‘फिल्म साउथएसिया’ महोत्सवमा स्टुडेन्ट फिल्म प्रदर्शन
ललितपुरको पाटनढोकास्थित यलमाया केन्द्रमा आज (बिहीबार) बाट शुरु भएको ‘फिल्म साउथएसिया, २०१९’ महोत्सवमा बाह्रवटा वृत्तचित्र प्रदर्शन गरियो ।
महोत्सवमा बिहान १०ः०० बजेदेखि दिउँसो १ः३० बजेसम्म समाजका विभिन्न समसामयिक विषयबस्तु उठाइएका वृत्तचित्रहरू प्रदर्शन गरिए ।
‘फिल्म साउथएसिया’ महोत्सवको पहिलो दिन १२ वटा वृत्तचित्रमध्ये एउटा वृत्तचित्र नेपालबाट, आठवटा भारतबाट र एक÷एकवटा पाकिस्तान, तिब्बत, म्यानमारका कथा समेटिएका वृत्तचित्र प्रस्तुत गरिए ।
यलमाया केन्द्रमा रहेका मजलिस कक्ष र बग्गीखाना कक्षमा ६÷६ वटा वृत्तचित्र प्रस्तुत गरिएका थिए । सन् २०१९ को बाह्रौं संस्करणमा देखाइने कूल ६३ वटा वृत्तचित्रमध्ये महोत्सवमा बिहीबार १२ वटा वृत्तचित्र प्रदर्शन गरिएको छ भने, बाँकी वृत्तचित्र यलमाया केन्द्रमा नै ३ दिनसम्म देखाइने छ ।
‘ह्वेयर द माइन्ड इज फ्री’ नारासहित शुरु भएको महोत्सवमा मानवको वाक् स्वतन्त्रता, अधिकार र सामाजिक यथार्थलाई समेटेर प्रस्तुत गरिएका वृत्तचित्रहरूले दर्शकको मन जितेको देख्न सकिन्थ्यो ।
आज (२८ कात्तिक) देखि शुरु भएको ‘फिल्म साउथएसिया’ महोत्सव १ मंसीरसम्म हुनेछ । उक्त महोत्सवमा विभिन्न कलेजका विद्यार्थी, फिल्म निर्देशकहरू, वृत्तचित्रमा अभिरुचि राख्ने लगायत दर्शकको उपस्थिति थियो ।
‘फिल्म साउथएसिया, २०१९’ महोत्सवमा ‘द विन्टर ट्याप’ का फिल्म निर्देशक देविन राई, भारतबाट ‘होटल नाज’ का निर्देशक युस्रा हसन, भारतबाट ‘मेमोरिज अफ सायरा एन्ड सलिम’ का निर्देशक ईश्वरीया ग्रोभर, भारतबाट ‘आकाशवाणी’का निर्देशक प्रमाती आनन्द, भारतबाटै ‘रोशन एन्ड मणि’ का निर्देशक रिशाया पल्खिभालाको उपस्थिति रहेको थियो । वृत्तचित्र प्रदर्शनपछि फिल्म निर्देशक र दर्शकबीच फिल्म सम्बन्धी अन्तर्क्रिया गरिएको थियो ।
कार्यक्रमको पहिलो दिन प्रदर्शन गरिएका वृत्तचित्रमध्ये ‘द विन्टर ट्याप’ मा हिमाली गाउँमा भएको पानीको समस्या र समाधानको उपाय देखाइएको छ । पहाडी भेगमा चिसो मौसममा पानी कसरी घरसम्म लिएर जाने, भनी सरल माध्यमबाट देखाउन खोजिएको छ ।
दैनिक जीवनमा नभइनहुने आधारभूत आवश्यकता पूर्ति गर्नका लागि बाँसको सहाराबाट घरको आँगनसम्म पानी ल्याउने तरिकालाई निकै कलात्मक ढंगले प्रस्तुत गरिएको छ । महोत्सवमा उक्त फिल्मका दुई निर्देशकमध्ये देविन राईको उपस्थिति रहेको थियो ।
भारतका निर्देशक ईश्वरीया ग्रोभरद्वारा निर्देशित ‘मेमोरिज अफ सायरा एन्ड सलिम’मा निर्दोष नागरिकले बिनाकारण किन आफ्नो घरपरिवारलाई गुमाउनु परेको छ भनी उक्त वृत्तचित्रमा प्रस्तुत गर्न खोजिएको छ ।
आर्किटेक्चरकी विद्यार्थी समेत रहेकी निर्देशकले आर्किटेक्चर सम्बन्धी डकुमेन्टेसन गर्नका लागि पुरानो घरको खोजी गर्दा उक्त घर फेला पारेको बताइन् ।
उनलाई त्यो भग्नावशेषमा लुकेको कथा खोज्न मन लाग्यो । “त्यो घर देख्दा मनमा एउटा प्रश्न आयो, घरको भग्नावशेषले केही भन्न खोजेको महसुस गरेपछि, उक्त घरको कथालाई वृत्तचित्रमा उतारेँ”, उनले भनिन् ।
