अर्पणा आभुषण
परम्परागत नेपाली गहनालाई पश्चिमी रुपरंगमा ढालेकी अर्पणा रायमाझी अमेरिकामा चर्चा बटुलिरहेकी छन् ।
आयशा शाक्य, न्यूयोर्क
न्युयोर्कको फेसन वृत्तमा तीन वर्षअघि मात्रै ‘डेब्यु’ गरेकी अर्पणा रायमाझीको चर्चाले समयलाई नै पछि पारेको छ । यसो हुनुमा आभूषणका माध्यमबाट नेपाली संस्कृतिलाई पश्चिमी शहरी शैलीमा मिसाउनु नै हो ।
काठमाडौं घर भएकी २८ वर्षीया अर्पणाको डिजाइनलाई प्रसिद्ध फेसन पत्रिका भोगले समेत प्रकाशित गरिसकेको छ । इन्स्टाग्राममा उनको फलोअर (२७ हजार) कारण पनि उनलाई विश्वमाझ् चिनिन मद्दत गरिरहेको छ ।
परम्परागत नेपाली गहनाबाट प्रभावित अर्पणाले विशेष गरी नेपालका जनजाति महिलाका गहनालाई पश्चिमा शहरीया सम्मिश्रण दिएकी छन् । घाँटीमा लगाइने मालादेखि कम्मरको पेटीसम्म डिजाइन गर्ने उनका गहना आधुनिक, रंगीन र चिटिक्क देखिन्छन् ।
“मलाई आफ्नै देशसँग सम्बन्ध छुट्न थालेकोमा चिन्ता थियो,” अर्पणा भन्छिन्, “अहिले गहना डिजाइन गरिरहँदा फेरि देशसँग जोडिन पाएकोमा खुशी लागेको छ ।”
अर्पणाको अनुभवमा अमेरिका गएपछि मात्र उनले आफू हुर्केको ठाउँ र वस्तुलाई नयाँ आयाममा देख्न थालिन् । “हाम्रा आफ्नै हस्तकलाका सामानप्रति म बढी वस्तुगत भएँ । केही डिजाइन त साँच्चिकै अती नै सुन्दर छन्,” उनी भन्छिन् ।
अर्पणाका सृजनाका विभिन्न शृंखला छन् र प्रत्येक शृंखलाका आफ्नै कथा र विशेषता । उनका गहनामा पोते, रबर, धागो, फेब्रिक, चाँदी र सुन बढी प्रयोग हुन्छन् तर, कुनै विशेष डिजाइनमा सीमित हुँदैनन् । आधुनिकतासँगै गहना प्रयोगको परिभाषा ‘थोरै र सजिलो’ मा बदलिएको तर आफू धेरै गहनामै विश्वास गर्ने उनको धारणा छ । “प्रयोग गर्ने सामाग्री र रंगको संयोजनबाटै म आफ्ना सिर्जनालाई उन्नत बनाइरहेकी छु,” अर्पणाको दावी छ ।
त्यसो त उनी आफ्नो सिर्जनामा नयाँ र पुराना गहनामात्र होइन, साहित्यबाट समेत प्रभाव परेको बताउँछिन् । उनका सृजनाको पहिलो शृंखला “द मेलानकोली डेथ अफ द अर्चिन गर्ल” टिम बर्टनको कवितासंग्रह ‘द मेलानकोली डेथ अफ इस्टर बोय’ बाट प्रभावित थियो । यसबाहेक आदिवासी, पपुलर कल्चर, रक एण्ड रोल र मृत्युबाट समेत उनका कला प्रेरित छन् ।
चित्रकला, संगीतजस्ता विषयमा रुची भएकी अर्पणाले न्यूयोर्कको कुपर युनियनबाट फाइन आर्ट्समा स्नातक गरेपछि मात्रै गहना डिजाइन थालेकी हुन् । सन् २०१४ मा अर्पणा जेवल्स खोलेपछि उनको व्यसायिकता शुरु भएको हो । उनी अधिकांश आफ्ना गहनाका डिजाइन इन्ष्टाग्रामबाटै सार्वजनिक गर्छिन् । आफ्नो व्यवसायको थप विस्तारपछि एकल आमाहरुलाई रोजगारी दिने अर्पणाको योजना छ ।
अर्पणाको अर्को विशेषता के छ भने उनी आफ्ना गहनाको मोडलिङ आफैं गर्छिन् । योसँगै आफू प्रभावित भएका विषयका तस्वीर पनि इन्स्टाग्राममा राख्छिन् । अर्पणाका गहनाका अधिकांश ग्राहक अमेरिकी नै हुन् । तर, अब यूरोप, अष्ट्रेलिया र जापानमा पनि उनका सृजनाको विस्तार हुँदैछ ।
एक्कासी चुलिएको ख्यातीलाई राम्ररी तौलेकी अर्पणा आफ्नो पैतलाले जमिन नछाडेको बताउँछिन् । “जीवनमा सँधैका लागि भन्ने केही छैन”, दार्शनिक भावमा उनी भन्छिन्, “मेरो कामलाई ब्यापक अर्थ दिंदै यसले मानिसहरुलाई व्यक्तिगत रुपमा प्रभाव पारोस भन्ने चाहन्छु ।”