पोखराको समग्र विकासका लागि सारथी बन्छु: विद्या भट्टराई
कास्की निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन मिति नजिकिँदै गर्दा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले मतदातालाई भेट्ने घरदैलो कार्यक्रम गरिरहेको छ।
१४ मङ्सीरमा हुने निर्वाचनका लागि पोखरा महानगरका ११ वटै वडाका टोलटोलमा गठित निर्वाचन परिचालन कमिटीले चुनाव लक्षित कार्यक्रम अन्तर्गत महिला र्याली, युवा मार्चपास, अन्तरक्रिया, घरदैलो, तथा कोणसभा आयोजना गर्दै आएको छ।
नेकपाका उम्मेदवार विद्या भट्टराईलाई विजयी तुल्याउन ११ वटै वडामा खटाइएको चुनावी कमाण्डरसहित केन्द्रीय, प्रदेश, स्थानीयस्तरका नेता तथा कार्यकर्ता परिचालित भइरहेको पार्टी जिल्ला अध्यक्ष एवं निर्वाचन परिचालन कमिटी संयोजक कृष्ण थापाले बताए।
पोखरा–१६ मा घरदैलो कार्यक्रमपछि आयोजित कोणसभामा नेकपा कास्की २ की उम्मेदवार भट्टराईले विपक्षीले आफू र आफ्नो दलमाथि लगाएका आरोपको जवाफ जनमतले दिने बताइन्।
अर्मला क्षेत्रमा प्रतिपक्षी नेपाली कांग्रेसले फैलाएका भ्रममा जनताले विश्वास नगर्ने बताउँदै उनले भनिन्, "विश्वासले संसार जितिन्छ जोसुकैले जस्तोसुकै अफवाह फैलाए पनि जनता जनार्दन हुन्, आफैँ सत्य छुट्याउन सक्षम छन्।"
सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानका अभियानकर्मी स्व. रवीन्द्र अधिकारीले शुरु गरेका अधुरा सपना पूरा गर्ने जिम्मेवारीसहित पार्टीले आफूलाई उम्मेदवार बनाएको बताउँदै उनले पोखराको समग्र विकासका लागि सारथी बन्ने प्रतिबद्धता समेत व्यक्त गरिन्।