सीमा अतिक्रमणको विरोधमा सांस्कृतिक अभियान
‘सीमा बचाऔँ संयुक्त सांस्कृतिक अभियान, नेपाल’ले हालै भारत सरकारले प्रकाशन गरेको नक्शामा नेपालको भू–भाग राखेकामा त्यसलाई अविलम्ब सच्याउन माग गरेको छ ।
अभियानले आइतबार पत्रकार सम्मेलन गरी मुलुकको अखण्डता र राष्ट्रिय स्वाधीनताका विषयमा सबै कलाकार एकताबद्ध रहेको जनाएको छ ।
अभियानका संयोजक एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य खगेन्द्र राईले नेपाली जनताको सार्वभौम अधिकार रक्षाका लागि देश विदेशमा रहेका सबै सांस्कृतिकर्मीलाई अभियानमा सामेल हुन आग्रह गरे ।
नेपालका ६० स्थानभन्दा बढी ठाउँमा भारतसँग सीमा समस्या रहेकाले त्यसको समाधानका लागि सरकारले कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिँदै उनले दुवै देशका जनताबीच सदियाँै पुरानो सांस्कृतिक तथा सामाजिक सम्बन्ध रहेकाले सीमा विवादका विषयमा आफूले भारतका कलाकारसँग कुरा गरेको समेत सुनाए ।
अभियानले सरकार र सबै राजनीतिक दललाई सीमा समस्या समाधानका लागि ज्ञापनपत्र बुझाउने र आगामी दिनमा साहित्य, नाटक र गीतलगायत माध्यमबाट जनमत सिर्जना गरी चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
सो अन्तर्गत अभियानले यही मंसीर ९ गते काठमाडौंस्थित भारतीय दूतावासमा विरोधपत्र बुझाउने कार्यक्रम राखेको छ ।
अभियानमा जन सांस्कृतिक महासङ्घ नेपाल, नेपाल सांस्कृतिक सङ्घ, रक्तिम सांस्कृतिक अभियान र समाजवादी सांस्कृतिक महासङ्घ आवद्ध छन्।