सुत्केरीका दुवै मिर्गौला फेल, आर्थिक सहयोगको आग्रह
पर्वतको कुश्मा नगरपालिका–४ जिरो किमीकी एक सुत्केरीका दुवै मिर्गौला फेल भएका छन् ।
१७ कात्तिकमा गण्डकी अस्पताल पोखरामा शल्यक्रिया मार्फत छोरी जन्माएकी २३ वर्षीया विशाका परियारका दुवै मिर्गौलाले काम नगर्ने भएका हुन् ।
शल्यक्रिया गरेर बच्चा निकालेको २४ घण्टासम्म पनि पिसाब नभएपछि मिर्गौलामा खराबी भएको आशङ्कामा परीक्षण गर्दा दुवै मिर्गौलाले काम नगरेको चिकित्सकहरुले जानकारी दिएको जेठानी दिदी सविताले बताइन् ।
उनको शरीर र पेट पूरै फुल्दै गएपछि मिर्गौलामा खराबी भएको हुनसक्ने अनुमान गर्दै अस्पतालले भिडियो एक्सरे गरेर हेर्दा दुवै मिर्गौला फेल भएको देखिएको थियो ।
त्यसपछि उनलाई अस्पताल सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । चिकित्सकहरूले अहिले कम्तीमा पनि तीन हप्तासम्म डायलाइसिस गरिरहनुपर्ने बताएका छन् ।
विशाकाको शरीर फुलेकाले नसाहरूमा राम्रोसँग रक्तसञ्चार भइरहेको छैन । हातबाट दिइएको रगत सञ्चार नभएपछि घाँटीको नसामा प्वाल पारेर त्यहीँबाट रगत दिइरहेको उपचारमा संलग्न चिकित्सहरुले बताएका छन् ।
शुरुमा आमा र बच्चा दुवैको स्वास्थ्य सामान्य थियो तर एक्कासी दुवै मिर्गौला फेल भएको चिकित्सकले बताएपछि आफन्त अचम्ममा परेका थिए ।
आर्थिक सहयोग माग्दै परिवार
अहिले आमाको उपचार खर्च र जन्मेदेखि नै आमाको दूध चुस्न नपाएकाे बच्चालाई कसरी बचाउने भन्ने समस्यामा आफन्त छन् ।
उनको उपचारमा अहिलेसम्म एक लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको बताउँदै सविताले भनिन्, दुवै मिर्गौला फेर्ने एक मात्र विकल्प भएको चिकित्सकहरुले बताएकाले मिर्गौला दिने व्यक्ति र खर्च दुवै कसरी जुटाउने चिन्तामा छौं ।”
विशा0काका श्रीमान् विनय कुस्मा–बागलुङ चल्ने बसमा सहयोगीको काम गर्दै आएका छन्, त्यति कमाई छैन, ससुरा पनि अपांग भएकाले परिवारकाे अन्य आयआर्जनको बाटोसमेत नहुँदा मृत्यु कुर्नुबाहेक अरू विकल्प नभएको सविताको दुःखेसो छ ।
उनले भनिन्, “अब सहयोगीहरुको हात थाप्नु बाहेक अरु बाटो छैन, त्यसैले चिनेजानेकालाई सहयोग माग्न थालेका छौं ।”