कपाल नभएको 'बाला' को कमाल, १०० करोड क्लबमा सामेल
बलिउडमा विषय र पात्र चयनमा अब्बल तथा अभिनयमा अलग शैलीको परिचय दिएका आयुष्मान खुराना अभिनीत 'बाला' फिल्म १०० करोड क्लबमा सामेल भएको छ। कपाल नभएको युवकले खेप्नुपरेका समस्याबारे केन्द्रित फिल्मले तेस्रो सातामा भारु १०० करोडभन्दा बढी कमाइ गरेको हो।
७ नोभेम्बरदेखि प्रदर्शनमा आएको फिल्ममा आयुष्मानसँगै अभिनेत्री यामी गौतम र भूमि पेडनेकर पनि प्रमुख भूमिकामा देखिएका छन्। फिल्मको निर्देशन अमर कौशिकले गरेका हुन्।
यामीले फिल्मको सफलताको जस निर्देशकलाई दिंदै भनेकी छन्, "यो लेखक र निर्देशकको जित हो, जो तमाम सीमाहरु भत्काउँदै फरक र प्रभावशाली विषयवस्तु पस्किन्छन्।" यस्तो अलग फिल्ममा काम गर्न आफू सधैं उत्साहित रहने उनले बताएकी छन्।
यामीको १०० करोड क्लबमा सामेल फिल्म 'उरी: द सर्जिकल स्ट्राइक'पछि यो दोस्रो हो।
आयुष्मानको यसै वर्ष प्रदर्शनमा आएको फिल्म 'ड्रिमगर्ल' पनि सफल भएको थियो। लगालग अलग र दर्शकको मन छुने विषयवस्तुका फिल्म दिइरहेका आयुष्मानले आफूलाई बलिउडका कुशल अभिनेताको रुपमा साबित गरेका छन्। गत वर्ष प्रदर्शनमा आएको 'अन्धाधुन' फिल्मबाट उनले सर्वश्रेष्ठ अभिनेताको राष्ट्रिय पुरस्कार पाएका थिए। - एजेन्सी