगाउनेहरूका लागि दीक्षितले गरेको काम र योगदान राज्यको सहयोगी मात्र थिएन, त्यसभन्दा एक कदम अगाडि थियो भन्ने आरोप लाग्ने गर्छ। यो आरोपमा केही सत्यता छ र दीक्षित यस आरोपबाट भागेका छैनन्। तर उनले 'नेपाली भाषा' को सामग्री सङ्कलन र संरक्षण गर्दा त्यहाँ नेपाली भाषा, साहित्य वा राज्यले चाहे जस्तो राज्यको महिमा गाउने सामग्री मात्र जोगिएका छैनन् भन्ने बुझ्न आवश्यक छ। त्यहाँ राणा सरकारको समर्थनमा लेखिएका पुस्तक वा पत्रपत्रिका भन्दा धेरै राणा विरोधी र प्रजातान्त्रिक आन्दोलनका पुस्तक छन्। त्यहाँ राजा महेन्द्र र पञ्चायती व्यवस्था विरोधी पुस्तक र पत्रिकाहरू पनि उत्तिकै छन्।
बहुदल, राजतन्त्र, माओवादी विद्रोह, गणतन्त्र, मधेश आन्दोलन वा जनजाति आन्दोलनको समर्थन र विरोधमा निस्किएका किताब, पत्रपत्रिका र पर्चा पम्प्लेट पनि एकै ठाउँमा छन्। दुई लाइन भए पनि नेपाली भाषाको हुनुपर्ने नीति भएकाले नेपाली भाषा बाहेकका अन्य सामग्रीहरू पुस्तकालयमा पक्कै छुटेका छन् तर त्यही दुई लाइनका कारण वेदानन्द झा, भद्रकाली मिश्र, रामराजाप्रसाद सिंह लगायतका व्यक्तिगत पर्चापम्प्लेटदेखि मङ्गोल अर्गनाइजेसन, सद्भावना पार्टी र जनमुक्ति पार्टीसम्मका घोषणापत्र वा अन्य भाषामा लेखिएका सामग्रीहरू पनि सुरक्षित छन्। यस अर्थमा भाषा नेपाली भए पनि देशको समग्र राजनीति, बहस, छलफल बुझनका लागि आवश्यक पर्ने सामग्रीको सङ्कलन र सुरक्षा भएको छ। नेपाली राज्य वा राज्यमा देखा पर्ने विद्रोही आवाज बुझ्न आवश्यक पर्ने सामग्रीको सङ्कलन र संरक्षण एकै थलोमा हुनु नै यसको विशेषता हो। यस अर्थमा दीक्षित निरपेक्ष रहे, उनको संस्था निरपेक्ष रह्यो र दीक्षितकै योगदानका कारण आधुनिक नेपाली राज्य र ५० वर्षदेखि यसका पक्ष–विपक्षमा चलेका तर्क र बहस बुझ्न आवश्यक पर्ने सामग्रीहरू जोगिए, जहाँ भाषाको नभई सामग्री र विषयवस्तुको मात्र अर्थ छ। राममणि आचार्यको 'भलो कुराको नमूना' मा प्रकाशित एउटा कविता उद्धरण गरेर एउटा समुदायको आलोचना गर्नका लागि आवश्यक पर्ने मूल पुस्तक उपलब्ध हुने थलो पनि मदन पुरस्कार नै हो र त्यसको श्रेय कमल दीक्षितलाई जान्छ।
भविष्य के हुन्छ?
पुस्तकालय प्रयोग नगरी वा त्यहाँको अवस्था नहेरी बजारमा चलेको हल्लाका भरमा कतिपय स्वदेशी तथा विदेशी विद्वानरुहरूले 'अब पुस्तकालय के हुन्छ?' भन्ने प्रश्न उठाइरहेका छन्। यसको सोझो उत्तर छ– पुस्तकालय निरन्तर चलिरहेको छ, चलिरहन्छ। पुस्तकालयमा रहेका सामग्रीहरूको विवरण अनलाइनमा उपलब्ध छन्। यीमध्ये पुस्तकालयमा आएर पुस्तक हेर्न चाहेको पाँच मिनेट भित्र र अन्य सामग्री डिजिटल भएको हकमा ५–१० मिनेटभित्रै हेर्न र पढ्न सकिने व्यवस्था थियो र छ। भूकम्पपछिको एक वर्ष यो सेवा बन्द थियो।
सामग्री सङ्कलन र संरक्षणका हकमा पुस्तकालय अझै पनि नेपाली भाषाको सामग्री सङ्कलन तथा संरक्षण गर्ने संस्था हो। यसले नेपाल वा नेपाल बाहिर रहेका नेपालसँग सम्बन्धित जुनसुकै भाषाका सामग्रीहरूको पनि सङ्कलन र संरक्षण हुनुपर्छ भन्ने मान्यता राख्छ र ऐतिहासिक सामग्रीहरू जोगाउनका लागि आवश्यक पर्ने प्रविधि तथा मानव संसाधन उपलब्ध गराउन तयार छ। अहिले पनि काठमाडौं उपत्यका तथा बाहिर जीर्ण अवस्थामा रहेका नेपाली बाहेकका अन्य भाषाका सामग्रीहरू डिजिटलाइज गर्ने कामलाई निरन्तरता दिइरहेको छ। अघिल्लो वर्ष मात्र यसले जीर्ण अवस्थामा रहेका करीब ७००० पृष्ठ नेवारी, नेपाली तथा संस्कृत भाषाका सामग्रीहरू सुरक्षित बनाएको थियो। आगामी वर्षमा १०,००० पृष्ठ सामग्रीहरू सुरक्षित राख्ने लक्ष्यका साथ काम गरिरहेको छ।
फरक–फरक ठाउँमा फरक–फरक समुदाय र संस्थाले लागे–पुगेसम्म सबै खालका, सबै भाषाका सामग्रीको सुरक्षा गर्नुपर्छ र ती बहस तथा छलफलका निम्ति सार्वजनिक पहुँचमा पुग्नुपर्छ भन्ने एकमात्र मान्यता राखेर त्यस्ता कामका लागि आवश्यक सहकार्य गर्दै मदन पुरस्कार पुस्तकालय निरन्तर चलिरहनेछ।