सरकार सञ्चालनबारे कर्णालीका मुख्यमन्त्रीले बटुले सुझाव
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जिल्ला प्रमुखहरुबाट सुझाव सङ्कलन गरेका छन्।
कर्णाली प्रदेश अन्तर्गत नेकपाका १० वटै जिल्लाका जिल्ला इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवहरुबाट उनले सुझाव लिएका हुन्।
मुख्यमन्त्री शाहीले प्रदेश सरकार सञ्चालनका क्रममा देखापरेका समस्या र प्रभावकारी सञ्चालनका सन्दर्भमा प्रदेश राजधानी सुर्खेतमा दुई दिनसम्म अन्तर्क्रिया गरेका थिए। अन्तर्क्रियाका क्रममा उनले सरकारको सफलताका लागि पार्टी र सरकारबीच समन्वय तथा सहयोग आदानप्रदानलाई प्रभावकारी बनाउनुपर्ने धारणा राखेका थिए।
पार्टी एकतापछि पहिलो पटक भएको सो अन्तर्क्रिया कार्यक्रमको पहिलो दिन जिल्ला अध्यक्ष तथा सचिवले सुझाव दिएका थिए। दोस्रो दिन जिल्ला इञ्चार्ज तथा सह-इञ्चार्जले सरकारले सम्बोधन गर्नुपर्ने विषय, सरकार सञ्चालनका क्रममा देखापरेका समस्या र समाधानका विषयमा सुझाव दिएका थिए।
रुकुम पश्चिमका इञ्चार्ज राजकुमार शर्माले पार्टी र सरकार दुवैले जनदिशा भुल्न नहुने, टोली समूहमा काम गर्नुपर्ने, सरकार सञ्चालनमा कुशलता देखाउनुपर्ने लगायत सुझाव दिइएको बताए।
यस्तै, नेकपा सुर्खेतका सचिव कृष्ण जिसीले नेकपाको नेतृत्वमा गठित सरकार असफल हुँदा समग्र कम्युनिष्ट आन्दोलनप्रति नै जनताको वितृष्णा बढ्ने भन्दै मुख्यमन्त्री शाहीले गरेको अन्तर्क्रिया पार्टी र सरकार दुवैलाई मद्दत पुग्नुका साथै जनतामा राम्रो सन्देश जाने बताए।