कम्युनिष्ट विरासत तोड्ने कांग्रेस प्रयास
सत्ताारूढ नेकपा विरुद्घ आक्रामक प्रचार गरिरहेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस १४ मंसीरमा हुने उपनिर्वाचनको नतिजा आफ्नो पक्षमा पारेर परम्परागत कम्युनिष्ट किल्ला भत्काउने र जनमत आफ्नो पक्षमा भएको सन्देश दिने दाउमा छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले १४ मंसीरमा हुने तीन तहकै उपनिर्वाचनका लागि सार्वजनिक गरेको २२ पृष्ठ लामो घोषणापत्रमा सरकारका २१ वटा असफलताका सूची बनाएको छ । उपनिर्वाचन अधिनायकवादी यात्रामा लागेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारलाई सच्याउने महŒवपूर्ण अवसर हुने कांग्रेसको निष्कर्ष छ ।
उपनिर्वाचनको नतिजा आफ्नो पक्षमा आए जनमत बदलिंदै गएको सन्देश जाने हुनाले कांग्रेसले आम निर्वाचनमा जस्तै तागत लगाएको छ । सभापति शेरबहादुर देउवा आफैं प्रचारमा खटिएका छन् । कांग्रेस केन्द्रीय सदस्य मीनेन्द्र रिजाल प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुने एक मात्र क्षेत्र कास्की–२ का लागि तीनहप्ते योजना सहित पोखरामा डेरा जमाएरै बसेका छन् ।
कांग्रेसले रमेश लेखकको संयोजकत्वमा निर्वाचन अनुगमन समिति बनाएको छ ।
८ कात्तिकदेखि लागू भएको आचारसंहिता सरकार चलाइरहेको नेकपाले पटक–पटक उल्लंघन गरेको अनुगमन समिति संयोजक लेखकको आरोप छ । उनले २९ कात्तिकमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेरै नेकपाले मतदाता प्रभावित पार्न सरकारी संयन्त्र दुरुपयोग गरेको दाबी गरे भने ५ मंसीरमा केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर आपत्ति जनाए ।
किल्ला जोगाउने र भत्काउने दाउ
कांग्रेस नेतृत्वले उपनिर्वाचनको नतिजा आफ्नो पक्षमा पार्न जति प्रयत्न गरिरहेको छ, त्यसको तुलनामा सत्तारूढ नेकपाका शीर्ष नेताहरू सुस्त छन् । प्रचार विभाग उपप्रमुख एवम् प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा भन्छन्, “सरकारको कार्यक्रम, एकीकरण टुङ्गिएर एकताबद्ध बनेको पार्टी र मजबूत सङ्गठन भएकाले जनमत अन्यत्र जाँदैन, २१ बुँदे कांग्रेस भ्रमपत्रलाई जनताले विश्वास गर्नेवाला छैनन् ।”
तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हवाई दुर्घटनामा निधन भएपछि निर्वाचन हुन गइरहेको कास्की–२ बाट २०५६ सालमा बाहेक कांग्रेसले जित्न सकेको छैन । त्यतिवेला एमाले विभाजित भएको फाइदा उठाउँदै कांग्रेसका महादेव गुरुङले तत्कालीन एमालेका तुलबहादुर गुरुङलाई करीब तीन हजार मतान्तरले पराजित गरेका थिए ।
त्यसपछि भएका २०६४, २०७० र २०७४ को निर्वाचनमा रवीन्द्र अधिकारीले जित हासिल गरे । यसपटक रवीन्द्रकै पत्नी विद्या भट्टराईलाई नेकपाले उम्मेदवार बनाएको छ । कांग्रेसले पुराना नेता खेमराज पौडेललाई अगाडि सारेको छ ।
प्रदेश सभाको निर्वाचन हुने भक्तपुर नेपाल मजदूर किसान पार्टी (नेमकिपा), बाग्लुङ राष्ट्रिय जनमोर्चा र दाङ कांग्रेसको पकड क्षेत्र मानिन्छन् । भक्तपुरबाट कांग्रेसले अहिलेसम्म जित्न सकेको छैन । २०७४ को निर्वाचनमा भक्तपुर–१ (क) बाट नेकपाका उम्मेदवार हरिशरण लामिछाने निर्वाचित भएका थिए भने कांग्रेस उम्मेदवार दोस्रो र नेमकिपा उम्मेदवार तेस्रो भएका थिए ।
बाग्लुङमा कम्युनिष्ट गठबन्धन हुँदा कांग्रेस सधैं पराजित हुँदै आएको छ । २०४८, २०६४ र २०७० मा कांग्रेसले जित्दा कम्युनिष्ट गठबन्धन थिएन । अघिल्लो निर्वाचनमा पनि गठबन्धनबाट उम्मेदवारी दिएका जनमोर्चाका टेकबहादुर घर्ती विजयी भएका थिए । यसपटक जनमोर्चाले नै गठबन्धनबाट उम्मेदवारी दिएको छ ।
कांग्रेसको पकड भएको दाङमा तत्कालीन एमाले र माओवादी गठबन्धन भएपछि एमालेका उत्तरकुमार वली विजयी भएका थिए ।
प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेल समेत दाङकै भएकाले यसपटक पनि उपनिर्वाचनमा कांग्रेसलाई सजिलो छैन । कांग्रेस उपसभापति विमलेन्द्र निधि भने एक पटक पाएको मत सधैं स्थिर नरहने भएकाले नतिजा कांग्रेसको पक्षमा आउने दाबी गर्छन् । उनी भन्छन्, “यस पटक कांग्रेस एकताबद्ध छ, कम्युनिष्ट सरकारमा बसेर बद्नाम छ ।”
त्यसैगरी सुनसरी क्षेत्र नं. १ को संसदीय निर्वाचनमा कांग्रेसले जित हासिल गर्न सकेको छैन । यसपटक सोही क्षेत्रमा पर्ने धरान उपमहानगरपालिकामा मेयरका उम्मेदवार तिलक राईलाई जिताउन कांग्रेस केन्द्रीय नेताहरूको धरानमा भीड नै लागेको छ ।
मंसीर पहिलो साता वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, प्रवक्ता विश्वप्रकाश शर्मा लगायतले विभिन्न सभालाई सम्बोधन र घरदैलो गरे ।प्रतिनिधिसभा, प्रदेश सभा र उपमहानगरपालिका बाहेक उपनिर्वाचन हुने स्थानीय तहका ४७ स्थानमध्ये अधिकांशमा सत्तारुढ नेकपा (तत्कालीन एमाले र माओवादी केन्द्र) ले जितेको छ ।
त्यसैले कांग्रेस नेताहरू उपनिर्वाचनमा व्यस्त रहँदा नेकपा मन्त्रिपरिषद् पुनर्गठन, प्रधानमन्त्रीको सचिवालय परिवर्तन जस्ता विषयमा केन्द्रित छ । स्थानीय तह र संघीय सरकारले गरिरहेको कार्यसम्पादनबाटै नेकपासँग मतदाता ढुक्क भएको प्रचार विभाग उपप्रमुख थापा बताउँछन् ।