भोकको तस्वीर
- स्मृति बस्नेत
सन् २००० मा कतारको दोहा विमानस्थलको ट्रान्जिटमा हाड घोटिरहेका नेपाली कामदारहरू देखेपछि बेल्जियमका फोटोग्राफर फ्रेडरिक लेक्लुको आप्रवासी मुद्दा हेर्ने दृष्टिकोण नै बदलियो। विमानस्थलको भुईं पुछिरहेका, शौचालय सफा गरिरहेका र अन्य काममा खटिएका थुप्रै नेपालीबारे उनलाई थप बुझ्न मन लाग्यो।
यही सिलसिलामा आप्रवासन मुद्दालाई नियालिरहेका यी फोटोग्राफरले कतारमा रहेका नेपाली कामदारहरूको दैनिकी अध्ययन गर्न थाले। ती कामदारका परिवार भेट्न नेपाल पनि आए। नेपालको आप्रवासनबारे निकै चाखलाग्दा र मर्मस्पर्शी तथ्यहरूसँग आत्मसात् गरे। “मलाई लाग्छ, नेपालको एउटा सिंगो पुस्ताको जीवनको लक्ष्य नै विदेशिनेछ”, उनी भन्छन्।
मोरङकै नानीमायाका छोरा उज्ज्वल (१९) कतारमा सफाइको काम गर्छन्। उनका जेठा दाइ १० वर्षदेखि भारतमा छन् भने अर्का दाजु साउदी अरबमा। उज्ज्वल कतारमा दैनिक ११ घण्टा सरसफाइको काममा खटिन्छन्। नेपालमा उनको घर ऐलानी जग्गामा छ, बाबुआमा छोराहरूको कमाइमा आश्रित छन्।
मोरङमा रहेका बुवा रामलाई घर बनाउन पैसा पठाउन रघु कतारमा कडा मिहिनेत गरिरहेका छन्। उनी ९ हजार २०० जना रहने क्याम्पको एउटा कोठामा ७ जना अन्य नेपालीसँगै कोच्चिएर बस्छन्। छुट्टीमा दिनभरि कोठामै बसेर उनी फेसबूक र ह्वाट्सएपमार्फत साथी र परिवारसँग कुरा गर्छन्।
पेरिस सेन्टर अफ फाइन आर्टस्को सहयोगमा फोटो परियोजना 'नेपाल र कतारः शून्य र पूर्णता (नेपाल एण्ड कतारः दि भोइड एण्ड दि फुलनेस)' निर्माणका लागि फोटोग्राफर लेक्लुले उज्ज्वल, रघुजस्तै थुप्रै पात्र र परिवारलाई भेटे। लेक्लु भन्छन्, “नेपाल भित्रिने रेमिट्यान्सको मात्रा कुल गार्हस्थ उत्पादनको ३० प्रतिशत छ, तर त्यसका लागि चुकाउनु परेको मानवीय र सामाजिक मूल्य भयानक छ।”
नेपाली युवाको ठूलो भीड प्रत्येक दिन कतार जस्ता देशहरूमा ओइरिरहेको छ, देशभित्र दक्ष श्रम शक्ति रित्तिंदो छ। परिवार विछोडिएको छ, वैवाहिक जीवन विथोलिएको छ। विदेशमा काम र वातावरण ठीक छैन भन्ने जान्दाजान्दै पनि जीवन निर्वाहका लागि प्रत्येक जसो परिवारले आफ्ना सन्तानका लागि परदेश जाने शुभकामना दिइरहेका छन्।
“मैले भेटेका अधिकांश नेपाली मजदूरले विदेशमा काम गर्नुको विकल्प नरहेको बताए”, ३० असारमा पाटनको यलमाया केन्द्रमा आफ्ना तस्वीरका कथाबारे आयोजित कार्यक्रममा लेक्लुले भने, “धेरै आमा आफ्नो छोरो विदेश जान सक्षम होस् भन्ने चाहन्छन्।”
लेक्लुका तस्वीरहरूले नेपाली श्रमिकको मार्मिक दैनिकी उतारेका छन्। अपार्टमेन्टमा सेलोफ्यान टेपले उडुस मार्दै गरेका युवादेखि, क्याम्पका भित्तामा मजदूरले बनाएको टुथब्रस होल्डर, साँघुरो कोठामा असरल्ल छरिएका कपडा जस्ता तस्वीर हेर्दा कामदारको जीवन कठिन देखिन्छ।
विदेशमा उनीहरूले गरेको दुःखले नेपालका परिवारमा भने सुख भित्रिरहेको छ। उनीहरूको कमाइले यहाँ कसैको घर बन्दैछ त कसैकोमा नयाँ टेलिभिजन भित्रिएको छ। लेक्लुले कुरा गरेकामध्ये थोरैले मात्र विदेशको कमाइ सन्तानको शिक्षामा खर्च गरिने बताएका थिए।
यसबाहेक उनले खिचेको नेपाल र कतारका 'ल्याण्डस्केप' तस्वीरले दुई देशबीचको विरोधाभास झल्काउँछ। कतिपय तस्वीर हेरेर भन्न सकिन्छ– नेपाली श्रमिकहरूले विदेशमा कडा मिहिनेत गरे पनि प्रतिफल निराशाजनक छ। आप्रवासी मुद्दाले अन्तर्राष्ट्रिय ध्यान केन्द्रित गरिरहेको यो बेला नै कामदारका समस्याबारे दबाब दिनुपर्ने लेक्लुको बुझाइ छ।
लेक्लु अब आफ्नो क्यामेरा कथाको परियोजना लिएर मलेशिया, साउदी अरब जस्ता देश र महिला श्रमिकका कुरा सुन्न चाहन्छन्। “आउने दशैं नेपालीसँगै मनाएर मात्र अरु काम गर्छु”, लेक्लु भन्छन्, “तर यहाँ होइन कतारमा, त्यहाँ 'सानो नेपाल' छ।”
(कामदार र परिवारको परिचय परिवर्तन गरिएको छ।)