अदालतमा बहस चल्दै गर्दा कांग्रेस कार्यकर्ताको जुलुस, मानेनन् केन्द्रको निर्देशन
फरहदवा नरसंहार आरोपमा पक्राउ परेका मोहम्मद आफताव आलमको जिल्ला अदालत रौतहटमा थुनछेक बहस चलिरहदा उनका समर्थकहरुले मौन जुलुस प्रदर्शन गरेका छन् ।
सोमबार जिल्ला अदालतमा आलमको थुनछेक बहस चलिरहँदा सर्मथकले गौरमा जुलुस निकालेका हुन् । आलमको निर्सत रिहाइको माग गदै जुलुस लिकालिएको जुलुसमा सहभागी कांग्रेस महाअधिवेशन प्रतिनिधि मुकेश गिरीले बताए ।
बिपी चोकबाट निस्केको जुलुसले जिल्ला अदालत हँुदै गौर भन्सार पुगेर टुंगिएको थियो । यसअघि पनि जुलुस निकालिएको थियो ।
कांग्रेस नेतृत्वले कानूनलाई सहयोग गर्न भने पछि रौतहटका नेता तथा कार्यकर्ताले दुई पटक गौरमा जुलुस प्रदर्शन गरेका हुन् ।
२७ चैत २०६४ मा रौतहटको राजपुरमा बम विष्फोटको मुख्य नाइके भन्दै १२ वर्षपछि प्रहरीले गत २६ असोजमा आलमलाई गौरबाट पक्राउ गरेको थियो ।
बयान फेर्ने पक्राउ
पूर्वमन्त्री मोहम्मद आफताब आलम विरुद्ध जिल्ला अदालतमा थुनछेक बहस चलिरहँदा प्रत्यक्षदर्शीले बयान फेर्न थालेका छन् ।
विष्फोटको घटनाका एक प्रत्यक्षदर्शी तथा घाइते गौरीशङ्कर राम चमारले बयान फेर्दै अदालत पुगेपछि प्रहरीले पक्राउ गरेको छ ।
न्यायाधीश दीपक ढकालको इजलासमा बहस चलिरहेका बेला आलमविरुद्ध बयान दिने भनिएका चमारले बम विष्फोटबारे आफूलाई कुनै जानकारी नभएको भन्दै अदालत पुगेका थिए ।
आलमका वकिलका साथमा जिल्ला अदालत छिर्नै लाग्दा चमारलाई प्रहरीले पक्राउ गरेको हो । सरकारी साक्षीका रुपमा रहेका चमारले बयान फेर्दै अदालतमा आएपछि उनलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ ।
चमार राजपुरमा भएको बम विष्फोटमा घाइते भएका सरकारी साक्षी हुन् । उनले आफू बमले नभएर स्टोभ पड्केर घाइते भएको कागजात पेस गरेका छन् ।
विष्फोटपछि इँटाभट्टामा हालेर जिउँदै मारिएका ओसी अख्तर विदेशमा रहेका भन्दै उनकी पत्नी अमना खातुनले जिल्ला अदालतमा निवेदन दिएकी छन् ।
तेइस जनालाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको अभियोगमा आलमविरुद्ध गत बिहीबारै बयान सकिएको अवस्थामा अमना बयान फेर्दै अदालत पुगेकी थिइन् । प्रहरी र जिल्ला सरकारी वकिलको कार्यालयमा पतिलाई आलमले जिउँदै इँटाभट्टामा हालेर मारेको बयान दिएकी उनले अचानक बयान फेर्दै लिखित निवेदन दिएकी थिइन् ।