प्रदेशको राजधानी र नाममै अड्केर बस्ने समय छैन: अध्यक्ष दाहाल
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले प्रदेश नं– ३ को राजधानी र नामाङ्कनको विषय छिटो टुङ्ग्याउन मुख्यमन्त्री डोरमणि पौडेललाई आग्रह गरेका छन्।
सधैं यही विषयमा अड्केर बस्ने समय नरहेको भन्दै अध्यक्ष दाहालले राजधानी र नामको विषय सकेर विकास निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्। वर्तमान सरकारलाई विकास निर्माण गरेर आमूल परिवर्तन गर्ने अवसरसँगै सबै संरचना नयाँ बनाउँदा आएका जटिलताका विषयमा चुनौती पनि रहेको अध्यक्ष दाहालको भनाइ छ।
अध्यक्ष दाहालले कतिपय कानून बनिसकेको र कतिपय बन्न बाँकी रहेकाले अब विकास निर्माणले छलाङ मार्ने बताउँदै नेपालको विकासको गति सन्तोषजनक रहेको अन्तर्राष्ट्रिय एजेन्सीले बताइरहेको समेत बताए।
पार्टीको नयाँ निर्णय अनुसार अब आफूले अलि बढी पार्टी र सङ्गठनमा जोडबल दिने बताउँदै उनले आसन्न उपनिर्वाचनमा नेकपाप्रति जनता उत्साहित रहेको उल्लेख गरे।