करेन्ट लागेर दुई बालकको मृत्यु
सुनसरी र मोरङमा करेन्ट लागेर दुई बालकको ज्यान गएको छ ।
सुनसरीको बर्जु गाउँपालिका ३ अमडुवास्थित दुर्गाटोलमा ९ वर्षीय आचल रायको गएराति १० बजे घरमै करेन्ट लागेर मृत्यु भएको प्रहरीले बताएको छ।
घरको बरण्डामा सुकाएको कपडा झिक्दा नाङ्गो तारमा उनको हात परेको थियो । करेन्ट लागेर बेहोस भएका बालकलाई उपचारका लागि विराटनगरतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।
यस्तै मोरङ सुन्दरहरैचा नगरपालिका ५ सुनौलीचोक निवासी ८ वर्षीय रोहन मगरको माछा मार्ने क्रममा करेन्ट लागेर हिजो अपरान्ह मृत्यु भएको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार स्थानीय बुढीखोलामा अरुले करेन्ट लगाएर माछा मार्दै गरेको ठाउँमा बालकलाई करेन्ट लागेको थियो ।
घाइते बालकलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीको भनाइ छ ।
करेन्ट लगाएर खोलामा माछा मार्नेहरूका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।