२८ कात्तिकदेखि यलमाया केन्द्रमा ‘फिल्म साउथएशिया’
फिल्म साउथएशियाको १२औं संस्करण महोत्सव २८ कात्तिकदेखि १ मंसीरसम्म हुने भएको छ ।
ललितपुरको पाटनढोकास्थित यलमाया केन्द्रमा हुने महोत्सव चर्चित लोक आधुनिक ब्याण्डका गायक अमृत गुरुङको प्रस्तुतिबाट शुरू हुने आयोजकले जनाएको छ ।
महोत्सवको यो संस्करणमा कुल ६३ वटा वृत्तचित्र प्रदर्शन गरिने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।
प्रत्येक दुई वर्षमा आयोजना हुने फिल्म साउथएशिया २०१९ को नारा यसपटक ‘ह्वेयर द माइन्ड इज फ्री’ रहेको छ । नारा रवीन्द्रनाथ टैगोरको प्रसिद्ध कविता ‘ह्वेयर द माइन्ड इज विथआउट फियर’ बाट प्रेरित भई राखिएको हाे ।
“महोत्सवको मूल विषय पत्रकारिता, साहित्य र चलचित्र क्षेत्रको अभिव्यक्ति स्वतन्त्रतामा जोड दिएको छ”, पत्रकार सम्मेलनमा फिल्म साउथएशियाका अध्यक्ष कनकमणि दीक्षितले बताए ।
यतिबेला पूरै दक्षिणएशियाकाे स्वतन्त्रतामा संकुचन महशुस गरिएको बताउँदै उनले नेपालले आफ्ना लागि मात्र नभई अन्य मुलुकका लागि पनि उदाहरण बन्न यस्ता महोत्सव अत्यावश्यक रहेकोमा जोड दिए ।
यो महोत्सव वृत्तचित्रप्रेमीहरूका लागि अवसर जुटाउने उत्कृष्ट मञ्च भएको फिल्म साउथएशियाका निर्देशक मितु बर्माले बताइन् ।
फिल्म साउथएसियाले व्यावसायिक फिचर फिल्मले मात्र निर्देशक वा फिल्म निर्माता बन्न सकिन्छ भन्ने दृष्टिकोणलाई गलत सावित गरेको बर्माकाे दाबी थियो ।
यो वर्ष प्रदर्शन हुने ६४ वृत्तचित्रहरू मध्ये ५२ वटाले उत्कृष्ट पुरस्कारको लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतिस्पर्धामा उत्कृष्ट हुने वृत्तचित्रले रामबहादुर ट्रफी सहित दुई हजार अमेरिकी डलर, द्वितीय हुने वृत्तचित्रले एक हजार अमेरिकी डलर पुरस्कार र ‘डेब्यू’ निर्देशकको उत्कृष्ट वृत्तचित्रले ‘तारेक मसूद पुरस्कार’ अन्तर्गत एकहजार अमेरिकी डलरको पुरस्कार प्राप्त गर्नेछन् ।
त्यसैगरी बालबालिकाको विषयमा केन्द्रित भई तयार पारिएका वृत्तचित्रहरूमध्ये उत्कृष्ट वृत्तचित्रले ‘युनिसेफ पुरस्कार’ स्वरुप एक हजार अमेरिकी डलर र ‘स्टुडेन्ट फिल्म’ तर्फ उत्कृष्टले ५०० अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यस वर्षको महोत्सवमा पत्रकार कुन्द दीक्षित, भारतीय भिजुअल आर्टिस्ट आयशा अब्राहम र श्रीलंकाकी फिल्म मेकर सुमाथी शिवामोहन गरी तीन जना निर्णायक रहेका छन् ।
फिल्मको टिकट ५० रुपैयाँ मात्र राखिएको छ । उक्त टिकटबाट उठेको रकम फूलचाेकीकाे रयाली गाउँको विद्यालयलाई दिइने आयोजकले जनाएको छ।