जुद्धशमशेरको चातुर्य
राणाहरूलाई ‘प्रभु’ वा ‘सरकार’ सम्बोधन गर्नुपर्ने वेग्लै अदब भएको समयमा जुद्धशमशेरलाई ‘तपाईं’ भन्न गएका तुलसी मेहर एकशब्द बोल्नै नपाई फर्किनुपरेछ।
शासन गर्न कतिसम्म बठ्याइँ गर्नुपर्दो हो ! यसबारे शासकहरूका विभिन्न तौरतरिका र जुक्ति हेर्दा\केलाउँदा पत्तो पाइन्छ । संभवतः तिनै बठ्याइँले शासकको कार्यकाल लम्ब्याउँछ पनि । श्री ३ जुद्धशमशेर जबराको चलाखीपनले त्यही पुष्टि गर्छ ।
जुद्धले १९८९ भदौदेखि २००२ मंसीरसम्म १३ वर्ष ३ महीना श्री ३ महाराजका रूपमा शासन गरे । त्यसपछि भने प्रधानमन्त्री र सर्वोच्च सेनापति पद त्यागेर भतिज पद्मशमशेरलाई श्री ३ बनाए । आफू चाहिं स्वामी महाराज बनेर केही समय पाल्पाको रिडीमा बसे, पछि भारतको देहरादून गएर बस्न थाले ।
जुद्धको शासनकालकै कुरा हो, एक साल समयमा पानी नपरेर तराईमा खडेरी लाग्दा मालपोत उठेनछ । तिर्न सक्ने भारदारहरूले पनि अटेर गरिरहेका थिए । तिनताका राजस्वको मुख्य स्रोत मालपोत नै थियो । जुद्धले जुक्ति लगाए । तोकिएको मितिसम्म मालपोत नतिरे जमीन लिलाम गर्ने निर्णय बडाहाकिमले गरेछन् ।
त्यसका लागि जुद्धले एकदिन भारदारी सभा बोलाए । सभामा उपस्थित थुप्रै भारदारले जग्गा लिलाम गर्ने निर्णय ठीक होइन भन्ने खासखुस गरेछन् । त्यो खासखुसको जवाफ जुद्धशमशेरले कड्किएर दिएछन्, “त्यो बडाहाकिमले ठीक निर्णय गरेछ ।” सबै भारदार चूप भए ।
कुन भारदारले मालपोत तिर्न सक्दैन भनेर जुद्धलाई कण्ठै हुने रे ! त्यस्ता भारदारको आफैंले तिरिदिएछन् । जग्गा लिलाम नै हुने भएपछि सबैले मालपोत तिरे रे !
फर्सीभित्र रुपैयाँ
राज्य सञ्चालन मात्र होइन, प्रशासनमा सन्तुलन मिलाउन पनि जुद्धशमशेर खप्पिस रहेछन् । उनलाई विदेशी पत्रपत्रिका मार्फत विश्वका प्रमुख घटनाक्रमबारे अद्यावधिक गराउने काम सुब्बा विश्वमणि आचार्य दीक्षितको रहेछ । विश्वमणिको कामप्रति जुद्ध प्रसन्न भएछन् र केही रकम दिने मन भएछ ।
एक जना कर्मचारीलाई मात्र रुपैयाँ दिंदा अरू बेखुशी हुनु स्वाभाविकै थियो । तसर्थ जुद्धले बुद्धि घोटेछन् । पाकेका फर्सी दरबारमा काम गर्ने प्रायः सबैलाई दिने बन्दोबस्त गराएछन् ।
विश्वमणिलाई दिने फर्सीमा भने होशियारीपूर्वक प्वाल पार्न लगाएर सबै गिद्रो र बियाँ झिकी चाँदीका डबलै डबल रुपैयाँ हाल्न लगाएछन् ।
अस्वाभाविक गह्रुङ्गो फर्सी विश्वमणिले घर लगेछन् । श्री ३ महाराजले दिएपछि फर्सीको इज्जत पनि बढ्ने नै भयो । फर्सी काट्दा त डबल भुइँभरि!
तुलसी मेहरले ‘तपाईं’ भन्न पाएनन्
जुद्धलाई तपाईं सम्बोधन गर्ने हुटहुटीले तुलसी मेहर नेपालबाट देहरादून पुगेछन् । भेटका लागि नाम लेखाएछन् । यसबारे खबर पाएपछि जुद्धले राणाशासन विरोधी गान्धीको चेलो त्यतिका पैसा खर्च गरी भेट्न आउनुको कारण पत्ता लगाउन सबै उपाय गरेछन् ।
महात्मा गान्धीका शिष्य तुलसी मेहर श्रेष्ठलाई जुद्धशमशेरलाई ‘तपाईं’ भनेर सम्बोधन गर्न मन लागेछ । त्यतिवेला जुद्ध राजकाज छाडेर देहरादूनमा बस्न थालिसकेका थिए । राणा शासन छउञ्जेल त राणा खलकलाई प्रभु वा सरकार, बक्सियोस् भन्नुपर्ने । तपाईं भन्न नहुने ।
जुद्धलाई तपाईं सम्बोधन गर्ने हुटहुटीले उनी नेपालबाट देहरादून नै पुगेछन् । भेटका लागि नाम लेखाएछन् । यसबारे खबर पाएपछि जुद्धले राणाशासन विरोधी गान्धीको चेलो त्यतिका पैसा खर्च गरी भेट्न आउनुको कारण पत्ता लगाउन सबै उपाय गरेछन् ।
अन्ततः उनका चतुर कामदारहरूले गान्धीवादी तुलसी मेहर जुद्धलाई भेटेर प्रभु वा सरकार जस्ता सम्बोधन होइन, ‘तपाईंलाई सञ्चै छ’ भनेर सोध्ने उद्देश्य भएको पत्तो लगाएछन् ।
जुद्धशमशेरलाई त्यो सम्बोधन सुन्ने मनस्थिति कदापि रहेनछ । उनले तुलसी मेहरलाई बिहान आठ बजेको समय दिएछन् । तुलसी मेहर दश मिनेट अगावै जुद्ध निवास पुगेछन् । उनलाई शिष्टाचारपूर्वक प्रतीक्षालयमा राखिएछ । जुद्धको वासस्थानको साजसज्जा र तामझम देखेर उनी छक्कै परेछन् ।
चमेली फूलको माला, सेतो कार्चोपी भरेको कुर्ता पाइजामा लगाएका झर्झराउँदो अनुहारका जुद्धशमशेर ढोकाबाट पस्दापस्दै तुलसी मेहरलाई ठाडै सम्बोधन गर्दै भने रे, “ए तुलसी सञ्चै छस् ? कहिले आइस् ? तेरो चर्खा उद्योगको के अवस्था छ ? नेपालको हालखबर के छ ? ल नेपालबाट धाएर भेट्न आइछस्, धन्यवाद । तेरो चर्खा उद्योगलाई मेरो तर्फबाट एक लाख लैजा । ल विस्तारै जा है ।”
जुद्धले एकोहोेरो बोलेरै कुरा टुङ्ग्याएछन् । तुलसी मेहरले केही बोल्न त परको कुरा, आँ गर्नेसम्म मौका पाएनछन् ।