फिल्म साउथएशियामा ‘ब्याम्बो स्टोरिज्’ उत्कृष्ट
बांग्लादेशका बाँस व्यापारका जोखिमबारे बनेको वृत्तचित्र ‘ब्याम्बो स्टोरिज्’ लाई उत्कृष्ट घोषित गर्दै ललितपुरको पाटनढोकास्थित यलमाया केन्द्रमा जारी चारदिने वृत्तचित्र महोत्सव ‘फिल्म साउथएसिया, २०१९’ सकिएको छ ।
शाहीन दिल्ली–रियाज निर्देशित यो वृत्तचित्रले रामबहादुर ट्रफीसहित दुई हजार अमेरिकी डलरको पुरस्कार प्राप्त गरेको छ ।
महोत्सवमा दोस्रो पुस्कार ‘स्क्र्याचेज अन स्टोन’ले जितेको छ । नागाल्याण्डका आदिवासी, सशस्त्र युद्ध र परिवर्तित जीवनमा आधारित यस वृत्तचित्रलाई अमित महन्तीले निर्देशन गरेका हुन् । पुरस्कृत यो वृत्तचित्रले एक हजार डलर प्राप्त गरेको छ ।
डेब्यू निर्देशकलाई दिइने एकहजार डलरको तारेक मसुद पुरस्कार इटालीका सिमोनी मेस्त्रोनीले पाए । उनको वृत्तचित्र ‘आफ्टर प्रेयर्स’ भारतको कश्मीरवासीको आशा, निराशामा केन्द्रित थियो ।
निर्णायक ‘स्पेशल मेन्सन’मा हेमन्तकुमार गाबाको ‘एन इन्जिनियर्ड ड्रिम’, सुप्रियो सेनको ‘स्विमिङ थ्रु द डार्कनेस्’, जेस अल्कको ‘परिहा डग’ छानिएका छन् ।
विद्यार्थी विधाका उत्कृष्ट वृत्तचित्रमा नेपालका आशीष लिम्बू र देविन राई निर्देशित ‘द विन्टर ट्याप’, भारतकी ऐश्वर्या ग्रोबरको ‘मेमोरिज अफ साइरा एन्ड सलिम’ पुरस्कृत भएका छन् । दुवैलाई जनही ५ सय डलर र फिल्म साउथएशिया २०१९ थान्काद्वारा पुरस्कृत गरिएको छ ।
बालबालिकाको विषयकेन्द्रित युनिसेफ उत्कृष्ट वृत्तचित्र अफगानिस्तानका अबोजार अमिनी निर्देशित ‘काबुल, सिटी इन द विन्ड’ ले पाएको छ । यस वृत्तचित्रले पनि हजार डलर र प्रमाणपत्र प्राप्त गरेको छ ।
महोत्सवको १२ औं संस्करणमा पत्रकार कुन्द दीक्षित, भारतकी भिजुअल आर्टिस्ट आयशा अब्राहम र श्रीलंकाकी चलचित्रकर्मी सुमाथी शिवामोहन निर्णायक रहेका थिए ।