यूएस ओपन टी२० मा नेपाली राइनोजले खेल्ने
सन् २०१९ को यूएस ओपन टी२० प्रतियोगितामा नेपाली राइनोज क्रिकेट क्लबले पनि भाग लिने भएको छ। क्रिकेट परिषद् युएसए (सीसीयूएसए) ले आयोजना गर्ने अमेरिकाको प्रतिष्ठित यो प्रतियोगिताको ११औँ संस्करण फ्लोरिडामा आगामी १८ देखि २३ डिसेम्बरसम्म आयोजना हुनेछ।
अमेरिकामा भएका नेपाली खेलाडीहरुको क्लब नेपाली राइनोजको टीम भने घोषणा भइसकेको छैन। राइनोजबाट अमेरिकामा बसिरहेका पूर्व नेपाली क्रिकेटर कनिष्क चौगाईं, बरदान चालिसे, बन्टु बाटाजु, अनुनय बस्नेत, सागर पन्त, राकेश कर्ण लगायतले खेल्ने उक्त क्लबको फेसबुक पेजमा उल्लेख छ।
राइनोजको नेतृत्व कनिष्कले गर्ने छन्। उनले नेपालको यू–१७, यू–१९ र राष्ट्रिय टोलीबाट खेलिसकेका छन्। उनले अन्तिमपटक सन् २००८ मा नेपालको तर्फबाट अफगानिस्तानविरुद्ध ५० ओभरको खेल खेल्दै ४३ रन बनाएका थिए।
त्यस्तै बरदान चालिसे सन् २००२ मा यू–१९ विश्व कप खेल्ने टोलीको उपकप्तान थिए। बन्टु बाटाजुले पनि नेपालबाट यू–१९ क्रिकेट खेलेका थिए।
नेपाली राइनोजले सन् २०१६ को टुएक्स क्रिकेट युएसए कप २०१६ को उपाधि जितेको थियो। त्यतिवेला राइनोजबाट खेल्न नेपाली राष्ट्रिय टोलीका आठ खेलाडी पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, बसन्त रेग्मी, सुवास खकुरेल, पृथु बाँस्कोटा, सिद्धान्त लोहनी र सोमपाल कामी अमेरिका पुगेका थिए।
नेपाली टोलीले कमरान अकमाल, सहिद अजमल, असद अलिजस्ता पाकिस्तानी हस्ती सम्मिलित हस्टन स्पार्क स्क्वाडलाई पराजित गरेको थियो। यसपटक नेपाली खेलाडीलाई अमेरिका बोलाउनेबारे राइनोजले केही उल्लेख गरेको छैन। केही दिनमा नै टीम घोषणा हुने क्लबको फेसबुक पेजमा उल्लेख छ।
अहिलेसम्म दुई टीम निश्चित
अहिलेसम्म उक्त प्रतियोगिता खेल्ने दुई टीम मात्र निश्चित भएको छ। नेपाली राइनोजका अतिरिक्त मुल्तान सुल्तानले खेल्ने निश्चित भएको हो। मुल्तान सुल्तान पाकिस्तान सुपर लिग (पिएसएल) खेल्ने फ्रेन्चाइज क्लब हो।
गत वर्ष यो प्रतियोगितामा २४ क्लबले भाग लिएका थिए। फाइनलमा क्यालिफोर्निया बियर्सले सोमरसेट काभालियर्सलाई २ रनले पराजित गर्दै उपाधि जितेको थियो।
क्यालिफोर्निया बियर्सबाट सुनिल नारिन, क्रिस वुडलगायतले खेलेका थिए। त्यस्तै सोमरसेटबाट आन्द्रे रसेल, रस्टी थेरोनलगायतले खेलेका थिए। गत सिजनमा अमेरिकाका अतिरिक्त वेस्ट इन्डिज, साउथ अफ्रिका, बेलायत, स्कटल्याण्ड र क्यानडाका राष्ट्रिय खेलाडीले पनि प्रतियोगितामा भाग लिएका थिए।