जापानमा नेपालको झल्को
टोकियोको मध्यभागमा पर्ने सिनजुकुको नेपाली मुरा मा नेपालका उत्पादन र हिन्दू संस्कारका लागि चाहिने सामग्री मात्र पाइन्छ, त्यहाँको रेस्टुरेन्ट सोलमारी मा पनि नेपाली परिकार मात्र बनाइन्छ।
जापानको राजधानी टोकियोको मध्यभागमा पर्ने सिनजुकुको रेस्टुरेन्टलाई नेपाली संस्कृतिको झल्को दिने गरी सजाइएको छ । त्यहाँ नेपाली खानाका पारखीको भीड नै लाग्छ । रेस्टुरेन्टमा गुन्द्रुकदेखि हिङ, टिमुरसहितको नेपाली परिकार पाइन्छ । रेस्टुरेन्टको नाम नै छ, सोलमारी ।
त्यही ठाउँमा राखिएको नेपाली पुस्तकहरूको पसलमा पुरानादेखि नयाँ लेखकसम्मका पुस्तक पाइन्छन् । नेपाली सांस्कृतिक पोशाक, पूजा सामग्री, नेपाली काष्ठकला, हस्तकलाका पसल पनि छन् । हिन्दू संस्कार अनुसार जन्मदेखि मृत्युसम्म चाहिने सामग्री खोज्न टोकियोका नेपाली त्यहीं पुग्छन् ।
एक दशकअघि पढ्नका लागि जापान पुगेका पुष्करजङ्ग थापा (३७) ले टोकियोमा नेपालको झल्को दिने व्यवसाय शुरु गरेका हुन् । जापानमा भारतीयका पसलले राम्रै व्यापार गरिरहेको देखेपछि उनले पनि नेपाल चिनाउने काम गर्ने प्रेरणा पाएका थिए । नेपालीकै रेस्टुरेन्टमा नेपाली खाना भन्दै भारतीय परिकार खुवाएपछि उनले पहिला नेपाली रेस्टुरेन्ट खोले ।
टोकियोका नेपालीलाई भेटघाट र रमाइलो गर्ने थलो बनेको छ, सोलमारी रेस्टुरेन्ट । कार्यक्रम गर्नका लागि सोलमारी रेस्टुरेन्टमा ‘मुरा हल’ पनि छ । “नेपालबाट आउने अधिकांश सांस्कृतिक कार्यक्रम, छलफल, अन्तरक्रिया हाम्रै रेस्टुरेन्टमा हुन्छ”, थापाले भने ।
रेस्टुरेन्टपछि उनलाई नेपाल चिनाउने ‘स्टल’ राख्ने सोच आयो । विदेशमा समेत नेपालीपन र अपनत्व जोगाउन आफूले नयाँ अवधारणामा काम गरेको उनको भनाइ छ । त्यसका लागि उनले नेपाली सामग्रीको व्यवसाय थाले जहाँ नेपालमै उत्पादन गरिएका सामग्री मात्र पाइन्छ । नेपाली सामान खोज्ने जो–कोही उनको शपिङ मल नेपाली मुरा पुग्छन् ।
“काम शुरु गर्नुअघि मनमा डर नलागेको होइन तर, हिम्मतका साथ जग्गा भाडामा लिएर काम शुरु गरें” उनी भन्छन्, “अहिले रेस्टुरेन्टको नेपाली स्वादमा जापानीहरु पनि आकर्षित भएका छन्, अन्य सामग्री खोज्न आउने नेपाली पनि बढेका छन् ।” कतिपय जापानीहरु नेपाल आउनुअघि जानकारी लिन र नेपाली परिकार चाख्न त्यहाँ पुग्ने गरेका छन् । नेपाली चाडपर्वमा विभिन्न सांस्कृतिक तथा स्थानीय पोशाक, पूजा सामग्री र अन्य नेपाली वस्तुहरूको माग बढ्छ ।
थापाले जापानमा नेपाली मुराका अरु तीन वटा शाखा खोलेका छन् । त्यहाँ काम गर्ने सबै कामदार नेपाली छन् । थापाले अन्य साथीसँग मिलेर जापानमा नेपाली पाठ्यक्रमसहितको नेपाली विद्यालय समेत खोलेका छन् । सन् २०१३ मा स्थापना गरिएको एभरेष्ट इन्टरनेशनल स्कूलमा २५० विद्यार्थी अध्ययन गर्छन् । टोकियोको ओगीकुबोस्थित एभरेष्ट इन्टरनेशनल स्कूलमा नर्सरीदेखि ९ कक्षासम्म पढाइ हुन्छ ।