फैलिएको सुवास
डालीबाट कमल झरेर गए पनि वासना फैलिरहेकै छ।
- माधवप्रसाद घिमिरे
आफू कवि भएकाले मैले कमलमणिलाई सधैं कविताको पक्षबाट हेरें। हुन पनि उनमा कविता बुझ्ने र कवितालाई प्रेम गर्ने एउटा विलक्षण खूबी थियो। उनको त्यो विलक्षण प्रतिभा उर्दू कविताका सन्दर्भमा पनि उत्तिकै देखियो। उर्दू जान्ने भएकोले उनी उर्दू कविताको जानकार र मर्मज्ञ थिए युवावयमै।
संगीत होस् या चित्रकला या कविता; कलामा विचित्रको आकर्षण हुन्छ। कमलमणि कवितामा रहेको त्यही आकर्षणमा परेको मान्छे हो। कविताबाट शुरू भएको कमलमणिको आकर्षण साहित्य, भाषा हुँदै नेपाली वाङ्मयको विकासमा व्यापक भयो।
के गरेनन् उनले? मदन पुरस्कार स्थापना गरे, साहित्यकारकै निम्ति। भाषा त्यहाँ जोडिन पुग्यो। भाषा र साहित्य फरक विषय होइनन्। भाषा साहित्यमा ढल्छ, त्यति मात्र हो।
उनले गरेका सबै कामको एउटै उत्तर नेपाली भाषा साहित्यको उन्नति हो। त्यसअन्तर्गत साहित्यमा दिइने पुरस्कार दर्शनमा पनि दिइयो। अर्थात् भाषा विशुद्ध साहित्य मात्र होइन, प्रविधि पनि हो।
उनले यी सबै काम धन आर्जन गर्न वा व्यापारको प्रचारका निम्ति गरेका होइनन्। व्यापार, धन र प्रचारलाई महत्व दिन्थे भने साहित्य र भाषाको उन्नतितर्फ लाग्दैनथे। कमलमणिको हृदयमा भाषा साहित्य बस्यो। त्यसैलाई माया गरेर उनी बसे। उनले नेपाली समाजलाई आफ्नो भाषाप्रति प्रेम गर्न सिकाए। त्यही हो, कसैले नबिर्सिने कुरा।
आफ्नोपन भनेको के हो? आफ्नोपन भनेको आफ्नो भाषा, साहित्य र आफ्नो संस्कृति हो। आफ्नो भाषा–संस्कृति भएन भने परिचय हुँदैन। नेपाली भाषा–संस्कृति र साहित्यको उन्नतिको निम्ति उनले मदन पुरस्कार स्थापना गरेर समाजलाई योगदान दिएर गए।
रानी जगदम्बा र मदनशमशेरको नाममा कमलबाबुबाट यी बाहेक अनेकन सेवा कार्य भएका छन्। ती सबको आफ्नै महत्व छ।
कमलमणिसँग मेरो पहिलो भेट कहिले भयो, अहिले बिर्सिएँ। मदन पुरस्कार वितरण समारोहमा पहिलो पटक डाकिएको एउटा सम्झ्ना छ। त्यहीं देखेको हुँ– यो मान्छे निरपेक्ष हो कि सापेक्ष। कार्यक्रममा पनि एकछिन बस्यो, फुत्त निस्क्यो। एकै आसनमा बस्न नसक्ने, चञ्चल किसिमको।
एक समय, कमलमणिको पिताको महत्व थियो। त्यो महत्व कमलमणिले पनि कायम राखे। नेपाली भाषा–साहित्यका लागि योगदान गर्दै आएको परिवार हो, पूरै परिवारको महत्व छ।
अर्को कुरा, आधुनिक शिक्षाको लागि कमलमणिले स्थापना गरेको विद्यालय रातो बङ्गलामा हप्ताको एक दिन उनी छन्द पढाउँथे। छन्द आदिकालदेखि चल्दै आएको कविता विधा हो। म छन्द मन पराउने मान्छे। यद्यपि, अहिले अलि सजिलो, फुकेका कविता लेखिंदै आएका छन्।
छन्द माने संगीत। संगीत साहित्य भन्दा व्यापक हो। भाषा नपाउँदै, साहित्यमा प्रवेश नगर्दै लय थियो। लयबाट मान्छेको चन्द्रोदय भयो।
अभिव्यक्ति त अरू कुरामा थियो। भाषा प्राप्ति गरेको पछि हो। त्यसो हुनाले छन्दलाई बिर्सिन सकिदैन। त्यही भएर कमलबाबुले चाहिं छन्दलाई निकै महत्व दिए।
उनको व्यक्तित्वका अनेक पाटा छन्। त्यसमध्ये एउटा संग्रहकर्ता हो। पुराना लिपि, पुराना किताब सुरक्षित राख्ने ठाउँ चाहिन्छ। जहाँ फाले पनि हुने ती फोकटका जिनिस होइनन्, आफ्नो सिरानमा, बुइँगलमा राख्ने चिज हुन्।
कमलमणिले चिजहरूलाई बुइँगलमा राखे। पुरानो एक पंक्ति पाउनको पनि ठूलो महत्व छ। त्यो बुझे उनले मदन पुस्तकालय रूपी बुइँगलमा राखे। बुझ्ने र सम्झ्ने भनेकै त्यही हो।
आफ्नै किसिमका अरू एकेडेमीहरू छन्, तर नेपाली भाषा साहित्यको श्रीवृद्धिको निम्ति कमलबाबुले जनस्तरबाट खोलेको एउटा संस्था हो, मदन पुस्तकालय।चार दिन रमाइलो गरेर सकिने काम होइन उनको। उनका उत्तराधिकारीहरूले यसलाई जोगाइ राख्नेमा म विश्वस्त छु।
मैले बुइँगलको, लाइब्रेरीको कुरा गरें। अंग्रेजी भाषा भयो भने सबै कुरा पुग्छ भन्ने छ, तर कमलमणिले आफ्नो विद्यालयमा युग अनुसारको शिक्षा दिएर पनि नेपालीलाई भुलेनन्।
कमलमणिले आफू कृतज्ञ रहेका मदनशमशेर र जगदम्बाको पनि ठूलो कीर्ति राखे। अब उनका छोराछोरीले बाबुको जो उद्देश्य हो, त्यसलाई अगाडि बढाउनुपर्छ। यो जत्तिको कीर्ति अरू हुन सक्तैन।
धन–वैभवले अरू माथि हुन सक्छन्; तर भाषा, साहित्य, संस्कृतिको श्रीवृद्वि उनीहरूको जिम्मामा आएको छ। सुसंस्कृत छोराछोरीले यस्ता काम गर्छन् नै। मलाई विश्वास छ, कमलबाबुका कामले निरन्तरता पाउनेछ।
कमल झरेर गयो, तर सुगन्ध हावामा फैलिरहेको छ। अब उनका सन्तति पहिलेदेखिको कुरा सम्झेर अगाडि आउनेछन्। यो मामूली कुरा हुँदै होइन।