बज्जिका लोकसाहित्य पुरस्कार गुप्ता र गिरीलाई
बज्जिका भाषाको लोकसाहित्य क्षेत्रमा योगदान गरेवापत प्रदान गरिने पुरस्कार साहित्यकारद्वय रेणु गुप्ता र शीतल गिरीलाई प्रदान गरिने भएको छ ।
रौतहटको विर्ता निबासी योगेन्द्र साह (लालबाबु) द्वारा आफ्ना मातापिताको स्मृतिमा स्थापित एसएस लोकसाहित्य पुरस्कार २०७२ को लागि गुप्तालाई र २०७१ का लागि गिरीलाई चयन गरिएको हो ।
बज्जिकार्पण साहित्यिक पत्रिकामा एक वर्षमा प्रकाशित लोकसाहित्य र लोकसाहित्यसम्बन्धी रचनामध्ये एकलाई छनौट गरी संकलक वा रचनाकारलाई एसएस लोकसाहित्य पुरस्कार प्रदान गरिन्छ ।
साहित्यकार सञ्जय सुदामा र पुरस्कार संस्थापक साहले संयुक्तरुपमा गुप्ता र गिरीलाई दुई अलगअलग वर्षका लागि पुरस्कृत गर्ने निर्णय गरेका हुन् । पुरस्कारको राशि एक हजार एक रुपैया नगद र सम्मानपत्र छ ।
२०७२मा प्रकाशित बज्जिकार्पण साहित्यिक पत्रिकाका दुई अङ्कमध्ये रोपाइँको गीत संकलनका साथै विश्लेषण गरिएको गुप्ताको रचनालाई र २०७१मा प्रकाशित बज्जिकाञ्चलका वीरपुरुष लोरिकको विषयमा लेखिएको गिरीको अनुसन्धानात्मक लेखलाई पुरस्कृत गर्ने निर्णय गरिएको हो ।
यसअघि गुप्ताको बज्जिकाभाषी क्षेत्रमा प्रचलित लोककथाको सङ्कलन ‘जोगी’ र ‘चोरी’ प्रकाशित छ भने गिरीको ‘बज्जि’ र ‘बज्जिका’ कृति नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित छ ।
दुवैजनालाई पुस २३ गते शनिवार एक कार्यक्रमबीच दुवैजनालाई पुरस्कार समर्पण गरिने पुरस्कारका संस्थापक साहले जनाएका छन् ।
सञ्जय साह मित्र, रौतहट