गढीमाईमा पशुबलिको विकल्प
पशुबलिलाई हिंसासँग जोडेर गढीमाई मेलाको विरोध गर्नुभन्दा ‘नरिवल बलि’ जस्ता विकल्पबारे जनचेतना फैलाउनु आवश्यक देखिन्छ।
बारा जिल्लाको बरियारपुरमा पाँच–पाँच वर्षमा लाग्ने गढीमाई मेला १ मंसीरदेखि शुरू हुँदैछ । यस मेलामा चढाइने पशुबलि चर्चा मात्र होइन विवादको विषय पनि बन्दै आएको छ ।
पन्ध्र वर्षदेखि यो मेलाका विविध पक्षबारे अध्ययन गर्दै आएको यो पंक्तिकारले दुई वटा मेलालाई नजिकबाट अवलोकन गरिसकेको छ ।
धेरै सङ्ख्यामा बलि दिइने मेला भनेर ‘गढीमाई मेला’ को महिमा वर्णन गरिन्छ । दश वर्षअघिको गढीमाई मेलामा पच्चीस हजार राँगा बलि दिइएको थियो ।
मेला सम्बद्ध कतिपय व्यक्ति तथा स्थानीय यही बलि आँकडाको आधारमा मेलाले विश्वमा पहिचान कायम गरेको हुँदा बलिउपर प्रतिबन्ध लगाउन नहुने तर्क राख्छन् ।
अहिंसाप्रेमी तथा पशुअधिकारवादीहरू भने बलि दिइने कार्य नै आपत्तिजनक मान्दै प्रतिबन्ध लगाउन आवाज उठाइरहेका छन् । यही विरोधकै परिणाम हुनसक्छ, पाँच वर्षअघिको मेलामा निकै कम सङ्ख्यामा बलि दिइयो । त्यसवेला पाँच हजारभन्दा बढी राँगा बलि दिइयो भनिए पनि त्यो वास्तविक सङ्ख्या भने होइन ।
गढीमाई मेलामा पशुबलि दिन प्रतिबन्ध लगाउनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा मुद्दा दायर पनि भएको छ । मुद्दाका पक्ष र विपक्षमा बहस भइरहला तर मेलाको सांस्कृतिक पक्ष नियाल्न भने दुवै पक्ष चुकेका छन् ।
बलि प्रथा यथावत् राख्दा हिंसा बढेको र यसले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको छविउपर नकारात्मक असर परेको जिकिर पशुअधिकारवादीहरूको छ ।
आफ्नो धर्म–संस्कृतिको अभ्यास गर्ने स्वतन्त्रता कानूनतः संरक्षित रहेको र प्रतिबन्धको मागले बाह्य पक्षको हस्तक्षेप बढेको बुझइ पनि विपक्षीमा रहेको पाइन्छ । यो द्वन्द्व अघिल्लो मेलामा स्पष्ट रूपमै बाहिरियो र आरोप–प्रत्यारोप तथा अडानका कारण कटुता पनि निम्तियो ।
अघिल्लो मेलामा राँगा बलिको सङ्ख्यामा कमी आएकै हो तर मेला भर्न आउनेको सङ्ख्यामा भने कुनै कमी थिएन । बलिका लागि ल्याइनुपर्ने राँगा भारतीय सरकारले सीमा कटाउन नदिएपछि बलिको सङ्ख्या घटेको थियो ।
गढीमाई मेलामा राँगाको बलिलाई मात्र देख्नु हुन्न । भाकल गर्नेले यहाँ बोका पनि बलि दिने गरेको पाइन्छ । राँगा बलि दिंदा छाडेर जानुपर्दछ भने बलिपछिको बोका मासु खान लिएर जान पाइन्छ । हिंसामा आस्था नभएकाहरू नरिवलको पनि बलि दिन्छन् । भाकलकै रूपमा परेवा चढाउने पनि छन् ।
धार्मिक तथा सांस्कृतिक रूपमा यी सबै बलिकै रूप हुन् । पशुबलिको विकल्पबारे जनचेतना बढाएर समस्या समाधान गर्न सकिन्छ ।
गढीमाई मेलासँग असम्बद्ध धार्मिक सम्प्रदाय तथा संघसंस्थाहरूले हस्तक्षेप गर्नुभन्दा आआफ्नो ठाउँमा बसेर जनचेतना वृद्धि गर्नु उचित देखिन्छ ।
बलि चढाउन आउनेसँग पंक्तिकारले गरेको अन्तर्वार्तामा धेरैले ‘फलानो बलि चढाउँछु भनेका कारण यो वर्ष त्यही ल्यायौं तर अर्को वर्ष पशुबलि दिंदैनौं’ भनेको पाइन्छ । यसरी नै परम्परादेखि पशुबलि दिंदै आएको भए पनि त्यसलाई त्यागेर नरिवल मात्रै ल्याएको जवाफ दिनेहरू पनि उत्तिकै पाइयो ।
धार्मिक तथा सांस्कृतिक क्षेत्रमा कुनै बाह्य पक्षले ‘यो गर्नू’ वा ‘नगर्नू’ भनेर निर्देशन दिंदा त्यसको उल्टो असर पर्ने संभावना बढी हुन्छ ।
गढीमाई मेला हिन्दू धर्मभित्रैको शाक्त सम्प्रदायसँग सम्बन्धित छ र यो सम्प्रदायमा पशुबलि दिइन्छ । तर नरिवल मात्रै बलि दिनेको सङ्ख्या पनि अत्यधिक नै रहेकाले पशुबलि नै प्रधान हो भन्ने कुराको खण्डन गढीमाई मेलामै देख्न पाइन्छ ।
बलि भनेर पशुबलिलाई मात्र चिन्ने र चिनाउने प्रवृत्ति गलत छ । विकल्पमा नरिवल आदि पनि चढाइने कुरा हिन्दू धर्म परम्परामा अभ्यास हुँदै आएको छ ।
राँगाको बलिबाट हुने आम्दानीलाई मात्र ध्यान दिनुभन्दा मेलाको व्यवस्थापन तथा मेला भर्न आउनेहरूको सेवा–सुविधामा ध्यान दिने हो भने यो मेला आफ्नो क्षेत्रको पहिचान उजागर गर्ने अवसर पनि बन्न सक्छ ।
गढीमाई मेलासँग असम्बद्ध धार्मिक सम्प्रदाय तथा संघसंस्थाहरूले हस्तक्षेप गर्नुभन्दा आआफ्नो ठाउँमा बसेर जनचेतना वृद्धि गर्नु उचित देखिन्छ ।