ताकाशी मियाहाराः जसको हृदयमा नेपाल थियो
जीवनकालमै नेपालको गलत राजनीतिक संस्कार परिवर्तन गर्ने ताकाशी मियाहाराको प्रयास अधुरै रह्यो तर उनले सबैलाई नयाँ नेपालको भविष्य निर्माणमा उत्प्रेरित गरिरहे ।
जापानी मूलका नेपाली ताकाशी मियाहाराको गत २४ नोभेम्बरमा ८५ वर्षको उमेरमा निधन भयो । पहिलो पटक सन् १९६२ मा नेपाल आएका मियाहाराले नेपालमा प्रशस्तै संभावना देखे । होटल, ट्रेकिङलगायतका क्षेत्रहरूमा लगानी गरे । नेपाली महिलासँग विवाह गरे, नेपाली नागरिक बने।
नेपालका राजनीतिक नेतृत्वले देश बर्बाद गरिरहेको लागेपछि मियाहाराले सन् २००८ मा नेपाल राष्ट्रिय विकास पार्टी स्थापना गर्दै चुनाव पनि लडे ।
चुनावमा पराजय भोगे तर कहिल्यै आश मारेनन् । उनीसँग सधैं नयाँ–नयाँ योजना हुन्थे ।
मियाहाराको कार्यकक्षमा नेपालको ठूलो नक्शा राखिएको थियो । त्यस नक्शा मार्फत देशको पूर्वाधार विकास गर्ने खाका प्रस्तुत गरिएको छ । पूर्व–पश्चिम इलेक्ट्रिक रेल्वे लाइनलाई सुरुङ छेडेर बनाइएको उत्तर–दक्षिण सडकमार्गसँग जोडिएको छ ।
यसैगरी पहाडका थाप्लामा रहेका पर्यटकीय गन्तव्यहरूलाई केबुलकारले जोडिएको छ । उनी काठमाडौं उपत्यकामा रहेको दबाब कम गर्न नेपालको राजधानी चितवन स्थानान्तरण गर्न चाहन्थे ।
उनीसँग जलविद्युत्, पर्यटनको विकास र पानी आपूर्ति गर्न राम्रा गुरुयोजना थिए । उनको भनाइमा, पूर्ण रूपमा कार्यान्वयन गर्न सकिने यी योजनाहरू नेपाल राष्ट्रिय विकास पार्टीको घोषणापत्रमा उल्लेख छ ।
हँसिला मियाहाराले आफ्नो जीवनकालमा नेपालका ७७ वटै जिल्लाको पदयात्रा गरेका थिए । धेरै नेपालीले भन्दा राम्रोसँग उनले नेपाल चिने ।
नेपालका चुनौती पर्गेल्न नसकिने खालका थिएनन् भन्ने महसूस गरे । उनलाई बूढा\पुराना राजनीतिज्ञहरूले युवापुस्तालाई बाटो छाडिदिनुपर्छ भन्ने लाग्दथ्यो । आफ्नो राजनीतिक दल मार्फत युवा पुस्ताका राजनीतिज्ञहरूलाई सल्लाह दिने कोसिस निरन्तर गरिरहे ।
मियाहाराको कार्यकक्षमा नेपालको ठूलो नक्शा राखिएको थियो । त्यस नक्शा मार्फत देशको पूर्वाधार विकास गर्ने खाका प्रस्तुत गरिएको छ । पूर्व–पश्चिम इलेक्ट्रिक रेल्वे लाइनलाई सुरुङ छेडेर बनाइएको उत्तर–दक्षिण सडकमार्गसँग जोडिएको छ ।
मियाहाराले ‘ट्रान्स हिमालयन टुर्स’ स्थापना गरे । त्यस्तै सन् १९७५ मा ३,८८० मिटर उँचाइमा सोलुखुम्बुको स्याङबोचेमा होटल ‘एभरेस्ट भ्यू’ निर्माण गरे । होटल बनाउन र पछिसम्म पनि काम लाग्छ भनेर स्याङबोचेमा एउटा सानो विमानस्थल नै बनाए ।
ललितपुरको हिमालय होटल उनैले स्थापना गरेका हुन् । उनले सन् १९७० कै दशकमा १००० भन्दा बढी जापानी पर्यटक नेपाल भित्र्याइरहेका थिए । जीवनको उत्तरार्धमा उनी आफ्नो ‘ड्रिम प्रोजेक्ट’ कास्की, सराङकोटस्थित अन्नपूर्ण भ्यू होटलमा काम गरिरहेका थिए ।
मियाहारालाई सधैं पर्यटन नै नेपालको विकासको ‘चाबी’ हो भन्ने लाग्दथ्यो । उनले एकपटक भनेका थिए “पर्यटनले राष्ट्रिय आम्दानी बढाउने मात्र होइन, नेपाललाई आत्मनिर्भर बन्न पनि सहयोग पुर्याउँछ । अर्थात्, नेपालका प्राकृतिक स्रोतहरू जस्तै नदी र वनजङ्गल उपयोग गर्नु र तिनलाई पर्यटकीय उद्देश्य पूरा गर्न जलविद्युत् उत्पादन र यातायातका माध्यमबाट तिनको संभावना दोहोर्याउनु हो ।”
मियाहाराले ठूला–ठूला सपना देखे । उनले उदासीन नेपाली अधिकारीहरूलाई पर्यटन प्रवर्द्धन, पूर्वाधार विकास, ऊर्जा र प्रकृति संरक्षणका बारेमा प्रोत्साहित गरिरहे । उनले प्रशस्तै बेथितिहरू भेटे तर उनी आफू भने कहिल्यै निरुत्साहित भएनन् ।
मियाहाराले सन् २०१५ मा नेपाली टाइम्ससँगको अन्तर्वार्तामा “नागरिकलाई केले गर्दा राजनीतिक सफलता प्राप्त हुन नसकेको हो भन्ने थाहा हुनुपर्छ; कर्मचारीतन्त्रले निर्णय गर्दैन र जिम्मेवारी पन्छाइरहन्छ; त्यहाँ लोभ छ र समाजमा नैतिकता खस्कँदै गएको छ” भनेका थिए ।
मियाहाराको शवलाई बुधबार स्याङबोचेमा अत्येष्टि गरिनेछ । “मेरा बुबा सगरमाथा नजिकै अत्येष्टि गरियोस् भन्ने चाहनुहुन्थ्यो । उहाँको हृदय बस्ने ठाउँ हिमाल नै हो”, छोरी सोनिया मियाहाराले भनिन् ।
नेपालको राजनीतिक संस्कृति परिवर्तन गर्न ताकाशी मियाहाराको प्रयास अधुरो रह्यो तर यहाँका धेरै युवालाई उनले नयाँ नेपालको भविष्य निर्माण गर्न प्रेरित गरिरहे ।