फिल्म निर्देशकको सुरक्षामा २०० प्रहरी
बलिउडका प्रतिष्ठित फिल्म निर्देशक आशुतोश गोवारिकरले पछिल्लो फिल्म 'पानीपत' को विषयमा धम्कीको सामना गर्नुपरेको छ। फिल्मको ट्रेलर रिलिज भएपछि उनलाई विभिन्न संगठनले धम्की दिएका हुन्। फिल्ममा ऐतिहासिक पात्र र घटनालाई तोडमोड गरेर प्रस्तुत गरेको आरोप निर्देशक गोवारिकरमाथि लागेको छ।
धम्कीका कारण मुम्बई प्रहरीले उनको सुरक्षा व्यवस्थाका लागि निवासमा २०० सुरक्षाकर्मी तैनाथ गरेको छ।
गोवारिकर 'लगान', 'जोधा-अकबर', 'मोहनजो-दारो' जस्ता फिल्मका निर्देशक हुन्। नयाँ फिल्म 'पानीपत' को बारेमा आएका आरोपबारे उनले सफाइ दिएका छन्।
इतिहासमा आधारित फिल्म बनाउँदा कुन हिस्सालाई समेटिएको र कुनलाई बाहिर राखिएको भन्नेबारे प्रश्न उठ्नु स्वाभाविक भएको भन्दै उनले बताएका छन्, "इतिहासको पुस्तक लेख्दा त्यहाँ राख्नुपर्ने जानकारी भरपूर हुन्छ। तर, इतिहासलाई स्क्रिनमा ल्याउँदा काटछाँट गरेर एउटा बाटो बनाउन जरुरी हुन्छ, जहाँबाट तपाईं कथा शुरु गर्नुहुन्छ र समाप्त गर्नुहुन्छ।"
गोवारिकरले 'पानीपत' फिल्म बनाउन मल्लार राव होल्कर, जानको जी शिंदे, महाराज जी शिंदे, बलवंत राव महेंद्रे अलकाजी मनकेश्वर, पुरंदरे जस्ता विश्वसनीय व्यक्तिहरुको योगदान रहेकाले सन्देह गर्ने ठाउँ नरहेको समेत बताएका छन्।
पानीपतका लागि भएको लडाइँको विषयमा बनाइएको फिल्म ६ डिसेम्बरमा प्रदर्शनमा आउने तय गरिएको छ। फिल्ममा सञ्जय दत्त, अर्जुन कपुर, कृति सेनन लगायतका कलाकारको अभिनय छ। - एजेन्सी