प्रदेश-१ मा गाँजा खेती नष्ट गर्ने अभियान
प्रदेश-१ का विभिन्न जिल्लामा अवैध रूपमा लगाइएका गाँजा खेती प्रहरीले सोमबारदेखि फँडानी गर्न शुरु गरेको छ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार प्रदेश अन्तर्गतको धनकुटा, खोटाङ, भोजपुर, उदयपुर, सुनसरी र इलामका विभिन्न स्थानमा अवैध रूपमा लगाइएको तथा प्राकृतिक रूपमा आफैं उम्रिएका गाँजाका बोट नष्ट गरिएको छ।
जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले शहीदभूमि, साँगुरीगढी र आँखिसल्लालगायतका क्षेत्रमा २०० रोपनीभन्दा बढी क्षेत्रफलमा लगाइएको अवैध तथा आफैं उम्रिएका एक लाख ५० हजार गाँजाका बोट फँडानी गरेको छ। यस्तै, खोटाङ इलाका प्रहरी कार्यालय हलेसी र च्यास्मिटारबाट खटिएको प्रहरी टोलीले हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर १ र २ का डिकुवा, दाम्ली र बाहुनीडाँडालगायतका क्षेत्रमा लगाइएका पाँच हजार गाँजाका बोट नष्ट गरेको छ।
जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले हतुवागढी गाउँपालिका–९ मुस्ताङ र थुम्की भन्ने स्थानमा ३२ रोपनी जग्गामा लगाइएको १२ हजार ५०० बोट गाँजा फँडानी गरी नष्ट गरेको छ भने उदयपुरबाट खटिएको प्रहरी टोलीले कटारी तथा ताप्ली गाउँपालिकाका विभिन्न स्थानमा ४० रोपनी जग्गामा लगाइएका २५ हजार बोट गाँजा नष्ट गरेको छ।
सुनसरी देवानगञ्जबाट खटिएको प्रहरी टोलीले सोही गाउँपालिका वडा नम्बर ६ मा लगाइएका करीब ३०० गाँजाका बोट नष्ट गरेको छ भने प्रहरी चौकी जितपुर इलामबाट खटिएको प्रहरी टोलीले देउमाई नगरपालिकाका विभिन्न स्थानमा लगाइएको गाँजा फँडानी गरेको छ। प्रदेशका विभिन्न जिल्लामा अवैध रूपमा गाँजाखेती गरेको पाइएकाले प्रदेश प्रहरी कार्यालयले विशेष रणनीति अनुसार कार्ययोजना बनाई विशेष अभियान नै सञ्चालन गरी गाँजा फँडानी गरेको बताइएको छ।
प्रदेश प्रहरी कार्यालयले गाँजाका बोट नष्ट पार्ने अभियान सञ्चालन गरी फडानी गर्ने कार्य गर्दै आएको छ।