बालसन्त भन्छन् – स्कन्द पुराण अनुसार पनि लिपुलेक नेपालकै हो
नेपालका जगतगुरु बालसन्तले धार्मिकग्रन्थमै उल्लेख भएको लिपुलेक नेपालको भूमि भएको दाबी गरेका छन् ।
बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै बालसन्तले स्कन्द पुराणको मानस खण्डमा लिपुलेक नेपालको भूमिमा रहेको उल्लेख भएको बताए ।
“यो कुरा भारतका धार्मिकसभामा पनि राखेको छु”, उनले भने, “एक मुठी श्वास रहेसम्म नेपालका लागि एक्लै लड्छु ।”
सुनसरीको चतराधामको कुम्भलाई भारतका धासु सन्तहरूका १० वटा भन्दा बढी अखडाले मान्यता दिएको बताउँदै उनले स्याल कुद्ने चतरामा आपूmले चौकीदारको काम गरेर विश्वमा चिनाएको दाबी गरे ।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई जानकारी गराएर नेपालमा दर्ता भएपनि कुम्भलाई विफल बनाउन चलखेल भएको बालसन्तको भनाइ छ ।
आफूले नै डोर्याएर हिंडाएका सन्त कृष्णदासले कुम्भले भारतका साधुबाट मान्यता नपाएको भन्दै बीबीसी समाचारमा अन्तर्वार्ता दिएको उनको भनाइ छ ।
“भारतको बृन्दावनमा भर्खरै अभिनन्दन गरेर कुम्भको समर्थनमा प्रमाणपत्र दिएका छन्, अब यसलाई कसैले पनि हल्लाउन सक्दैन”, बालसन्तले भने।
चतरामै भव्य आश्रम बनाएर बसेका कृष्णदासले ९५ प्रतिशत झुट बोल्ने गरेकाले आफू टाढिएको बताउँदै उनले भने, “कृष्णबहादुर गिरीको नाममा नागरिकता बनाइसकेका उनले मलाई झुक्याएर अर्को नागरिकता बनाउन लगाए ।”
चतरामा रहेका दुई ठूला आश्रमको नेतृत्व बालसन्त र कृष्णदासले गर्छन् । दुवैले संघीय, प्रदेश र स्थानीय सरकारबाट समेत आर्थिक सहयोग लिएर धार्मिक गतिविधि गर्दै आएका छन् ।
दुईजना बीच सम्बन्ध बिग्रिएपछि एकले अर्काको विरोध गर्ने गरेकाले धार्मिक पर्यटनमा फड्को मार्दै गरेको चतराको विकास स्थिर छ ।
कृष्णदासको अहंकारले चतराबासी दुःखी भएको बताउँदै बालसन्तले कृष्णदासलाई अयुर्वेदको जानकार भनेर आफूले स्थापित गरेको दाबी गरे ।
आफूले संचालन गरेको पाठशालाका तीनजना विद्यार्थीले भारतमा विद्यावारिधि गर्दै गरेको उनले जानकारी दिए ।