ओलाङ्चुङगोला नाका जोडिन १४ किलोमिटर बाँकी
राष्ट्रिय चासोको रूपमा रहेको भारतको जोगवनीदेखि चीनको सीमा ओलाङ्चुङगोलासम्मको सडक जोडिन १४ किलोमिटर मात्रै बाँकी रहेको छ ।
ओलाङ्चुङगोलाबाट दक्षिण नेपालतर्फ चीनको सहयोगमा २८ किलोमिटर बाटो खोलिसकिएको छ । बाँकी १४ किलोमिटर सडकको ट्रयाक चालु आर्थिक वर्षभित्रमै खनेर सम्पन्न गरिने ओलाङ्चुङगोला सडक आयोजना प्रमुख रामबहादुर गुरुङले बताए । सो कार्यका लागि चीन सरकारसँग पनि नेपालले आग्रह गरेको छ ।
ट्रयाक खोल्ने सडकमा पर्ने ५ सय मिटर भीर, पहरा बाहेक अन्यत्र काममा असहज नहुने गुरुङले जानकारी दिए । जोगवनीदेखि विराटनगर हुँदै ओलाङ्चुङगोलातर्फ जाने तीनवटा सडक छन् ।
ओलाङ्चुङगोला पुग्न मेची राजमार्ग हुँदै ४ सय ८६ किलोमिटर, तेह्रथुमको वसन्तपुर भएर ३ सय २७ किलोमिटर र धनकुटाको मूलघाट भएर २ सय ७० किलोमिटर दूरी रहेको छ ।
तिनैतर्फबाट जाने सडक ताप्लेजुङको दोभानमा जोडिन्छ । योजना प्रमुख गुरुङका अनुसार, वसन्तपुरबाट दोभानको दूरी ७१ किलोमिटरमा ३ वर्षभित्र कालोपत्रे गरिसक्ने योजना रहेको छ ।
दोभानबाट ओलाङ्चुङगोलासम्मको दूरी १ सय २३ किलोमिटरमध्ये १ सय ९ किलोमिटर ट्रयाक खुलिसकेको छ । ट्रयाक खोलिसकिएका सडक चौडा गर्न भने स्थानीय तयार छैनन् ।
सडकलाई ८ मिटर दिन तयार भए पनि दुईतर्फ १५\१५ मिटर सडक छाड्न स्थानीय तयार नभएको गुरुङको भनाइ छ । सार्वजनिक खरीद प्रक्रिया झन्झटिलो भएकाले पनि वहुवर्षीय ठेक्का लगाउन ढिलाइ भएको उनले बताए ।
कतिपय पहाडी जिल्लाका सडकमा बाटो नखोली बीचबाट निर्माण कार्य हुने गरेकोमा स्थानीयले सुविधा पाउन अझ ढिलाइ हुने गरेको छ ।
सदरमुकाम ताप्लेजुङस्थित फुङलिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेल प्रदेश सरकारको गौरवको योजनानै स्थानीयलाई चित्त नबुझेको बताउँछन् ।
उनका अनुसार, प्रदेश सरकारले रु ५० करोडमा ठेक्का लगाएको फुङलिङ बुद्धचोकदेखि याम्फुदिनस्थित कञ्चनजङ्गा बेसक्याम्पसम्मको सडक मामाङ्खेबाट मात्रै निर्माण हुने भएको छ ।
बुद्धचोकबाट याम्फुदिन जाने सडक बीचबाट मात्रै काम गर्ने ठेक्का पाएको निर्माण कम्पनीलाई निर्माण सामग्री त्यसतर्फ लैजान गाह्रो भएको मेयर प्याकुरेले बताए ।