जाडो, ऊनी र स्टाइल
अरूभन्दा फरक ‘स्टाइलिस’ देखिनकै लागि पनि हातले बुनेका लुगाफाटा प्रयोग गर्ने युवा प्रशस्तै छन्।
जाडो शुरु भएसँगै न्यानो कपडाको खपत बढ्छ । जीउ न्यानो बनाउन अरुभन्दा ऊन वा ऊन मिश्रित कपडा आम मानिसको पहिलो रोजाइमा पर्छ ।
नेपालमा ऊनबाट बनेका पहिरन परम्परागत रुपमा पनि प्रयोग हुँदै आएका छन् । ऊनी धागो खरीद गरी टोपी, स्वेटर, गलबन्दी, पञ्जा, मोजा लगायतका कपडा आफैं बुनेर प्रयोग गर्नेहरू नेपाली समाजमा धेरै छन् ।
कतिपय महिलाले यस्ता कपडा बुनेर स्थानीय बजारमा बिक्री गरी आयआर्जन गरिरहेका छन् भने कतिले यसलाई ठूलोव्यवसायको रुपमा सञ्चालन गरिरहेको पनि पाइन्छ ।
पाटन मङ्गलबजारकी व्यवसायी प्रेरणा जोशी ऊनी धागोका हस्तनिर्मित लुगाफाटाको महत्व नबुझिएकाले स्थानीय बजारमा केही समयअघि बिक्री घटेको बताउँछिन् ।
जोशी भन्छिन्, “केही वर्ष अघिसम्म ऊनीका परम्परागत डिजाइनका हात बुना कपडा धेरै हुन्थे पछि मेसिनले बुनेका ऊनी कपडा त्योभन्दा आकर्षक देखिएकाले गर्दा बिक्री कम भएको भने थियो ।”
अचेल ऊनीका कपडाको माग र प्रयोग बढेको छ । त्यसको कारण ग्राहकको रुचि अनुसारका विभिन्न डिजाइनमा ऊनी कपडा उत्पादन गर्न ध्यान दिइनुलाई मान्न सकिने व्यवसायीको भनाइ छ ।
जोशी भन्छिन्, “अहिले त मेसिनले बुनेको जस्तै सुन्दर र आकर्षक ऊनीका लुगाफाटा हातैले बनाउन थालिएको छ । ती उत्तिकै आकर्षक र न्याना पनि छन् ।”
नेपालमा ऊनबाट बनेका पहिरन परम्परागत रुपमा पनि प्रयोग हुँदै आएका छन् । ऊनी धागो खरीद गरी टोपी, स्वेटर, गलबन्दी, पञ्जा, मोजा लगायतका कपडा आफैं बुनेर प्रयोग गर्नेहरू नेपाली समाजमा धेरै छन् ।
काठमाडौं नयाँबजारकी सलिना लामा आजभोलि स्वेटर, गलबन्दी, टोपी, लेग–वार्मर जस्ता लुगाफाटा किन्दा हातले बुनिएको, स्टाइलिस चाहिं रोजाइमा पर्ने गरेको बताउँछिन् ।
रेडिमेडको तुलनामा न्यानो हुने र स्टाइलिस पनि देखिने भएकाले हातले बुनेकै रोजिएको उनको दाबी छ । कोरियन ड्रामा (टेलिशृङ्खला) मा हातले बुनेका ऊनीका स्टाइलिस टोपी, गलबन्दी, स्वेटर, वानपिस जस्ता पहिरनहरूको प्रयोग गरेको देखाइन्छ ।
त्यसले गर्दा पनि सलिना जस्ता किशोरकिशोरीहरूमा हातले बुनेका ऊनीका पहिरनप्रति चासो जगाएको बताउँछन्, कुपण्डोलका व्यवसायी विजय महर्जन ।
भन्छन्, “कतिपय त कोरियन हिरो–हिरोइनले लगाएको फोटो बोकेर– यस्तो गलबन्दी अथवा स्वेटर पाइन्छ ?” भन्दै खोज्न आउँछन् ।
अरुभन्दा फरक ‘स्टाइलिस’ देखिनकै लागि पनि हातले बुनेका लुगाफाटा प्रयोग गर्ने युवा प्रशस्तै छन् । महर्जन भन्छन्, “समय अनुसार डिजाइनमा परिवर्तन गरिरहनुपर्छ, बजारको खाँचो छैन ।”
हातबाट बुनेको पहिरनको माग बढ्दा नेपाली मुद्रा विदेशिनबाट जोगिने र धेरै जनाले रोजगारी समेत पाउने बताउँछन्, केन्द्रीय ऊनी धागो उद्योग संघका अध्यक्ष हरिबहादुर ठकुरी । उनी भन्छन्, “समय–समयमा तालिम दिइरहन सके निर्यात बढाई विदेशी मुद्रा भित्र्याउन सकिन्छ, हातबाट बुनिएका कपडाको माग बढ्दो छ ।’
हातबाट बुनिएको लुगाफाटामा प्रयोग गरिएको ऊनीको धागो पुनः प्रयोग गर्न सकिन्छ । कुनै स्वेटर अथवा गलबन्दी खोलेर त्यसको धागोबाट नयाँ डिजाइनमा फेरि बुन्न सकिन्छ । मेसिनबाट बुनिएका ऊनीका स्वेटर अथवा टोपीको धागो खोलेर चाहिं पुनः प्रयोग गर्न सकिंदैन ।
टोपी, गलबन्दी, स्वेटर, पञ्जा, मोजा आदि बनाउन न्युजिल्याण्ड र तिब्बतबाट ऊन आयात हुने ठकुरी बताउँछन् । उनका अनुसार हातले बुनेका यस्ता सामानहरू स्थानीय बजारसँगै यूरोप र अमेरिकामा पनि निर्यात हुने गरेका छन् ।