‘उपचार गर्न राज्य छ’ भन्ने अनुभूति दिन्छुः स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले ‘उपचारका अभावमा नागरिकले मृत्युवरण गर्न नपरोस्’ भन्ने पक्षलाई ध्यान दिइ ‘राज्य छ, मेरो उपचार हुन्छ’ भन्ने अनुभूति दिलाइने बताएका छन् ।
“पैसा नभएका कारण उपचार हुनबाट नागरिक वञ्चित हुनु पर्दैन । राज्यले नागरिकको उपचारको जिम्मा लिन्छ । ‘उपचार गर्न राज्य छ’ भन्ने अनुभूति नागरिकलाई दिन्छु, मेरो पहिलो ध्यान यसैमा रहन्छ”, मन्त्री ढकालले भने ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कार्यभार सम्हालेपछिको पहिलो औपचारिक कार्यक्रममा सम्बोधन गर्दै मन्त्री ढकालले स्वस्थ्य नागरिक भएमात्र समृद्ध नेपाल बन्ने बताए ।
बालस्वास्थ्य तथा खोप सेवा शाखाले गरेको दादुरा रुवेला खोप अभियान सञ्चालन तथा नियमित खोप सुदृढीकरण पूर्वतयारी बैठकमा मन्त्री ढकालले स्वास्थ्य क्षेत्रमा विधि र थिति बसाली सम्मानित र व्यवस्थित बनाउने प्रतिबद्धता जनाए ।
मन्त्री ढकालले भने, “समग्र मन्त्रालयका बारेमा ब्रिफिङ लिँदैछु । यो सकिएपछि केही नयाँ कामको शुरुआत गर्छु । नीति तथा कार्यक्रम र बजेटमा भएका कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनमा लान मेरो जोड रहन्छ ।”