'नेपालमा ओएससी सञ्चालन गर्न मलेशियाका पूर्व आन्तरिक मामिला मन्त्रीलाई घूस'
मलेशियाको प्रोफाउन्ड रेडियन्स एसडीएन बीएचडीका निर्देशक अजलान साह जफ्रिलले मलेशियाका पूर्व उपप्रधान तथा आन्तरिक मामिलामन्त्री अहमद जाहिद हमिदिलाई २० लाख मलेशियन रिंगिट घूस दिएको बताएका छन् ।
बुधबार क्वालालम्पुरस्थित उच्च अदालतमा उपस्थित भएर बयान दिने क्रममा प्रोफाउन्डका निर्देशक जफ्रिलले हमिदिलाई घूस दिएको बताएका हुन्।
उनले नेपाल र पाकिस्तानमा मलेशिया जाने कामदारबाट राहदानी संकलन गरी मलेशियाली दूतावासमा पठाउने कामका लागि वन स्टप सेन्टर (ओएससी) नामको प्रणाली सञ्चालन गर्ने गरी ठेक्का पाउन पूर्व आन्तरिक मामिलामन्त्री हमिदिलाई घूस दिनुपरेको बयानका क्रममा बताएका छन्।
क्वालालम्पुरस्थित उच्च अदालतले नेपाली कामदारको भिसा प्रक्रिया लगायतको विषयमा भ्रष्टाचारको मुद्दा खेपिरहेका मलेशियाका पूर्व उपप्रधान तथा आन्तरिक मामिला मन्त्री अहमद जाहिद हमिदिको मुद्दामाथि दुई मंसीर २०७६ देखि बहस शुरु गरेको थियो ।
त्यसै क्रममा अदालतले बुधबारदेखि हमिदिले घूस लिएको आरोप लागेका मुद्दामाथि साक्षी बोलाएर बयान लिने काम शुरु गरेको छ ।
मलेशियाको भ्रष्टाचार विरुद्धको आयोगले पहिलो पटक २०७५, कात्तिकमा हमिदिलाई आन्तरिक मामिला मन्त्री हुँदा ११ करोड ४१ लाख ४६ हजार ७५१ मलेशियन रिंगिट बराबरको रकम अवैध रूपमा आर्जन गरेको आरोपमा पक्राउ गरेर उच्च अदालतमा मुद्दा दायर गरेको थियो ।
आयोगले कालो धन वैध बनाएका २७, विश्वास उल्लंघनको अपराध गरेका १० र घूस लिएका ८ वटा गरी ४५ वटा अभियोगमा उनीविरुद्ध उच्च अदालतमा मुद्दा दर्ता गरेको थियो ।
आयोगले उनीमाथि प्रोफान्ड कम्पनीबाट घूस लिएको आरोपसहितको मुद्दा पनि अदालतमा दायर गरेको थियो । हमिदिले प्रोफाउन्डसहित अन्य दुई कम्पनीबाट कुल २ करोड १२ लाख ५० हजार मलेशियन रिंगिट घूस लिएको आरोप छ ।
हमिदिको घूस प्रकरणमा नेपाल सम्बन्ध
नेपालमा १ वैशाख, २०७३ सालदेखि मलेशियामा जाने कामदारको राहदानी संकलन गरी काठमाडौंस्थित मलेशियाली दूतावासमा पठाउने ओएससी प्रणाली सञ्चालनमा छ ।
मलेशिया भीएलएन नेपाल प्रालीमार्फत ओएससी प्रणाली नेपालमा लागू भएको हो ।
उक्त नेपाली कम्पनीले मलेशिया जाने कामदारका राहदानी जम्मा गर्ने र मलेशियाली दूतावास पठाउने काम गर्दै आएको छ । यो प्रणाली लागू भएपछि जेठ २०७५ सम्ममा मलेशिया भीएलएन नेपाल कम्पनीले मलेशिया पुगेका दुई लाख सात हजार ४१४ जना कामदारबाट रु. ३ हजार २०० (मूल्य अभिवृद्धि कर बाहेक) का दरले रु. ६६ करोड ३७ लाख उठाएको थियो ।
दुई मंसीर २०७५ मा पक्राउ परेका भीएलएनका सञ्चालक राम श्रेष्ठले ओएससी गर्दाको रु. ६६ करोड ३७ लाख मलेशियाको प्रोफाउन्ड कम्पनीलाई पठाएको प्रहरी समक्ष बयान दिएका थिए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दुई मंसीरमा मलेशिया जाने कामदारबाट विभिन्न अवैध प्रणाली खडा गरेर झण्डै रु. ५ अर्ब लुटिएको निष्कर्ष निकालेको थियो ।
त्यस क्रममा तत्कालीन श्रममन्त्री गोकर्ण विष्टले ठगी विरुद्धको कारवाही अघि बढाएका थिए ।
श्रमको निष्कर्षपछि गृह मन्त्रालयले कामदारबाट गैरकानुनी रूपमा रकम उठाएर लुट्ने काममा संलग्न भएको अभियोगमा भीएलएनका सञ्चालक श्रेष्ठसहित ४४ जनालाई पक्रेर अदालतमा मुद्दा चलाएको थियो ।
हिमाल, खोजपत्रकारिता केन्द्र र मलेशियाकिनीले गरेको संयुक्त खोजले मलेशिया जाने गरीब नेपाली कामदारबाट निजी संस्था र सरकारी निकायहरूको संलग्नता र मिलेमतोमा रु.५ अर्ब लुटेको खुलासा गरेको थियो ।
समाचार मार्फत ओएससी प्रणाली सञ्चालन गरेको मलेशिया भीएलएन नेपालले कामदारबाट गैरकानूनी रूपमा उठाएको रकमलाई अवैध रूपमा मलेशिया पुर्याएको खुलासा गरिएको थियो ।
उक्त समाचार मलेशियाका मलेशियाकिनी, द डेली स्टार, द स्ट्रेट टाइम्स, द सन डेली, मले मेल, न्यू मलेशिया टाइम्स लगायतका सञ्चारमाध्यमले समेत प्रकाशन गरे ।
समाचारमा आएको विषयलाई लिएर मलेशियाका मानव संसाधन मन्त्री एम. कुलासेगरनले त्यहाँको संसदलाई जानकारी गराएका थिए ।
यससँगै मलेशियाको आन्तरिक मामिला मन्त्रालय र मलेशियाको भ्रष्टाचार विरुद्धको आयोगले ठगीमा संलग्न भनिएका विभिन्न कम्पनी र सरकारी अधिकारीमाथि अनुसन्धान गरिरहेको जानकारी गराएका थिए ।
यसकारण हटाइए गोकर्ण विष्ट
मलेशियाका पूर्वउपप्रधानमन्त्री माथिको बहस शुरु
भीएलएन प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा मलेशियाका पूर्व उपप्रधानमन्त्री हमिदि पक्राउ
कामदारमाथि लुट: मलेशिया–काठमाडौं नेक्सस पुष्टि
राज्य संयन्त्रकै मिलेमतोमा लुटियो गरीब नेपालीको ५ अर्ब