सातै प्रदेशका शहरहरुमा द्रूत गतिकोे फोरजी
नेपाल टेलिकमले सातै प्रदेशका विभिन्न शहरमा अत्यधिक गतिमा इन्टरनेट चल्ने फोरजी सेवा सञ्चालन गरेको छ ।
टेलिकमले पूर्वको विर्तामोडदेखि पश्चिमको महेन्द्रनगरसम्म सातै प्रदेशका विभिन्न प्रमुख शहरहरुमा सहुलियतमा फोरजी सिमकार्ड वितरण, परिवर्तन र स्तरोन्नति गर्ने कार्यलाई अभियानका रूपमा सञ्चालन गरेको प्रवक्ता प्रतिभा वैद्यले बताए ।
कार्यक्रमअन्तर्गत गत २० कात्तिकमा विर्तामोड र २२ कात्तिकमा वीरगञ्जमा सिमकार्ड वितरणका साथै फोरजी सेवाको प्रचारप्रसार तथा व्यापार प्रवद्र्धन कार्य उत्साहजनक रूपमा सम्पन्न भएको छ ।
आइतबार चितवनको भरतपुरस्थित नारायणी नदी किनारमा सिमकार्ड वितरण कार्य सम्पन्न गरिएको छ ।
२६ कात्तिकमा नेपालगञ्जको रामलीला मैदान, २८ कात्तिकमा सुर्खेतको आँखा अस्पताल क्षेत्र, ३० गते महेन्द्रनगरको खुला मञ्च र मंसीर ४ गते पोखराको अमरसिंह मैदानमा सिमकार्ड वितरण गरिने भएको छ ।
यसमा टुजी वा थ्रिजी सिम भएका कम्पनीका ग्राकहरुलाई २०० एमबी डाटा बोनससहित फोरजी सिम प्राप्त हुनेछ । यो विशेष अभियानअन्तर्गत ग्राहकहरुले नेपाल सरकारले जारी गरेका परिचयपत्र, नागरिकता वा मतदाता परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको फोटोकपी र एकप्रति फोटो पेश गरी सिमकार्ड प्राप्त गर्न सक्नेछन् ।