पनौती विश्व सम्पदामा सूचीकृत हुने
ऐतिहासिक, धार्मिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदा सूचीमा सूचीकृत हुने भएको छ ।
युनेस्कोद्वारा प्रस्तावित पनौतीलाई विश्व सम्पदामा सूचीकृत गर्ने काम तीव्र गतिमा अघि बढिरहेको समेत नगरपालिकाले जनाएको छ ।
पनौती नगरलाई विश्व सम्पदामा सूचीकृत गर्ने कार्य अघि बढाइएपछि युनेस्कोका नेपाल प्रतिनिधि क्रिष्टियन मनहर्टले हालै पनौतीका ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाको अवलोकन गर्दै पनौती नगर विश्वसम्पदामा सूचीकृत हुन सक्ने बताएका थिए ।
यहाँका मठमन्दिर तथा पुराना नेपाली मौलिकता बोकेका घरलाई विश्व सम्पदामा सूचीकृत गर्न तयार भएको मनहर्टले जानकारी दिएकाे नगरप्रमुख भीम न्यौपानेले बताए । उनले भने, “हामी सूचीकृत हुने तयारीमा छौँ, चालू आर्थिक वर्षमा यसका लागि बजेटसमेत विनियोजन गरेका छौँ ।”
नगरले चालू आवमा विश्व सम्पदामा सूचीकृत गराउन रु एक करोड बजेट छुट्याएको छ ।
“पनौतीलाई अझ सम्पदाजन्य बनाउन अहिले आएको गुरुयोजनाअनुसार तत्काल काम सुरु हुनेछ । यहाँका पाटीपौवा, सत्तल, मन्दिर र घरहरुलाई परम्परागत शैलीमा समृद्ध बनाइनेछ” प्रमुख न्यौपानेले भने ।
सूचीकृतको यस प्रक्रियामा आफूद्वारा पुनःनिर्माण गर्ने ७२ वटा मौलिक नेपाली घरको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)समेत स्थानीय आरपी फाउण्डेशनले नगरलाई हस्तान्तरण गरिसकेको छ ।
“यहाँ विकासका नाममा नचाहिँदो होड र प्रतिष्पर्धा देखिएको छैन, जिर्णोद्धार र पुनःनिर्माण पनि सम्पदाको माया गरेरै अघि बढेको अवस्थामा छ” फाउण्डेसनका संस्थापक सम्पदाविद् रविन्द्र पुरीले भने, “पनौतीलाई जोगाउन र चिनाउन त्यति धेरै मिहिनेत गर्नुपर्दैन भन्ने लागेको छ ।”
१२ वर्षे कुम्भ मकर मेला (आउँदो २०७८ साल) अगावै विश्व सम्पदामा सूचीकृत भइसक्ने नगरप्रमुख न्यौपानेले बताए ।
पनौतीलाई सरकारले प्राचीन स्मारक संरक्षण ऐन २०३१ अनुसार २०५८ सालमा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ । युनेस्कोको नेपालस्थित निकायले २०५२ सालमै पनौतीलाई मध्यकालीन वास्तुकला क्षेत्र जनाउँदै विश्व सम्पदामा सूचीकृत गर्न प्रस्ताव गरेको थियो ।