प्रोपगन्डाको औपचारिक शुरूआत
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का प्रचार विभाग प्रमुख लिऊ छिपाओको भ्रमणले नेपालमा चिनियाँ 'प्रोपगन्डा' को औपचारिक आधार निर्माण गरेको छ।
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का पोलिटब्यूरो सदस्य तथा प्रचार विभाग प्रमुख लिऊ छिपाओको नेपाल भ्रमण (३–६ पुस) चिनियाँ सफ्टपावर (सांस्कृतिक र बौद्धिक) को औपचारिक आधार निर्माणमा केन्द्रित थियो।
भ्रमण अवधिमा नेपाली गैर–सरकारी संस्थाहरूसँग चिनियाँ विदेश विभागको पुस्तक केन्द्र खोल्ने र सञ्चार क्षेत्रमा सहयोग आदानप्रदान गर्ने सम्बन्धी समझदारी भएबाट त्यस्तो अर्थ लाग्छ।
चीनका २५ शक्तिशाली राजनीतिज्ञमध्येका प्रभावशाली नेता लिऊ ३२ सदस्यीय टोलीको नेतृत्व गर्दै चार्टर विमानबाट काठमाडौं ओर्लिएका थिए।
उनले त्यही दिन राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटे भने भोलिपल्ट ४ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासँग भेटवार्ता गरे।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी ओलीसँगको निर्धारित भेटवार्ता भने अन्तिम समयमा रद्द गरे। हुन त, ओलीसँग लिऊको भेट ३ गते राष्ट्रपति कार्यालयमा भएकै थियो।
नयाँ माध्यम गैसस
लिऊले काठमाडौं टेक्नु अगाडिदेखि नै चिनियाँ 'सफ्टपावर' विस्तारको आधार निर्माणका लागि प्रक्रिया आरम्भ भइसकेको थियो। चीन अध्ययन केन्द्र र चिनियाँ विदेशी भाषा तथा वितरण विभागबीच २ पुसमा काठमाडौमा चिनियाँ पुस्तक केन्द्र स्थापना गर्न समझ्दारी पत्रमा हस्ताक्षर भएको थियो।
अध्ययन केन्द्रले अनुवाद गरेको पुस्तक 'दि गभर्नेन्स अफ चाइना' प्रचार विभाग प्रमुख लिऊको उपस्थितिमा राष्ट्रपति भण्डारीबाट विमोचन गरिएको थियो। पुस्तकले चिनियाँ राष्ट्रपति सी जिनपिङको शासकीय दृष्टिकोण बुझन सहयोग गर्छ।
सञ्चार–बौद्धिक आदानप्रदानका लागि नेपाली र चिनियाँ प्रकाशन गृहहरूबीच समझ्दारी पत्रमा हस्ताक्षर समारोह भने उपप्रधानमन्त्री महरा र लिऊको उपस्थितिमा भएका थिए। त्यसमध्ये नेपाल–चीन मिडिया फोरम र युनान युनिभर्सिटी प्रेसबीचको समझ्दारी महत्वपूर्ण छ।
युनान विश्वविद्यालय मातहतको युनिभर्सिटी प्रेसले दक्षिण–पूर्वी एशियामा चिनियाँ भाषा–संस्कृतिको विस्तारको लागि चिनियाँ सञ्चार मन्त्रालयबाट राशी प्राप्त गर्छ।
युनिभर्सिटी प्रेसले म्यानमार, कम्बोडिया, बाङ्लादेश, लाओस् र भियतनाममा सञ्चार र बौद्धिक क्षेत्रको काम गरिरहेको छ। विश्व मञ्चमा प्रभावशाली बन्न लालायित चीन आर्थिक मात्र नभई सांस्कृतिक क्षेत्रमा पनि प्रभाव विस्तार गर्न तल्लीन रहेको यसले देखाउँछ।
चिनियाँहरू पोलिटब्यूरो सदस्य लिऊले नेतृत्व गरेको प्रचार विभागलाई 'प्रोपगन्डा मेसिन' को रूपमा हेर्छन्। मनोविज्ञान परिवर्तनको अचूक हतियार हो– 'प्रोपगन्डा'।
चीनले नेपालमा पनि लिऊको भ्रमणमार्फत 'प्रोपगन्डा' को औपचारिक थालनी गरेको छ। नेपालका गैर–सरकारी संस्थाहरूलाई यसको माध्यम बनाइएको छ।
सरकारी संस्थाहरूमार्फत काम गर्न रुचाउने चीनले नेपालमा गैर–सरकारी संस्थाहरू छान्नुको अर्थ भने स्पष्ट भइसकेको छैन। नेपालमा सरकारी संस्थाहरूमार्फत चीनको काम प्रभावकारी हुन सक्दैन भन्ने निष्कर्षबाट यसो गरिएको अनुमान लगाउन सकिन्छ।
'वान बेल्ट, वान रोड' परियोजनाको उद्देश्य पुरानो रेसममार्ग र सामुद्रिक मार्गको पुनः सञ्चालन मात्र होइन, परियोजना प्रभावित हुने ६८ राष्ट्रका जनतासँग सांस्कृतिक सम्पर्क, कनेक्टिभिटी र विकास विस्तार गर्नु पनि हो।
यही उद्देश्यका लागि चीनले नेपालमा आफ्नो 'सफ्टपावर' विस्तारको लागि औपचारिक आधार निर्माण गरेको छ। अब चिनियाँ सांस्कृतिक शक्ति विस्तारको काम व्यापक रूपमा हुने सम्भावना देखिन्छ।
माओसँग पहिले नै परिचित नेपालका गाउँगाउँमा अब चिनियाँ समृद्धिका कथाहरू पुग्न सक्छन्। त्यसमार्फत चिनियाँ वस्तुहरूप्रतिको दृष्टिकोणमा पनि परिवर्तन आउनेछ। नेपालमा अहिले चिनियाँ सामान सस्तो र गुणस्तरहीन हुन्छ भन्ने आम धारणा छ।
नेपाल मामिलामा बेइजिङ र नयाँदिल्लीबीच मतभिन्नता छ भन्ने कुरा चिनियाँ सरकारी अखबार 'ग्लोबल टाइम्स' मार्फत व्यक्त पछिल्लो शृंखलाबद्ध विचारहरूबाट स्पष्ट हुन्छ। त्यसमध्येको एक लेखमा भनिएको छ– 'नेपाल भारतको बगैंचा होइन।'
के बुझिन्छ भने, बेइजिङ नेपालमा चिनियाँ सांस्कृतिक प्रवर्द्धनमार्फत भारतीय प्रभावसँग टकराव चाहन्छ। भारतले जस्तै चीनले पनि ठूलो संख्यामा नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न थालेको छ।
प्राविधिक विषयमा मात्र नेपाली विद्यार्थी चीन पढ्न जाने गरेकोमा केही वर्षयता राजनीतिशास्त्र, अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति, अन्तर्राष्ट्रिय कानूनलगायतका विषयमा पनि छात्रवृत्ति पाउन थालेका छन्। नेपाली अखबारहरूमा पनि चिनियाँ कूटनीतिक सफलताबारे बाक्लै चर्चा हुन थालेको छ।
यी सबै चिनियाँ 'सफ्टपावर' को प्रभाव हुन्, जसलाई सीपीसीको प्रचार विभाग प्रमुख लिऊको भ्रमणले व्यापक बनाउनेछ।