मन्त्रीहरुको जिम्मेवारी हेरफेर हुँदै
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्ने तयारी गरेका छन्। केही मन्त्री थपिने, बहालवाला केही मन्त्रीको जिम्मेवारी फेरबदल हुने, केहीलाई अझ शक्तिशाली भूमिका दिने तयारी रहेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।
स्रोतका अनुसार, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई थप शक्तिशाली भूमिका दिने तयारी छ। प्रधानमन्त्रीको सचिवालयका सबै सदस्यले राजीनामा बुझाइसकेको अवस्थामा सचिवालयकै लागि नयाँ व्यक्ति नियुक्त भने नगर्ने तयारी गरेको ती स्रोत बताउँछन्।
“प्रदीप ज्ञवालीलाई प्रधानमन्त्री कार्यालयमा तानेर प्रमुख राजनीतिक सल्लाहकार र प्रवक्ताको समेत जिम्मेवारी दिने तयारी छ। यसो गर्दा प्रधानमन्त्रीलाई थप सचिवालयको आवश्यकता पर्दैन,” प्रधानमन्त्री निकट ती नेता भन्छन्।
मन्त्रीहरुको जिम्मेवारी हेरफेरबारे नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग समेत यसबारे कुरा गरिसकेका प्रधानमन्त्री ओलीले उपनिर्वाचन अघि नै जिम्मेवारी फेर्ने तयारी गरेका छन्। प्रधानमन्त्री ओलीले महासचिव विष्णुप्रसाद पौडेल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई मन्त्री नियुक्त गर्ने तयारी गरेका छन्।
यसो गर्दा रक्षामन्त्री ईश्वर पोखरेल, सञ्चार मन्त्री गोकुल बाँस्कोटा, पर्यटनमन्त्री योगेश भट्टराई, शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई लगायतको जिम्मेवारी फेरबदल हुन सक्छ।
मन्त्रीहरुको जिम्मवारी हेरफेर र सचिवालयको विषयमा प्रधानमन्त्री ओलीले आफू निकट नेताहरुसँग छलफल गरिसकेका छन्।
प्रधानमन्त्री ओली सचिवालयकै कारण आलोचित हुँदै आएका छन्। प्रधानमन्त्रीले २२ कात्तिमा दिएको निर्देशन अनुसार सचिवालयमा रहेका सबै सदस्यले राजीनामा बुझाइसकेका छन्।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एक नेताका अनुसार, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्यूत मैनाली, सूचना प्रविधि सल्लाहकार असगर अली, प्रेस संयोजक चेतन अधिकारी लगायतले राजीनामा बुझाएका छन्।
राजीनामा दिनेमध्ये सन्तोषजनक काम गर्ने केहीको राजीनामा स्वीकृत नहुने स्रोत बताउँछ। नेकपाका एक नेता भन्छन्, “सन्तोषजनक काम नगर्नेहरुलाई हटाउन नै सबैलाई राजीनामाको निर्देशन दिइएको हो।”
प्रधानमन्त्री निकट स्रोतका अनुसार, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र प्रेस संयोजक चेतन अधिकारीलाई सचिवालयमै राख्ने तयारी छ। बाँकीलाई भने बिदाइ गरिनेछ।