'पुरुष र महिला कलाकारको पारिश्रमिक किन असमान ?'
बलिउड अभिनेत्री तापसी पन्नूले फिल्म उद्योगमा पुरुष र महिला कलाकारले समान पारिश्रमिकका लागि अझै लामो बाटो तय गर्नुपर्ने टिप्पणी गरेकी छन्।
भारतको गोवामा जारी इन्टरनेशनल फिल्म फेस्टिभल अफ इन्डिया (आईएफएफआई) को ५०औं संस्करणको एक सत्रमा तापसीले यस्तो बताएकी हुन्। उनले बलिउडमा अभिनेत्रीहरुलाई फिल्मका प्रमुख अभिनेताले पाउने पारिश्रमिकको आधा पनि नदिइने बताइन्।
उनले भनिन्, "कुनै वेला त महिला कलाकारले पाउने पारिश्रमिक रकम पुरुषको तुलनामा एक चौथाइ पनि हुँदैन। प्रमुख अभिनेताको पारिश्रमिक चल्तापूर्जा अभिनेत्रीहरुको महिलाप्रधान फिल्मको पूरै बजेट बराबर हुन्छ।"
यद्यपि तापसीले यो स्थितिमा सुधार आउने अपेक्षा समेत व्यक्ति गरिन्। बक्स अफिसमा महिलाप्रधान फिल्मले राम्रो व्यापार गरेमा महिला कलाकारले पाउने पारिश्रमिकमा परिवर्तन आउने उनको भनाइ छ।
उनले भनिन्, "मलाई आशा छ, मेरो जीवनकालमै परिवर्तन देख्न पाइनेछ। यस्तो परिवर्तन तब मात्र हुन्छ, जब मानिसहरु महिलाप्रधान फिल्म हेर्न हलमा जानेछन्।"
तेलुगु र तमिल भाषाको फिल्मबाट अभिनय क्षेत्रमा प्रवेश गरेकी तापसीले 'पिङ्क' (२०१६), 'नाम शवाना' (२०१७), 'मुल्क' (२०१८), 'बदला' (२०१९) लगायत फिल्मबाट तारिफ बटुलेकी छन्। - एजेन्सी