नेपाली भाषाका सह
काठमाडौंमा कमलमणि दीक्षित (कदी) दिवंगत भएको भोलिपल्ट १५ पुसमा सिक्किम गान्तोकमा आयोजित श्रद्धाञ्जलि सभामा समालोचक डा. कविता लामाले नेपाली साहित्यको बृहत् इतिहास लेखन परियोजनामा कदीसँगै काम गरिरहेको बताउँदै भनिन्, “उहाँ नेपाली भाषा–साहित्यको तीर्थ हुनुहुन्थ्यो।”
गान्तोकको शोकसभामा सहभागी भएर सिलगुडी झ्रेका नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य शशि लुमुम्बुसहितको नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतको टोलीसँगको १६ पुसको भेटमा दार्जीलिङका साहित्यकार इन्द्रबहादुर राई र सिक्किम साहित्य एकेडेमीका अध्यक्ष केदार गुरुङले कदीलाई 'नेपाल बाहिरको नेपाली भाषा–साहित्यको मूल खाँबो' का रूपमा अर्थ्याए। उनको निधनको खबरले पश्चिममा भाक्सु, देहरादुनदेखि पूर्वोत्तर भारतका आसाम, सिलोङ, मेघालय र बर्मासम्मका नेपाली भाषासेवीहरूलाई अवाक् र स्तब्ध बनाएको प्राज्ञ लुमुम्बुको अनुभव छ। “सिलगुडीमा राई र गुरुङले नेपाली भाषासाहित्यको सह गएको दोहोर्याई–तेहर्याई रहे”, उनी भन्छन्।
कदी नेपालका सिद्धहस्त लेखक थिए। लेखकभन्दा बढी सम्पादक, सम्पादकभन्दा बेसी प्रकाशक थिए। प्रकाशकभन्दा बढी अन्वेषक र अन्वेषकभन्दा बढी संग्रहकर्ता थिए। संग्रहकर्ताभन्दा बढी संकलक, अनुवादक, लाइब्रेरियन थिए। यी सबले उनलाई नेपाली वाङ्मयका अतुलनीय साधक र उत्प्रेरक बनायो।
१९९२ सालमा काशीबहादुर श्रेष्ठले बनारसमा स्थापना गरेको पत्रिका 'उदय' को वर्तमान सम्पादक दुर्गाप्रसाद श्रेष्ठसँग करीब दुई दशकको सहकार्यमा कदीले नेपालीपनमा जोड दिएको अनगिन्ती प्रसंगको सम्झ्ना छ। “डुवर्समा बद्रीनारायण प्रधानलाई मदन स्मारक सम्मान दिन जाँदा कदीले नै नेपालीपनको परिचय बुझाए।”
'उदय' मा २००२ सालमा छापिएको पहिलो कविता 'पुतली' मार्फत नै कदी साहित्य संसारमा आएका थिए। नेपाली भाषाका मानकहरू खडा गर्ने काम धमाधम भइरहेको समय थियो, त्यो। सँगै 'नेपालीको ठाउँमा अब हिन्दीले राज गर्छिन्' भन्ने कुरा पनि आइरहेको थियो। त्यही समयमा मदन पुस्तकालय खडा गरेका कदीले २०१६ सालबाट साहित्यिक पत्रिका 'नेपाली' चलाउन थाले।
श्रेष्ठको बुझाइमा, गोर्खा भाषा प्रकाशिनी समितिलाई विस्थापित गर्दै १९९१ सालमा बनेको नेपाली भाषा प्रकाशिनी समितिको 'लिगेसी' कदीले बोकेका थिए। प्राध्यापक चूडामणि वन्धु भन्छन्, “कालान्तरमा शिथिल हुन पुगेको नेपाली भाषा प्रकाशिनी समितिको ठाउँ लिएको साझा प्रकाशनको अध्यक्षको रूपमा कदीले १९९१ साल ताकाको सुविचारित उद्देश्य पूरा गर्ने काम गरे।”
एउटा विशाल इतिहास बोकेको उस बेलाको खस–पर्वते भाषा गोर्खाली सैन्य अभियान, बसाइँसराइ, गोर्खा भर्तीलगायतका कारणले दक्षिणएशियादेखि यूरोपसम्म गोर्खा भाषाका रूपमा चिनियो। र, कदी देश बाहिर 'गोर्खा' नामले चिनिने यही भाषालाई नेपाली कहलाउन लागिपरे र सफल पनि भए। यही कारण उनलाई नेपाली भाषाका अरू महारथीहरूभन्दा विशेष बनायो। नेपालको सबभन्दा ठूलो पुस्तकालय र प्रतिष्ठित पुरस्कारहरूका संस्थापक समेत रहेका कदीका लागि नेपाली वाङ्मयको सेवा न वृत्ति–विकासको कुरा थियो न सोखको विषय। उनी भन्थे पनि, 'मेरो रगतमै नेपाली भाषाका कोशिका छन्।' प्रसिद्ध साहित्यकार जगदीशशमशेर राणाले लेखेका पनि छन्– 'मणि खलकका ख्यातिप्राप्त सदस्यहरूमा देखिने प्रतिभा कमलमणिमा आएर 'मणि : मद्ये' भएको जस्तो लाग्छ।'
२०२३ सालमा कदी साझा प्रकाशनको अध्यक्ष भएपछि साझा कविता, साझा कथा, साझा एकांकीका साथै लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमाललगायतका कृति प्रकाशनमा खटे। जीवनको अन्तिम समयमा अस्पतालमा रहँदा पनि उनी काठमाडौंका केदार शर्मादेखि सिमलाका जगदीशशमशेर राणा र गान्तोककी कविता लामासम्मसँग नेपाली साहित्य विकासका योजना बनाइरहेकै थिए। “अब के गर्ने भनेर मदन पुरस्कार पुस्तकालयलाई लेख्दैछौं” असमका साहित्यकार लीलबहादुर क्षेत्री भन्छन्।
काँधमा भारी छ, मदन पुरस्कार गुठीको– जसको जिम्मा कदीको निधनपश्चात् पनि नेपाली भाषाको समृद्धिमा उनले जोडेको तार र लय टुटेको वा छुटेको अनुभूतिसम्म हुन नदिने!