आलम पक्षका चार अधिवक्ताको बहसः ‘प्रमाण बिना फसाउन खोजियो’
फरहदवा नरसंहार आरोपमा पक्राउ परेका मोहम्मद आफताव आलमको थुनछेक बहसमा सोमबार चार अधिवक्ताले बहस गरेका छन् ।
जिल्ला अदालत रौतहटमा आलम पक्षका चार जना अधिबक्ताले बहस गरेपछि बहस हेर्दाहेर्दैमा राखिएको छ । सोमबार अधिबक्ता शेरबहादुर केसी लगायतले आलमको पक्षमा बहस गरे ।
बहसका क्रममा उनीहरुले आलमलाई नियोजित रुपमा फसाउने प्रयास भएको तर्क गरेका छन् । “प्रमाण छैन, तर फसाउने उद्देश्यले आरोप लगाइयो”, अधिबक्ता केसीले तर्क गरे ।
आलम पक्षका अधिबक्ताहरुको बहस नसकिएकाले मंगलबार बाँकी बहस गर्नेगरी सोमबारको थुनछेक बहस सकिएको छ । सर्वस्व सहित जन्मकैदको माग दावी सहित दायर मुद्दामा शुक्रबार वादी पक्षका अधिबक्ताहरुले बहस गरेका थिए ।
शनिबार र आइतबार अदालत नखुलेकाले सोमबार मात्रै प्रतिबादी पक्षका अधिबक्ताले बहस गरेका हुन् । २७ चैत २०६४ मा आलमले बम बिस्फोटबाट घाइते भएकाहरुलाई जिउँदै ईटाभट्टामा जलाएको आरोप लागेको छ ।
१२ वर्ष अगाडि भएको नरसंहार आरोपमा आलमलाई गत २६ असोजमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पछि आलमलाई हिरासतमा लिएर अनुसन्धान गरिएको छ । आलम बिरुद्ध कर्तव्य ज्यान, हातहतियार तथा खरखजना मुद्दा दायर गरिएको छ ।
पूर्व मन्त्री आलमले २०६४ को संविधानसभा निर्वाचनमा बुथ कब्जा गर्ने उद्देश्यले बम बनाउन परिचालन गरेका आफ्नै कार्यकर्तालाई जिउँदै जलाएको आरोप लागेको छ ।