धर्मका कारणले मानिस–मानिसबीच हुने गरेको र भएको संवेदनाहीन चरित्रलाई उक्त वृत्तचित्रले चित्रण गर्न खोजेको छ ।
वृत्तचित्रमा सामाजिक मुद्दा मात्र नभएर राजनीतिक मुद्दा भएपनि आफूले आफ्नो तरिकाले उक्त वृत्तचित्र तयार पारेको उनले स्पष्ट पारिन् ।
“धर्मका कारणले परिवार क्षतविक्षत भएका घटना भारतमा मात्र नभएर संसारभरि छन्,” उनी भन्छिन्, “धर्मका नाममा कैयौं निर्दोषहरूले परिवारका सदस्य, घरबार सबै गुमाउनुपरेको तीतो यथार्थ हामीसँग छ जसलाई ‘मेमोरिज अफ सायरा एन्ड सलिम’मा देखाउन खोजिएको हो ।”
भारतका फिल्म निर्देशक अनिकेत प्रकाश देवरेले निर्देशन गरेको ‘त्रिकोण’ वृत्तचित्रमा पर्दापछाडिका साहसिक महिलाहरूको कथा समावेश गरिएको छ ।
वर्षौंदेखि विभिन्न फिल्म, टेलिफिल्मका लागि स्टन्टको काम गरेर आफ्नो दैनिकी चलाइरहेका तीनजना महिलाहरूको संघर्षको कथा उक्त वृत्तचित्रमा प्रस्तुत गरिएको छ ।
ती पात्रमध्ये एकका दाजुले आमा, बुबालाई नहेरेपछि आफ्नो स्वयम्बर तोडेर बुबा, आमाको रेखदेख गरेर बसेकी अविवाहित महिलाको कथा छ ।
जसले परिवार पाल्नकै लागि स्टन्टको जोखिमपूर्ण काम गरेको बताएकी छिन् । अर्की पात्र ‘स्टन्ट उमन’ ले आफ्ना श्रीमान र तीन छोराछोरी पाल्नकै लागि जोखिमपूर्ण काम स्टन्ट गरेकी छन् ।
महिलाको माइतीले ज्यान जोखिममा पारेर काम नगरे हुन्थ्यो, श्रीमान हुँदाहुँदै उसैले गर्नुपर्ने भन्ने माइती पक्षकोे भावुक संवाद उक्त वृत्तचित्रमा देखाइएको छ, जुन दृश्यले दर्शकको ध्यान खिचेको छ ।
एक महिला घरबाहिर शक्तिशाली स्टन्ट उमन र घरभित्र आमा, श्रीमतीको भूमिका निर्वाह पनि गर्न सक्छे भन्ने देखाउन खोजेको छ ।
तेस्रो पात्र सानै उमेरमा लिएको निर्णयले विहेपछि छोरीको जिम्मेवारी निभाउन ‘स्टन्ट उमन’को रूपमा काम गरेकी महिलाको कथा छ । श्रीमानको पिटाइ र हेपाइबाट मुक्त हुन आत्मनिर्भर हुनका लागि स्टन्टको काम गरेको कथा उक्त वृत्तचित्रमा देखाइएको छ ।
भारतका निर्देशक विवेक गोपीनाथको ‘रामपतर’ वृत्तचित्रमा भारतका दलित ‘हरिजन’ समुदायका मानिसले भोग्दै आएका अमानवीय क्रियाकलापलाई प्रस्तुत गरिएको छ ।
स्कूलदेखि काम गर्ने ठाउँसम्म, गाउँको धारादेखि भोजभतेरसम्म कसरी दलितलाई मानसिक तथा शारीरिक यातना दिइन्छ भन्ने उक्त वृत्तचित्रले प्रष्ट पार्न खोजेको देखिन्छ ।
भारतकै नागरिक भएर पनि अनागरिक जस्तो व्यवहार सहेर बस्नु परेको पीडा उक्त वृत्तचित्रमा छ । दलित र गैरदलितका देवता पनि फरक बनाएको तीतो यथार्थलाई उक्त वृत्तचित्र ‘रामपतर’मा देखाउन खोजिएको छ ।
मानव–मानवबीच भएको विभेदको बारेमा आवाज उठाउँदा समाजबाट बहिष्करणमा पर्नुपर्ने छुट्टै पीडा रहेको उक्त वृत्तचित्रमा प्रस्तुत गरिएको छ ।
‘फिल्म साउथएसिया, २०१९’ महोत्सवको पहिलो दिन ‘स्टुडेन्ट फिल्म’मा छनोटमा परेका १२ वटा वृत्तचित्र प्रस्तुत गरिएको हो । महोत्सवको टिकट मूल्य ५० रुपैयाँ रहेको छ । उक्त टिकटबाट जम्मा भएको रकम फूलचोकीको रयाली गाउँको विद्यालयलाई सहयोग स्वरुप प्रदान गरिने आयोजकले बताए ।